
२०७८ मङ्सिर १३,बिक्रम थापा । मङ्सिर अन्नबाली भित्र्याउने महिना।विवाह,वर्तबन्धको लागि शुभ लगन जुर्ने महिना पनि । अर्कोतर्फ चुहिएको घरको छानो खरले छाउने पनि यहि बेला पर्यो।आँगनमा गुन्द्री ओछ्याएर पहार तापिरहनु भएको बुबाले "बाबु घर छाउनलाइ चोयोबातो तथा गोठ बनाउन थाम काट्नु पर्ने छ।आँसी,बन्चरो ढुङ्गामा उध्याएर पनि धार नलाग्ने भएका छन।टिके मामाकोमा लगेर अर्चापेर ल्याउनु।"भन्नुहुन्थ्यो ।केही वर्ष पहिलासम्म घर निर्माणको लागि आवश्यक चिजबिजहरु सबै गाउँघरमा नै उपलब्ध हुने गर्दथ्यो।दलिन होस या खाँबो अथवा झ्यालढोकाहरु सबै थाम चिरेर बनाइने गरिन्थ्यो।तर अहिले मोटरबाटो सर्वत्र पुग्यो।गाउँको कुना कुनामा फलाम तथा आल्मुनियमका पसल स्थापित भए।बाँस काटेर चोयोबातो पनि बनाउनु नपर्ने भयो। फलामकै तार चोयोबातोको रुपमा प्रयोग हुन थाल्यो।सालको रुख काटेर दलिन बनाउनु नपर्ने भयो।फलामकै दलिन बजारमा उपलब्ध हुन थाल्यो।फलामको रडद्वारा घर ठडिन थाले।
पाषाणयुग,कांस्ययुग,लौहयुग पार गर्दै मानव आज यो अवस्थामा आइपुगेको छ।पहिला पहिला समान ओसारपसार गर्ने साधन थिएन।लैजा चरी हावासरी भन्दै सन्देश पठाउन परेवालाई प्रयोग गरिन्थ्यो।कालान्तरमा घोडा,बयलगाडाको प्रयोग हुन थाल्यो। फलामको आविष्कार त आजभन्दा चार हजार वर्ष पहिला देखिनै भएको भनिएता पनि वास्तविक फलामको उत्पादन भने अठारौं शताब्दीदेखि बेलायतबाट सुरुवात भएको भनेर जान्न सकिन्छ।तत्पश्चात फलाम उत्पादनलाई बढुवा दियो।औद्योगिकीकरणको सुरुवात भयो।मानिसहरु शहरमा बसोबास गर्न थाले।यसै प्रसंगमा कोरियाको फलामको इतिहास कस्तो छ त।आज दक्षिण कोरियाको फलामको इतिहासको पानाबाट।
प्राचिनकालमा दक्षिण कोरिया होस या सन्सारका कुनै पनि राष्ट्र सारा खेतीपातीमै निर्भर थिए।आजभन्दा साठी वर्ष पहिलासम्म कोरियाका दरबार , घर, गोठ सबै काठले बनेका हुन्थे।सम्पुर्ण निर्माणका समानहरु काठबाटै बन्ने गर्दथे।राजा रानिलाई विहार गराउने काठको डोला हुने गर्दथ्यो।कारखानाको कुरा गर्नुपर्दा सन १९४५ भन्दा अगाडिसम्म कोरिया जापानको अधिनमा थियो।जापानले हतियार बनाउनको लागि भनेर फलामको कारखाना स्थापित गरेको थियो।तर सन १९५० को उत्तर कोरिया र दक्षिण कोरियाको युद्धमा कारखानाको नामोनिसान मेटिएर फलाम बिहिन भएको थियो।पुनः कसरी जन्मियो त कोरियामा फलाम कारखाना।
राष्ट्रपतिको विदेश भ्रमणमा फलाम कारखानाको अवलोकन,कोरियामा पनि कारखाना स्थापना गर्ने सपना
सन १९६०को दशक कोरिया एक गरिब राष्ट्र थियो।कारखानाको त परको कुरा दुई छाक टार्न पनि मुस्किल भएको बेला थियो।इतिहास अनुसार सन १९६५ सालमा कोरियाका राष्ट्रपति अमेरिका भ्रमण गए।योजना अनुसार अमेरिकाको पिट्सबर्ग भन्ने शहरमा भएको ठूलो कोपर्स (coppers.co.inc) भन्ने फलाम कारखाना अवलोकन गर्ने अवसर मिल्यो।त्यो देखेपछि कोरियाका राष्ट्रपतिले त्यहाँका मालिक एफ.फोइ (F.FOY)भन्नेलाई भेट गरे।भेटमा कोरियामा पनि यस्तै फलाम कारखाना खोल्ने इच्छा व्यक्त गरे।अमेरिकाको भ्रमणबाट कोरिया फर्केपछि फाकचङही राष्ट्रपतिले आफ्नो निकट विश्वासिलो पात्र फाकथे जुन भन्ने बुद्धिजीवीलाई बोलाएर "कोरियामा फलाम उत्पादन गर्ने कारखाना स्थापित गर्नु पर्ने कुरा राखेछन।फलाम कारखाना स्थापित गर्न सके देश आधुनिक युगमा प्रवेश हुने साथै सन्सारले चिन्ने बन्न सक्ने" कुरा बताए।राष्ट्रपतिको कुरा फाकथे जुनलाई मन पर्यो।
कोरियाको दातृराष्ट्र र अन्तर्राष्ट्रिय निकायमा सहयोगको अपिल (१९६८)
राष्ट्रपतिको आदेश पाएका जनरल तथा विद्वान फाक थे जुन कोरियामा फलामको कारखाना खोल्ने भनेर बेलायत,अमेरिकासँग सहयोगको कुरा राखे।उनिहरुले गरिव राष्ट्रमा फलाम कारखाना खोल्नुको औचित्य नरहेको भनेर इन्कार गरिदिए।साहसी कोरियाका राष्ट्रपतिले विश्वबैंक सँग ऋणको गुहार लगाए।विश्वबैंकले प्रविधि,अनुभव तथा पुँजी नभएको गरिब राष्ट्र भनेर ऋण दिन इन्कार गर्यो।फलाम कारखानाको सपना बुनेका राष्ट्रपतिले फाक थे जुनलाई अन्त्यमा झिनो आशा लिएर छिमेकी राष्ट्र जापान पठाए। जापानले कोरियालाई साथ दिने कुरा राख्यो।साथै अनुदानको रुपमा आर्थिक तथा कच्चापदार्थ सहयोग गर्ने वचन दियो।त्यतिमात्र नभई जापानी प्राविधिकको समुहनै कोरिया पठाएर फलाम कारखाना स्थापित गर्न सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गरेछ। जापानको सहयोगमा कोरियाको दक्षिणी भूभागको फोहाङ भन्ने ठाउँमा फलाम कारखाना स्थापित गर्न सुरुवात गरियो।पाँच वर्षको अथक प्रयासपछि अन्ततोगत्वा सन १९७३ सालमा फलाम कारखानाको विशाल आरनमा कच्चापदार्थ पग्लियो।कोरियाका राष्ट्रपति फाक चङही र समाजसेवी फाक थे जुनको अथक प्रयासमा पहिलोपटक फलामको जन्म भयो।कारखानालाई"फोहाङ छेछल्सो "भनेर नामाकरण गरियो।
कोरियामा फलाम कारखानाले आर्थिक बिकासमा टेवा, अन्तर्राष्ट्रिय स्तरमा समृद्ध राष्ट्र घोषित
सुरुवातमा कठिनाई भएता पनि सन १९९२ देखि भने फलाम कारखानामा स्वचालित उपकरण जडान गरियो।रोबर्टले काम गर्न थाल्यो।कारखानाबाट फलाम उत्पादन प्रयाप्त मात्रामा हुन थाल्यो।यस्तो भएपछि काठले बनेका घर विस्थापित हुन थाले।सडकमा फलामको रड विछ्याउन थालियो।घर फलामले बन्न थाले।कोरियाका हरेक साना भवनदेखि लिएर १२६ तलाको अग्लो इमारत फलामको कारण खडा भए।मोटरकार,पानीजहाज कारखाना,रेल,उपकरण फलामकै कारण जन्मिए।भान्सामा होस या कार्यलय,हाम्रो हातमा बोक्ने मोबाइल होस या चार पहर बिताउने खाट सारा यहि फलामद्वारा निर्माण भए।कोरियामा औद्योगिक क्रान्तिले शिखर चुम्यो।फलाम बिना जीवन चल्नै नसक्ने अवस्था भयो।फलाम पानी जस्तै प्रयाप्त तथा सस्तो भएर गयो।अहिले कोरियाले भेतनाम,मेक्सिको,चीन साथै भारतको महाराष्ट्रमा समेत फलामको कारखाना स्थापना गर्न सफल भएको छ।त्यतिमात्र नभएर कोरियाका हरेक शहरमा यहि फलाम कारखानाको नाममा टेक्निकल क्याम्पस खुलेका छन।ताकी हरेक कोरियन नागरिकले अरु नयाँ कारखाना जन्माउन सकोस।
फलाम कारखानाका प्रबन्धक किम खोङ यङ को भनाइ अनुसार यो कारखानाले सन १९७३ देखि सन २०१९सम्ममा दस अरब टन फलाम उत्पादन गर्न सफल भएको छ।यो पृथ्वी देखि चन्द्रमामा पुर्याएर चौसट्ठी पटक बेर्न सकिने बराबरको उत्पदन भनेर भनिएको छ। हिजोको गरिब राष्ट्र भनिने देशले उत्पादन गरेको फलाम आज सन्सारमा प्रयोग भएको छ। WSD (WORLD STEEL DYNAMICS) द्वारा लगातार दस पटकसम्म पुरस्कार पनि पाउन सफल भएको छ।अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाउन सफल भएकोले कोरियाको फलाम कारखानालाई सन २००२देखि अंग्रेजीमा POHANG IRON &STEEL COMPANY पोस्को(POSCO) भनेर नामाकरण गरिएको छ।कोरियाको फलाम कारखाना पोस्को आज सन्सारले चिन्दछ।बिसौं शताब्दीमा पुँजी,प्रविधि,अनुभव नभएको गरिव देश कोरिया एक्काइसौं शताब्दीमा एक नम्बरको प्रविधि भएको भनेर सन्सारले चिन्दछ। सम्मान गर्दछ।सन १९६० मा बार्षिक प्रतिव्यक्ति आय मात्र बयासी डलर भएको कोरिया,सन २०२० मा एकतीस हजार डलर कमाउन सफल भएको छ।आज फाकचङही राष्ट्रपतिलाई राष्ट्रपिता,फाकथे जुनलाई फलामको राजाको उपाधी दिइएको छ।यो देशले खुब प्रगती गरोस।हामी सबैको सुभकामना।
हाम्रो प्यारो देश नेपालमा बसोबास गर्ने १२६ जातिका हामी नेपाली र हामीसँग भएका सारा कुराहरु सबै हाम्रै देश नेपालको विरासत हो।तसर्थ "जिन्दगी छोटो छ म मरेनी दैलोमा फोटो छ"।त्यो फोटोमा जोडिएको टिनको टुक्रा,ठोकिएको फलामको काँटी कहाँबाट बनेर आएको छ?हाम्रो शरीरमा भएको एउटै रङको रातो रगत र भावनाले जोडिएका हामी नेपाली साराले एक भएर खोजी गर्ने बेला आएको छ।महंगाई बढ्यो।शास्त्रले भन्छ "महंगाई बढे आम्दानी बढाउ"।शास्त्रले यो पनि भन्छ"आम्दानी बढ्न आफ्नै देशमा उत्पादन हुनुपर्छ "।आउनुहोस हामी सारा मिलेर समाजमा हुनुभएको हाम्रा पुजनिय समाजसेवी,बुद्धिजीवीको ढोका ढकढक्याऔं।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशिन नपरोस।
कमेन्ट गर्नुहोस्