लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशस्तरीय किशोरी सम्मेलन सम्पन्न,हरिजनको अध्यक्षतामा बन्यो किशोरी सञ्जाल

tillotmacitynews - 2021 Dec 10 10:33 PM
IMG

२०७८ मङ्सिर २४, तिलोत्तमा सिटी। लुम्बिनी प्रदेशस्तरीय प्रथम किशोरी सम्मेलन बुटवलमा भएको छ । सम्मेलनले १६ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै किशोरी तथा बालिकाको आवश्यकता अनुसारको नीति तथा योजना निर्माण गरी कार्यान्वयन गर्न किशोरीहरुले माग गरेको छ । किशोरी तथा बालिकाहरुको अधिकार कुण्ठित गर्ने सबै प्रकारका हानीकारक परम्परागत अभ्यासविरुद्व तीनै तहको सरकारले अन्य सरोकारवालाहरुसंगको समन्वयमा अभियानहरु सञ्चालन गर्न उनीहरुले आग्रह गरे । स्थानीय तहमा तत्काल किशोरी विकास समिति तत्काल गठन गर्न सम्मेलनले माग गरेको छ । यस्तै सबै स्थानीयतहमा बालविवाहविरुद्धको रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न आग्रह गरेका छन्। कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष बामदेव गौतमले किशोरीहरु देशका खम्बा भएकाले उनीहलाई सशक्त बनाउन सबैले पहल गर्नुपर्ने बताए । किशोरीले आफूमाथि परेको हिंसाका बारेमा आवाज उठाउन आग्रह गर्दै उनले आगामी वर्षदेखि किशोरीका लागि छुट्टै बजेटको व्यवस्था गरिने बताए । 


कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले घोषणापत्र बुझ्दै मन्त्रालयले बालबालिकाको क्षेत्रमा विशेष काम गर्ने योजना रहेको बताए  । मन्त्रालयकी उपसचिव शारदा बस्यालले किशोरी उमेर सबैभन्दा बढी हिंसा हुने उमेर भएकाले त्यस बेलाको समस्या समाधान गर्न र गतिशिलतालाई रोक्न नदिन विशेष योजना आवश्यक पर्ने बताइन् ।युएनएफपीएका अपेक्षा राणाले तीन तहकै सरकारले बालिका÷किशोरी लक्षित कार्यक्रमलाई केन्द्रमा राखेर सञ्चालन गनुपर्ने बताइन् । स्कूल शिक्षा, बृहत्तर यौनिकता तथा प्रजनन् स्वास्थ्यबारे अभिमुखिकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व र सहभागिता, तीनै तहका सरकारले चेतना र रोकथाममूलक कार्यक्रम गर्नुपर्ने उनले बताइन् ।कार्यक्रममा सहजीकरण गदै अभियानकर्ता राधा पौडेलले किशोरीहरु सशक्तिकरण विश्लेषण र अबको बाटो र महिनावारी विभेदका विषयमा आवाज उठाउन आग्रह गरिन् । गैरसरकारी संस्था महासंघका उपाध्यक्ष सुमित्रा शर्माले घरपरिवारदेखि समाज र राज्यले किशोरीका विकास र अधिकारमा लगानी गर्नुपर्ने बताइन् ।  


युएनएफपीएका राम थापाले किशोरीहरुलाई राज्यको मुलधारमा नल्याएसम्म परिवर्तन हुन नसक्ने भन्दै राज्य किशोरीहरुको हकहितमा राज्य गम्भिर हुनुपर्नेमा जोड दिए ।कार्यक्रममा बोल्दै सञ्चारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोलले लुम्बिनी प्रदेशस्तरीय सञ्जालले आगामी दिनमा अझै किशोरीका क्षेत्रमा बलियो भएर काम गर्न आग्रह गरिन् ।लुम्बिनी प्रदेशस्तरीय किशोरी सम्मेलनले सम्मेलनले पुष्पा हरिजनको अध्यक्षतामा लुम्बिनी स्तरीय किशोरी सञ्जाल गठन भएको छ । जसको सदस्यमा सुनिता हरिजन (रुपन्देही), निलिसा गिरी (बाँके), नर्मा वि.क., अनुजा नेपाली, पुजा पौडल, शिला नेपाली, निष्ठा हमाल, करुणा आचार्य, मनेका राउत, दुर्गा वि.क., अल्पिया अन्सारी र मुना वि.क. चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पुष्पा हरिजनले महिलाको मुख्य समस्या योनीमाथिको नियन्त्रण भएकाले त्यसका विषयमा छलफल र बहस जरुरी रहेको बताइन् । उनले सबै किशोरीलाई सञ्जालले समेटेर अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरिन् ।कार्यक्रममा किशोरीहरुले आफ्नो शिक्षा, स्वास्थ्य, सीप, चेतना विकास लगायतका बारेमा प्रश्न गरेका थिए । सम्मेलनमा प्रदेशका १२ जिल्लाका जना किशोरीको सहभागिता रहेको थियो । जसा युएनफपीए, सञ्चारिका समूह नेपाल, केएर, गुड सेफरड इन्टरनेशनल फाउण्डेशन नेपाल, ओरेक, किशोरी अधिकार मञ्च लगायतले सहकार्य गरेका थिए । 

कमेन्ट गर्नुहोस्