लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्यारा युवक - ५

tillotmacitynews - 2022 Jan 14 01:45 PM
IMG

२०७८ पुष ३०, तिलोत्तमा सिटी। 

चर्का नाराहरु दिनदिै छोडिद्यौ मित्र सुन्न ।

नेताजीका चतुर गफले देशको हीत हुन्न ।

कस्ले सुन्ने अब जननिको टीठ लाग्दो पुकार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


उर्लीराख्यो मुलुकभर यो द्वन्द्वको ज्वारभाटा ।

नेपाली नै चुप रहिरहे भन्दछन् “छन् कि लाटा!”

मौका छोपी यहि समयमै लुट्न सक्छन् गँवार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


सक्छौ तिम्ले यहि मुलुकमै रत्न खानी निकाल्न ।

आपैm सक्छौ अटल रहने ज्ञानको दीप बाल्न ।

तारा ल्याऊ पृथिवितलमा व्योममाथि पुगेर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


पैह्रा जाने स्थिति हुन गयो हेर हाम्रा पहाड ।

आँखा गाडी परमुलुकले गर्दछनन् नित्य डाढ ।

यै माटोमा युवक सुनको बोट तिम्ले उमार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


हे तन्नेरी किन तिमिहरू जान थाल्यौ विदेश ?

पृथ्वी बोक्ने बल पर भए झन् उँधो हट्छ देश ।

कोरीया वा अरब दुवई जान छोड्द्यौ कतार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


बच्चा औंला सरि बुझ युवा हौ तिमी मेरुदण्ड ।

तिम्रै शक्ती मजबुत भए राष्ट्र होला अखण्ड ।

छैँटीमा जे जति लिखित भो मेट आफ्नो निधार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


मोती फल्ने वन चहुरमा हेर के भैरहेछ ?

खेती गर्ने जमिन अहिले खेर पो गैरहेछ ।

राम्रो फल्ने डलर घरमै रूख यौटा उमार ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।


डाँडाकाँडाहरु युवक हो भैरहेछन् उजाड ।

तिम्रो खाँचो महसुस गरी पर्खँदैछन् पहाड ।

फर्की आऊ अब त घरमा हुन्न टाढा बसेर ।

मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।

कमेन्ट गर्नुहोस्