लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कर्मचारी,शिक्षकको तत्काल विज्ञापन खोल्न त्रिवि तयार

IMG

२०७८ पुष २०, तिलोत्तमा सिटी। त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने प्रतिवद्धता जनाएको छ ।मंगलबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयले गठन गरेको वार्ता समितिबीच भएको छलफलपछि त्रिविले विश्वविद्यालयको रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने र हरेक ६/६ महिनामा शिक्षक, कर्मचारीको खुला विज्ञापन गर्ने प्रक्रिया अघि बढाउने सहमति गरेको हो ।विश्वविद्यालयसँग विभिन्न माग राख्दै अनेरास्ववियुले गत मंसिर १६ गते विश्वविद्यालयको उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको थियो ।


मंगलबार त्रिविसँग ताला खोल्नेसहितका ५ बुँदे सहमति भएको हो । त्रिभुवन विश्वविद्यालयले बिसौं वर्षदेखि अध्ययन अध्यापन भइरहेको विषयमा शिक्षकको थप दरबन्दी व्यवस्था गर्न पनि सहमति जनाएको छ ।त्यस्तै आउँदो फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न पनि त्रिवि सकारात्मक भएको अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।


त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत साउन १८ गते स्थगित गरेको उपप्राध्यापक पदको विज्ञापनको कार्यतालिका यथाशीघ्र प्रकाशन गर्ने पनि सहमति भएको छ ।गत मंसिर १४ गतेको त्रिवि सभाले अस्थायी वा करार सेवामा कार्यरत शिक्षकहरुले मात्र प्राध्यापक पदमा प्रतिस्पर्धा गर्न पाउने गरी त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद २ नियम ६ मा संशोधन गरेको थियो ।तर त्रिविले उक्त नियम संशोधनको निर्णय पनि तत्काल कार्यान्वयन नगर्न सहमति जनाएको छ । नियम संशोधनलाई कार्यान्वयन नगर्न सोमबार सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिएको थियो ।

कमेन्ट गर्नुहोस्