
२०७८ मङ्सिर २९ , तिलोत्तमा सिटी।
कक्षा १२ मा कानुन पढेका गण्डकीका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः उत्तरपुस्तिका परीक्षण गरेर १५ दिनभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।संयुक्त विद्यार्थी संगठन, विद्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा १५ दिनभित्र विद्यार्थीको उत्तरपुस्तिका पुनःपरीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति भएको हो । त्यस्तै उत्तरपुस्तिका पुनःपरीक्षणको माग गर्दै भएको आन्दोलनमा घाइते विद्यार्थीको निशुल्क उपचार गर्ने सहमति पनि भएको समाजवादी विद्यार्थी युनियनकी नेतृ आस्था नेपालीले जानकारी दिइन् ।
‘नतिजा सकभर छिटो प्रकाशन गर्ने गरी लिखित सहमति भएको छ । कानुन संकायको पेपरको पुनःपरीक्षणको शुल्क पश्चिमाञ्चल र केफ क्याम्पसले नै तिरिदिने भएको छ,’ नेपालीले भनिन्, ‘बाँकी स्कुलहरुको विद्यार्थीले आफैं तिर्ने हो वा स्कुलले तिर्ने सहमति हुन बाँकी छ ।’
कक्षा १२ मा कानुन संकायको परीक्षा दिएका गण्डकी प्रदेशका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ गतेदेखि आन्दोलन शुरु गरेका थिए । आफूहरुले लेखेको भन्दा कम नम्बर दिइएको र जाँचकीले हेलचेक्र्याई गरेको विद्यार्थीले आरोप लगाएका थिए ।
उत्तरपुस्तिका पुनःपरीक्षण हुनुपर्ने र यो प्रक्रियामा लाग्ने समय र शुल्कमा समेत पुनर्विचार गर्नुपर्ने माग राख्दै विद्यार्थीले आइतबार बोर्ड परिसरमा धर्ना दिएका थिए । धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेपछि केही विद्यार्थी घाइतेसमेत भएका थिए ।गण्डकीका ७ वटा विद्यालयमा यसै वर्षदेखि कानुन संकायको पढाइ शुरु भएको थियो । ७ विद्यालयका करिब २ सय जना विद्यार्थीकै नतिजा आशातीत नआएपछि उनीहरुले उत्तरपुस्तिका पुनः परीक्षण गर्न माग राख्दै आएका थिए ।
प्रदेशभरमै कानुन संकायमा उच्च ग्रेड ल्याउने विद्यार्थीको ग्रेड ‘बी प्लस’ मात्रै छ । धेरै विद्यार्थीको स्नातक पढ्न चाहिने न्युनतम ग्रेड पनि नआएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।प्रदेश परीक्षा व्यवस्थापन बोर्डले भने कम विद्यार्थी भएका विषयको उत्तरपुस्तिका केन्द्रमा पठाइएकाले नतिजाका विषयमा आफूहरुलाई जानकारी नभएको बताएको छ ।कोरोना महामारीका कारण दुई पटकसम्म स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षा दिएको २ महिनापछि बोर्डले मंसिर १७ गते नतिजा प्रकाशन गरेको थियो ।
कमेन्ट गर्नुहोस्