
सानो छँदा आमाको काखैमा ।
ठूलो भइयो नौडाँडा पाखैमा ।।
समयको यन्त्र चढि अतीतमा गएर एक झलक झाँक्ने हो भने,बचपनका ती मिठा पलहरु आँखाको वरपर आएर ताजा हुन्छन।जाडोको महिना आमा ढाकाको पछ्यौरा ओढेर पिंढिमा बस्नु भएको छ। "घाम पनि झुर्लुक्क देखिन्चन,अनि अस्ताउने तरखर गरिहाल्चन।पुष फासफुस "भन्दै कपासको ज्यापु निकाल्दै बत्ती कात्नु भएको छ।बुबा बारिबाट काटेर ल्याएको हरियो पाटबाट रेशा निकाल्दै हुनुहुन्छ।म आगो ताप्नको लागि आँख्लो भएको चिलाउनेको मुढो चिर्दै छु।हाम्रा अलग अलग कामसँगै गन्थन पनि मिठा हुने गर्दथे।"यातायात तथा बजार व्यवस्थापनको सुबिधा र हाम्रै देशमा प्रशस्त उद्योग हुने हो भने त यहि पाट,कपासबाट मनग्य पैसा कमाउन सकिन्थ्यो।यसैलाई व्यावसायिक रुपमा अपनाउन सकिन्थ्यो।जाडोमा न्यानो, गर्मीमा शीतल हुने मौसम अनुसारको स्वदेशी कपडा लगाउन पाइन्थ्यो।"भन्ने बुबाको यस्तो कुराले भाबुक बनाउँछ।बन्चरो मुढोमा टेकाएर म आफुले लगाएको खद्दरको कमेजतिर छाम्दै छातीमा चिसो स्याँठले हानेको महसुस गर्दछु।आज यहि जाडो,कपास,पाटको इतिहास कोरियाको इतिहासको पानाबाट।कोरियाका मानिसहरुले अतितमा कस्ता कपडा लगाउने गर्दथे त्यसबारे जानौं।
बाह्रौं शताब्दी अघिको कोरिया
कोरियामा चारवटा ऋतुहरु छन।जसमध्ये शिशिर ऋतु र ग्रीष्म ऋतु अरु दुई ऋतुको तुलनामा लामो हुने गर्दछन।यहाँ जाडोमा धेरै जाडो गर्मीमा धेरै गर्मी हुने गर्दछ।आजभन्दा सात सय वर्ष पहिला सन १२०० तिर कोरियामा कपास,रेशमको आगमन भएको थिएन।त्योबेला मानिसहरुले गाँजा,पाट तथा सिस्नुको बोक्रा द्वारा कपडा बुनेर लगाउने गर्दथे।कतिले जनावरको रौँ तथा छालालाई बस्त्रको रुपमा प्रयोग गरेका थिए। खेतीपातीको काम सकिएपछी कोरियाका मानिसहरुले कपडा बुन्ने काम गर्ने गर्दथे।झुपडीदेखि दरबारसम्मका कुलीन परिवारले हातले बुनेको खागीको पातलो कपडा लगाएर जाडोको कठिन जीवन गुजरा गरेका थिए भनेर कोरियाको इतिहासबाट जान्न सकिन्छ।
तेह्रौं शताब्दी पछिको कोरिया
यो बेला मङ्गोलको साम्राज्य सन्सारमा फैलिएको थियो।अथवा यसरी भनौं हाम्रो देश नेपालाको शाह वंशीय राजाका संस्थापक भुपलसिंहले रिडिमा राज्यारोहण गर्दाको समय थियो।यो समय मङ्गोलको कुबलई खानले चिनमा राज्य गरेको थियो।सन्सारका व्यापारी कुबलाई खानलाई भेट्न आउने गर्दथे। जसको कारण कोरिया पनि एउटा व्यापारिक केन्द्र बन्ने मौका पाएको थियो।साउदी अरब,जापानदेखि आएका मानिसले रेशमको कपडा बेचेर जाने गर्दथे।जसको कारण कोरियाको राजाको दरबारमा भने रेशमको कपडा भित्रिने मौका मिलेको थियो।तर महङ्गो त्यो कपडा सर्वसाधारणको निकट थिएन।जनताहरु माइनस डिग्रीको कठाङ्ग्रिने जाडोमा उहि जुटको कपडामा लपेटिएका थिए।
कोरियामा कपासको आगमन(१३६३)
सन १३६३को कुरा हो। कोरियाका राजाका निकट पात्र मुन इक जम दुतको रुपमा चीन जाने मौका मिल्यो।भ्रमणको सिलसिलामा उनलाई कपास खेतिको फाँटमा लगियो।आँखाले हेरेर नभ्याउने सेतै फुलेको कपास देखेपछी उनलाई पनि बीज लगेर कोरियामा कपास उत्पादन गर्ने सोच पलाएछ।उनले कपासको फाँटमा भएका किसानसँग बिउ दिन आग्रह गरेछन।किसानले मङ्गोल तानाशाह शासनले कपासको बिउ लैजान इन्कार गर्ने कुरा बताएछन।तर पनि उनले लुकाएर लैजाने कुरा बताएछन।ती कोरियन दुतले साहस गरेर दन्तमन्जनको डिब्बामा लुकाएर बिउलाई कोरिया ल्याएछन।अनि दक्षिणी भूभागको न्यानो जमिनमा छरेछन।हाम्रो राष्ट्रकविले लेखेको "ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल"भनेजस्तै कपास कोरियाको जमिनमा उम्रन सफल भएछ।
कपासबाट कपडा कसरी तयार भयो?
कोरियामा कपास उत्पादन भयो।तर कपासको ज्यापु निकाल्ने,धागो बनाउने तरिका भने पत्ता लगाउन सकिएको थिएन।यसमा एउटा बुद्ध धर्मसँग जोडिएको रोचक कहानी छ।मुन इकजमले कपासबाट ज्यापु निकालेर धागो बनाउने उपया खोज्दै थिए।यस्तैमा चिनबाट एकजना होङवन भन्ने भिक्षु मुन इकजमको घरमा टुप्लुक्क आइपुगे। चिनको भिक्षु भएकोले कपासबाट धागो निकाल्ने तरिका जानेको हुनुपर्छ भन्ने विश्वास मुन इकजमलाई लाग्यो।सोही अनुसार उनले भिक्षुलाई धागो बनाउने औजार बनाइदिन आग्रह गरे।अनि उनै भिक्षुले काठबाट बीज निकाल्ने मिसिन साथै धागो बनाउने चर्खा बनाइदिए।जसबाट कपडा तयार हुने प्रक्रिया सुरुवात भयो।यसलाई बुद्ध भगवानको आशीर्वाद पनि भनिएको छ।तत्पश्चात कोरियामा कपास खेतिलाई बढुवा दिईयो।कपासबाट न्यानो कपडा बुनेर कोरियाका सारा जनतालाई बाँडियो।गाँजा,सिस्नुको बोक्राबाट बनेको चिसो कपडा लगाएका कोरियाका जनताले कपासबाट बनेको न्यानो कपडा लगाउन पाए।देशमा परिवर्तन आयो।सीप सिक्न सफल भए।सारा जनता उद्यमी भए।कोरियाका साहसी विद्वान मुन इकजमलाई अहिले पनि राष्ट्रले तथा उनका सनतानले वार्षिकीमा सम्झिने गर्दछन।
बिसौ शताब्दी पछिको कोरिया
सन १९७० पछि कोरियामा औद्योगिक क्रान्ती आयो।हरेकको जमिनमा उत्पादित सिस्नु,रेशम,कपास कारखानामा पुग्यो।हाँसको रौं प्रयोगमा आयो।जसबाट मौसम अनुसारको ब्रान्डेड भनिने छाप लागेका कपडा तयार हुन थाले।अहिले कोरियामा तापक्रमको हिसाबले परीक्षण गरेर कपडा बन्ने गर्दछन।अहिले पनि गर्मीमा लगाउने शीतल कपडा सिस्नुबाटै बनाइन्छ। कोरियाको हरेक कुरा अब्बल दर्जामा भएजस्तै यहाँ बनेको कपडा धेरै आकर्षक र बलियो मानिएको छ।हाम्रो देश नेपालमा पनि "मेड इन कोरिया" भनेर लेखेको कपडा देख्न पाइन्छ।कोरियामा हजारौं प्रतिष्ठित कपडा तथा धागो कारखाना स्थापित भइसकेका छन।
चिनबाट कोरिया ल्याइएको कपासको इतिहास
चिनमा भित्रिएको कपासको इतिहास जान्नको लागि हामी हाम्रै देशको इतिहास खोतल्नु पर्ने हुन्छ।छैटौं शताब्दीमा हाम्रो देशमा अंशुवर्माको शासन थियो।त्यो समय बुद्धको जन्मस्थान लुम्बिनी जाने बौद्धमार्गीहरु कोरिया तथा चिनका धेरै हुने गर्दथे। ती मध्य चिनका यात्री ह्वेन त्साङ मुख्य पर्दछन।उनको यात्रा वृतान्त अनुसार उनि सन ६३४ तिर हाम्रो देशको विभिन्न बाटो भएर लुम्बिनी तथा तिलौराकोट पुगेका थिए ।त्यहाँ उनले कपास खेती देखेका थिए।रुखमा फलेको सेतो कपास देख्दा आश्चर्य लागेको थियो ।चीन फर्केपछि गौतम बुद्ध जन्मेको देश नेपालमा त रुखमा भेंडा फल्दो रहेछ भनेर वर्णन गरेका थिए रे।उनले त्यो कपासलाई हाम्रै देशबाट लगेर चिनमा रोपेका थिए भनेर जान्न सकिन्छ।यसबाट के अवगत हुन्छ भने कपासको आविष्कार आजभन्दा पच्चीस सय वर्ष पहिला भगवान गौतम बुद्धको पिताको पालामा नै भएको साथै यसको श्रेय हाम्रै देशलाइ गएको प्रष्ट बुझिन्छ।
हाम्रो प्यारो नेपालमा
बटौलिको धागो कारखाना हेटौंडाको कपडा कारखाना
पाट हाम्रै देशमा छ।कपास पनि हाम्रै देशमा छ।सिलाम,सिस्नु तथा रेशादार बोटबिरुवा सारा कुरा हाम्रै देशको जंगलमा छन। समाजसेवी,बुद्धिजीवी, धनाढ्य पुजनियहरु हाम्रै समाजमा हुनुहुन्छ।"पहिला हाम्रो देश अनि बल्ल हामी नेपाली"भन्नेहरु हाम्रै देशको उच्च ओहदामा विराजमान हुनुहुन्छ।हामी सबैको एउटै चाहना अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस।हामी सबैको कल्याण होस।
बिक्रम थापा ( हल दक्षिण कोरिया )
तिलोत्तमा सिटी,२ पौष २०७८
कमेन्ट गर्नुहोस्