लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जाडोमा छालामा देखिने ८ रोग र समस्या, हेरचाह गर्ने ५ उपाय

IMG

२०७८ मङ्सिर ७  ,तिलोत्तमा सिटी ।


छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा पुडासैनी 


जाडोमा चिसो तापक्रम, थोरै सापेक्ष आर्द्रता र लामो समय हिटरमा बस्नाले छालाका कोशीकामा पानीको मात्रा कम हुने, छाला सुक्खा हुने, चिलाउने, पोल्ने  र दुख्ने समस्या धेरै देखिने गर्दछ। यसका साथै जाडोमा धेरैलाई देखिने छालाका रोगहरु यसप्रकार छन्।


१)  डर्माटाइटीस : डर्माटाईटीस संसारमा धेरै मानिसहरुमा देखिइने छालाको इन्फ्लाम्मएटोरी  रोग हो। यो रोग भएका व्यक्तिमा छाला सुक्खा हुने, चिलाउने, रातो हुने, छाला निस्किने जस्ता समस्या देखिन्छन्। चिसो मौसममा छालामा पानीको मात्रा कम भइ यसले आफ्नो संरचना कायम राख्न, नसक्ने भएकाले र बाहिरी किटाणु र वातावरणले छालामा संक्रमण हुने हुँदा सुक्खा छालामा  यो रोग देखिने  गर्दछ ।    


२) कत्ले रोग अथवा प्सोरअसिस : शरीरमा रातो टाटो आउने र सेतो चाँदी  जस्तो कत्ला निस्किने  कत्ले रोग छालाको दिर्घ रोग हो।  यो  रोग लामो समयसम्म रहन्छ  र जाडो मौसममा कत्ले रोग बढ्ने गर्दछ।  दीर्घ रुपमा यसले छालाका साथै हाड जोर्नी र नङमा असर गर्दछ। 


३) चिसोको कारण आउने जाबे रोग (कमिलाले टोके जस्तो देखिने डाबर) : यसमा चिसो हावा, चिसो पानी अथवा चिसो वातावरणसँगको सम्पर्कले  छालामा रातो डाबर आउने, सुन्निने र  चिलाउने हुन्छ। यस्ता डाबरहरु चिसोसँग छालाको सम्पर्क हटाएपछि १ देखि २ घण्टामा आफैं हराउने गर्दछन्।  


४) चिलब्लेन्स अर्थात् चिसोले खाने छालाको रोग : यस रोगमा  हातखुट्टाका औंलाहरु रातो हुने, सुन्निने, पानी फोका र पिपका फोकाहरु आउने जस्ता लक्षण  देखिन्छन्। यस्ता हातखुट्टाका लक्षणरू कोभिड-१९  को संक्रमणमा पनि देखिने र अरु लक्षणभन्दा धेरै दिनसम्म रहने हुँदा यस्ता लक्ष्यण भएका  व्यक्तिमा कोभिड-१९ को परीक्षण गर्न जरुरी छ।  


५ ) ओठ फुट्ने समस्या : जाडोमा बाहिरी चिसो हावा र धुलोका कारण ओठ फुट्ने समस्या हुने हुँदा ओठलाई सकेसम्म चिल्लो बनाई राख्ने।  सकिन्छ भने सनस्क्रीन भएको मोइस्चेरआइजेर बेला बेलामा दिनैभरी प्रयोग गरिराख्ने। 


६ ) विन्टर इच अर्थात् जाडो मौसममा छाला चिलाउने समस्या : जाडोमा छाला सुक्खा हुने र निस्किने क्रम चलिरहन्छ र यसका कारण छाला चिलाउने र घाउ हुने हुन्छ।  जाडो मौसममा लगाइने वुलनको कपडा तथा जाडोमा तापिने आगो / हिटरका कारण पनि छाला सुक्खा भई  चिलाउने समस्या बढी देखिने गर्दछ।  


७) डन्डीफोहोर :जाडोमा छाला सुक्खा हुने हुँदा त्यस्को प्रतिक्रियाका रुपमा छालामा तेलको पत्र बनाईराख्ने  ग्रन्थिहरु बढी सक्रिय हुन्छन र तिनै ग्रन्थिहरु बन्द भई  डन्डीफोहोर जाडो महिनामा बढी देखिने गर्दछ।  


८ ) कपालको चाया : जाडोमा चिसो सुक्खा हावाका कारण  र तेलको पत्र बनाईराख्ने ग्रन्थिहरु बढी सक्रिय हुने हुँदा कपालको चायाको समस्या पनि बढी देखिने गरेको छ।  


जाडोमा छालाको हेरचाह गर्ने ५ विधि

१) भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चेरआइजेर पटक पटक  लगाईराख्ने


२) आफ्नो शरीरको छालालाई सकेसम्म बाहिरी हावा र धुलोबाट बचाउने 


३) कोठाको हावा ओसिलो बनाउन रुम ह्युमीडीफ़्येर प्रयोग गर्ने


४) जाडोमा ओठमा बेला बेलामा लिप बाल्म लगाई राख्ने


५)  जाडो महिनामा पानी प्रशस्त पिउने 

कमेन्ट गर्नुहोस्