लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मान्छेको खोजी

tillotmacitynews - 2021 Dec 15 12:31 PM
IMG

२०७८ मङ्सिर २९ , तिलोत्तमा सिटी।

आफ्नै रगतमा रातो भए जस्तो म मान्दिन

आफ्नै शरीरमा तातो भए जस्तो म ठान्दिन


लिन्थेँ गर्जनले सातो वैरी तर्सेर भाग्दथे

थिए साथ दिने आफ्ना मान्छे उर्लेर लाग्दथे


चुनौती सामना गर्दै सुरिन्थेँ दिनका दिन

दाह्रानङ्ग्रा गुमाएको बाघ जस्तो भएँ किन ?


के अचम्म भयो यस्तो जोस मेरो गयो कहाँ ?

मान्छेकै बिचमा मान्छे देख्दिन म समाजमा !


न छु रोगी रतन्धोको न छन् नयनमा फुला

आफ्नै मान्छे म देख्दै छु साँढेभन्दा ठुला ठुला !


देख्छु हिमालमा कालो उस्तै मधेसमा दुलो

कालापानी र सुस्तामा देख्छु विषादको धुलो


लुटिँदा खोरका बाख्रा लुटिँदा भाइको सुख

लुटिँदा गोठका भैँसी किन खुल्दैन यो मुख ?


छ जिब्रो ठाउँमा आफ्नै लाटो झैँ आजका दिन

लुटिँदा धानका फाँट बोल्न सक्दिन मै किन ?


किन दुख्दैन यो छाती छोरी आफ्नै हराउँदा

सुन्दैनन् किन यी कान भ्याउसुलो कराउँदा !


किन यस्तो भएँ ऐले संवेदना हराउँदै

गयो कहाँ मभित्रैको मेरो मान्छे डराउँदै ?

ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा

कमेन्ट गर्नुहोस्