लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कागजको मन्त्री

IMG

२०७८ मङ्सिर २८ , तिलोत्तमा सिटी। 

 एक कुशल चित्रकारले आफ्नो जीवनको मास्टरपीस चित्र बनाउने घोषणा गरेका थिए । त्यस चित्रले आफूलाई नाम र दाम दिलाउने सपना देखेका थिए ।एकपटक चित्र बनाउँदै जाँदा एउटा पूर्ण कदको चित्र तयार भयो । त्यो चित्र हेर्दा अहिले नै हिडिहाल्ला र बोलिहाल्ला जस्तो देखियो । त्यो मास्टरपीस चित्र हुने कुरामा उनी ढुक्क भए ।अन्तिमपटक रंगमा कुची चोपेर चित्रमा दले । उनले ध्यान दिएर चित्र हेरे । त्यहाँ थप्नु पर्ने केही देखेनन् । सन्तोषको लामो सास फेरे ।

‘मलाई दौरा सुरुवाल र टोपी लगाई देउ ।’ अचानक चित्रले बोल्यो ।

चित्रकार छक्क परे । जीवन्त चित्र तयार भयो भनेर छिनमै खुसी भए ।

अनि चित्रकारले सोही अनुसारको पहिरन लगाई दिए ।

‘मलाई संसदको चुनावमा उठाएर जिताएको देखाउ ।’ चित्रले अनुरोध गर्यो ।

उनले फेरि रंग र कुची चलाए । र चुनावमा जितेको चित्र बनाई दिए ।

‘अब मलाई मन्त्री बनाउ ।’ चित्रले अनुरोध गर्यो ।

उनले चित्रमा थपथाप थरेर मन्त्री बनाई दिए ।

‘अब गाडी, गार्ड र पिए पनि देऊ ।’ चित्रले अलिक रवाफिलो आवाजमा भन्यो ।

उनले त्यो पनि छिटछिटो बनाई दिए ।

‘अब मेरो निवास पनि बनाई देउ ।’ चित्रले अर्को माग गर्यो ।

चित्रकारले एकैछिनमा भव्य निवास बनाई दिए ।

‘अब मेरो घरबाट निस्कन्छस् कि गार्ड लगाएर निकालौं ।’ अचानक त्यस चित्रले धम्की दियो ।

आफैले कागजमा बनाएको मन्त्रीले दिएको धम्कीबाट उनी एकदम डराए । हत्त न पत्त त्यस चित्रको मुखमा कालो पोतिदिए । त्यसपछि उनलाई निस्सासिए जस्तो भयो । आत्तिदै सपनाबाट झल्यास्स ब्यँुझिए ।चित्रकारको मुटुको धड्कन एकदम बढिरहेको थियो । उनले बत्ती बाले । राती टिभी बन्द गर्न बिर्सेका रहेछन् । टीभीमा नवनियुक्त मन्त्रीहरुको सपथग्रहणको समाचार प्रशारण भईरहेको थियो । ती मन्त्रीका हाउभाउ र अनुहार सपनामा कालो पोतेको मन्त्रीसँग दुरुस्त मिल्दथ्यो ।

कमेन्ट गर्नुहोस्