
२५ कात्तिक,२०७८ तिलोत्तमा सिटी । देशभर जस्तै आजबाट तिलोत्तमामा पनि राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको तिलोत्तमा नगरपालिकाका प्रसासन शाखाका प्रमुख गणेश पौडेलले बताउनुभयो। तिलोत्तमामा १७६ जना गणकहरु आजदेखि घरघरमा गएर पारिवारिक लागत लिनेछन् भने ४२ जना सुपरिबेक्षकले त्यसमा सहजीकरण गर्नेछन्। रुपन्देहीमै अत्याधिक जनसंख्या भएको नगर तिलोत्तमामा जनगणनामा सहभागी गणकहरुलाई ४ दिनको तालिम दिइएको थियो।
सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ । मूल जनगणनामा १ सय ७६ गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्नेछन् । यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो ।२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो ।राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्यांक विभागको अनुमान छ ।
सरकारले संघीयतापछि पहिलो पटक जनगणना गर्न लागेको हो ।जनगणनामा सहभागी हुन सरकारले सबै नागरिकलाई आग्रह गरेको छ । यसपटक ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ जनगणना गर्न लागिएको हो ।देशको पछिल्लो स्थितिलाई लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको आउँदो दिनको समेत मार्गनिर्देशन गर्ने भएकाले सही विवरण टिपाउन तथा कोही नछुट्न केन्द्रीय तथ्याङ्क विभागले अनुरोध गरेको छ ।राष्ट्रिय तथ्याङ्कलाई विरोधाभाषबाट मुक्त गराउनका लागि सही सूचना सम्प्रेषण गर्न विभागले आग्रह गरेको छ । अहिले सङ्कलन गरिएको तथ्याङ्क प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । सङ्कलित तथ्याङ्क मङ्सिर मसान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्