
२०७८ मङ्सिर १७ ,तिलोत्तमा सिटी। दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्टको तुलनामा ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना झण्डै तीन गुणा रहेको देखाएको छ ।अध्ययनअनुसार यसअघिका ३ वटा कोभिड लहरमा संक्रमित भएका मानिसहरू पछिल्लो समय पुन: संक्रमित भएका छन् । नयाँ संक्रमितमध्ये अधिकांशलाई यसअघि डेल्टा भेरियन्टले संक्रमण गरेको थियो ।दक्षिण अफ्रिकामा संकलित तथ्याङ्कका आधारमा गरिएको अध्ययनको निष्कर्षले ओमिक्रोनसँग यसअघिको संक्रमणपछि प्राप्त रोग प्रतिरोधी क्षमता छल्न सक्ने क्षमता रहेको देखाउँछ ।
‘यसअघिका तीन वटा लहरमा पहिलो पटक संक्रमण पुष्टि भएका र त्यसमा पनि डेल्टाका कारण सुरु भएको लहरमा संक्रमित भएका मानिसमा हालै पुन: संक्रमण देखिएको छ’ दक्षिण अफ्रिकाको सेन्टर फर एक्सेलेन्स इन इपिडिमियोलोजिकल मोडेलिङ एण्ड एलालिसिसकी निर्देशक जुलियट पुलियामले ट्विट गर्दै भनिन् ।
पुन: संक्रमित भएका मानिसले खोप लगाएको वा नलगाएकोबारे जानकारी नभएका कारण खोपबाट प्राप्त हुने रोग प्रतिरोधी क्षमतालाई ओमिक्रोनले छल्ने सक्ने वा नसक्ने भनेर निष्कर्ष निकाल्न नसकिएको पनि पुलियमको भनाइ थियो । अनुसन्धानकर्ताले यससम्बन्धी अध्ययन गर्ने तयारी गरेका छन् ।ओमिक्रोन संक्रमणसँग जोडिएको स्वास्थ्य जोखिम र यसअघि संक्रमित भएका मानिसबारे तत्काल तथ्याङ्क चाहिएको पनि उनले बताइन् ।
ओमिक्रोन भेरियन्टसम्बन्धी प्रारम्भिक अध्ययनको स्वतन्त्र विश्लेषण हुन भने बाँकी छ ।साउथह्याम्टन विश्वविद्यालयका वैज्ञानिक माइकल हेडले दक्षिण अफ्रिकी वैज्ञानिकको अनुसन्धानलाई ‘उच्च गुणस्तर’को भन्दै प्रशंसा गरेका छन् ।‘यसअघिको संक्रमणबाट प्राप्त रोग प्रतिरोधी क्षमतालाई सजिलै छल्न सक्ने यो विश्लेषण निकै चिन्ताजनक छ’, हेडले एक विज्ञप्तिमार्फत् भने ।
कमेन्ट गर्नुहोस्