
तिलोत्तमा सिटी,२२ कार्तिक २०७८। लामो समयदेखि कोरियामा काम गर्दै बसोबास गर्दै आएका तिलोत्तमा निवासी बिक्रम थापा अहिले कोरियामै छन्। सधै जसो लेख रचना र सान्दर्भिक खोज लेखका कारण उनका लेख हरु निकै प्रिय र तथ्यपरक लाग्छन। करिव एक बर्ष अघिदेखि तिलोत्तमा सिटी न्युजमा आफ्ना लेख रचना बिचार प्रस्तुत गर्दै आइरहेका थापाले पछिल्लो राजनीतिक अवस्था र त्यसले युवा जमातमा पारेको प्रभावका बिषयमा नेपाल सरकारका गृहमन्त्रीलाई खुल्ला पत्र लेखेका छन्। प्रस्तुत छ सो खुल्लापत्र।
माननीय गृह मन्त्रीज्यू ,
गृह मन्त्रालय,
सिंहदरबार,काठमाडौँ
नेपाल
सर्वप्रथम गृह मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा हजुरलाई हार्दिक बधाई तथा सुभकामना व्यक्त गर्न चाहन्छु।हजुरले नियुक्ति पाउनु भन्दा पहिला हाम्रो देशमा यदि कहिँकतै बेथिति भएको रहेछ भने त्यसलाई निमिटयान्न पार्ने काम हजुरबाट हजुरकै कार्यकालमा हुने छ भन्ने कामना गर्दछु।
माननीय गृह मन्त्रीज्यू,मेरो नाम बिक्रम थापा हो।म हाल दक्षिण कोरियामा एउटा कारखानामा कार्यरत छु।हाम्रो प्यारो देश नेपालले बिक्रम संवत् २०६४ सालमा दक्षिण कोरियासँग श्रम सम्झौता गरेको थियो।सोही अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत म कामदारको रुपमा कोरिया आएको हुँ।माननिय गृह मन्त्री ज्यू,सूचना र प्रविधिको विकासले हामीलाई खुब नजिक बनाइदिएको छ।हजुरले अहिले देश,विदेश,आफन्ती तथा सबैबाट सुभकामना पाइरहेको देख्दा म परदेशीले पनि हजुरलाई एउटा फूलको गुच्छा प्रदान गरेको कल्पना गरेँ।हजुरमा भएको राष्ट्र र राष्ट्रियता प्रतिको जिम्मेवारी बोधका कारण, अबत हामी परदेशीको दिन फर्कन्छन कि भन्ने आशा पलाएर आएको छ। स्वदेशमै स्वावलम्बी बन्न पाइने उमङ्ग उम्रेर आएको छ।
माननीय गृह मन्त्रीज्यू,
आधी नली खोलिसकेँ,आधी नली खोल्छु ।
विदेशको संघर्षले भारी पुग्यो,मै हुनाले बोल्छु।।गीतमा भनेजस्तै,आज चौतारिमा भारी बिसाएर म र हामी परदेशीको वेदनाको पोको हजुर समक्ष खोल्ने प्रयत्न गरेँ।
माननीय गृह मन्त्रीज्यू,
बच्चा जन्मन्छ।बिस्तारै हुर्कदै जान्छ।घरको स्वतन्त्र वातावरणमा उसले संस्कार सिक्दै जान्छ।शिक्षा आर्जन गर्ने उमेर भएपछी उसले पाठशालाको नयाँ यात्रा सुरुवात गर्छ।समयसँगै विद्यालयको हरेक तहमा उत्तीर्ण हुँदै जन्छ।हरेक मातापिताले कम खाएर भएपनि आफ्ना छोराछोरीलाई महाविद्यालयको अध्ययन पनि पूरा गराउनु हुन्छ।यसपछि ऊ एउटा राष्ट्रको लागि बलियो खम्बाको रुपमा तयार हुन पुग्छ।ऊ जागिर उत्पादन गरेर मालिक हुने तथा जागिर गर्ने सामर्थ्यको बन्दछ।अनि आफ्नो उच्च शिक्षाको प्रमाणपत्र बिकाउन हातमा लिएर देशको कुनाकाप्चा धाउन सुरु गर्दछ।यदि कतै बिकेन भने उसलाई विदेश जानुबाहेक अर्को विकल्प केही हुँदैन।
ताप्लेजुङदेखि हुम्लासम्मको हरेक नेपाली नागरिकले विदेश जाने सपना बुन्दछ।बाहिर देश गए आफ्नो योग्यताको सम्मान हुन्थ्योकी भन्ने झिनो आशामा उसले विदेश पठाइदिने श्रमशक्ती संस्था तथा सहयोगीहरुको सहारा लिन्छ।तत्पश्चात उसले विदेश जाने निर्णयमा पुग्दछ। तर उसको नेपालको योग्यता जतिसुकै भएपनि प्रमाणपत्र झोलामा राखेर ऊ विदेश पलायन हुन्छ। माननीय गृह मन्त्रीज्यू ,त्यो नेपाली नागरिक विदेश पुगेपछि "विदेशी नागरिक नेपाली" को नामले दर्ता हुन पुग्छ।उसले स्वैच्छिक हक र अधिकार उतै आफ्नै देश नेपालमा छोडेर आएकोले सिमित अधिकारमा समेटिन पुग्छ।उसका मातापिताले दुख गरेर पढाएको ज्ञानको प्रमाणपत्र सदाको लागि झोलामा थन्किन पुग्छन।विदेशमा उसलाई योग्यताको आधारमा तनखा दिइदैँन।उसलाई त निम्नस्तरको धेरै काम लगाइन्छ।थोरै तलव दिइन्छ।"नखाउँ त दिनभरिको सिकार,खाउँ त कान्छा बाउको अनुहार" भनेझैँ परदेशीको जीवन धमिलो पानीमा धमिलिन पुग्छ।स्वदेशमा हरेक वर्ष चाडपर्व आउछन।तर हामी परदेशीका लागि आएनन।देशमा कति धेरै पटक चुनाव आए।तर हातको औंलाको नङमा कालो मसि दलेर मतदान गर्ने दिन कहिल्यै आएनन।परार साल मेरो हजुरआमाको देहान्त भयो।मेरो समय साहुको गोजिमा थियो।देश फर्कने समय मिलेन।हामी परदेशीका पिडा,समस्याहरु जरुवा मूलको पानी जस्तै अटुट बन्न पुगेका छन।हामि सारा परदेशीलाई चिन्ता लागिरहेको छ,कतै हाम्रा सन्ततिहरु पनि हामी चढेकै लिस्नु चढेर पलायन हुने त हैनन भनेर।यस्तै समस्याहरुले टोकिरहेको छ।कोपिरहेको छ।भतभत पोलिरहेको छ।
माननिय गृह मन्त्रीज्यू ! आज हामी ६० लाख नेपाली विदेशमा छौं।तरपनी देश चलाउनेलाई हामिले निरपेक्ष तरिकाले कहिल्यै हेरेका छैनौं।हजुरले राष्ट्रलाई दिएको योगदानको सदैव कदर गरेका छौं।र गर्ने छौँ।किनकी हामिले मुखले भन्नू र ओहदामा बसेर गरि पुर्याउनु धर्ती आसमानको फरक छ।तसर्थ हामिले कल्पनामा हजुरको ठाउँमा रहेर अदृश्य चुनौतीलाई पनि नियालेका छौं।
बिसौँ शताब्दीको कुरा हो हाम्रो प्यारो देश नेपालको ऐतिहासिक जिल्ला सिन्धुलीमा एउटा कोइराला बाजेको परिवार बस्दथ्यो।एकदिन त्यहाँ एउटा बालकको जन्म भयो।त्यो बालकको नाम कृष्णप्रसाद कोइराला राखियो।मथुरामा यदुवंशी भगवान श्रीकृष्ण जन्मिए।हाम्रो देशको कोइराला परिवारमा कृष्णप्रसाद जन्मिए।उनि तत्कालिन राणा शासनको कालो बादल मडारिरहेको समयमा जन्मिएका थिए।जनताको मझेरिमा घाम झुल्कन नपाएको समय थियो।तर पनि राणाको मन जितेर देशमा हुलाक,अस्पताल,पाठशाला,महिला अधिकार जस्ता अत्यावश्यक कुराको जन्म गराएर देशमा प्रजातन्त्रको बीजारोपण गराउन सफल हुनु भएको थियो।समयको अन्तरालमा वहाँले "आदर्श पिता"को दर्जा पाउनु भयो।देशमा प्रजातन्त्र ल्याउने कार्यभार पुत्रमा हस्तान्तरण भयो।
विश्वेश्वरप्रसाद कोइराला तथा सम्पुर्ण स्वतन्त्र सेनानीहरुको योगदान र बलिदानले विक्रम संवत् २००७ सालमा प्रजातन्त्र आयो।१०४ वर्षको निरंकुश शासनलाई अंङ्कुश लगाइयो।बिक्रम संवत् २०१६ सालमा बीपी कोइराला जनताको प्रधानमन्त्री हुनु भयो।देशलाई कोल्टे फेराउन सुरुगर्नु भयो।तरपनि चुनौती त व्यक्तिको जिवनमा मात्र नभएर राष्ट्रलाई पनि आउने गर्दछ।माननीय गृह मन्त्रीज्यू,पत्र पूरा गर्नको लागि बीपी कोइरालाको आत्मवृत्तान्तको उनन्चास पृष्ठ पल्टाउने चेष्टा गरें।विक्रम संवत् २०१७ सालमा बीपी कोइराला भारत भ्रमण गर्नु भएको थियो।आत्मकथामा वहाँले लेख्नु हुन्छ।"म जब दिल्ली गएँ,तब त्यहाँ व्यापार र वाणिज्य सम्बन्धि कुरा भए।हाम्रो लक्ष्य देशमा आर्थिक बिकास गरेर उद्योग खडा गर्नु र भारतलाई नै हाम्रो ठूलो बजार बनाउनु थियो।हामिले हाम्रा सारा उत्पादन बस्तुहरु निर्बाध रुपमा भारत प्रवेश गराउने छौं।भारतको उत्पादन भने हाम्रो देशमा भित्रिन नियन्त्रण गर्ने छौं।हामी उनिहरुको समानमा कर लगाउने छौं।छेकबार गर्ने छौं।तर यस्तो हुँदा उनिहरुको सोचाइमा असमान सन्धि राख्न खोजेको हुन्थ्यो"।
माननीय गृह मन्त्रीज्यू,
हामी सबैलाई थाह भएको कुरा हो।सत्रौं शताब्दीमा हाम्रो छिमेकी देश भारतमा साना साना उद्योगहरु सञ्चालनमा थिए।हाम्रो देश नेपालमा जस्तै कपासको उत्पादन भारतमा पनि हुने गर्दथ्यो।कपासबाट भारतले कपडा बनाउने गर्दथ्यो।अठारौं शताब्दीमा बेलायतमा जब औद्योगिक क्रान्ति आयो तब बेलायतले कच्चापदार्थको लागि साम्राज्य विस्तार गर्न थाल्यो।त्यसको सिकार भारत पनि पर्यो।बेलायतले आफ्नो देश बलियो बनाउन भारतमा बनेका सरसमान निर्यात गर्न बन्द गरायो।निर्यात भएपनी धेरै कर लगाएर भारतीय समान बिक्री बन्द हुन बाध्य बनायो ।यस्तो भएपछी भारतका कारखाना बन्द भए।अनि भारतको कपास बेलायत पुर्यायो।बेलायतले उतैबाट कपडा बुनेर फेरि भारत मै ल्याएर बेच्यो।बेलायतले भारत नै ठूलो बजार बनायो।दोस्रो विश्वयुद्ध समाप्त पछि बेलायत बाट स्वतन्त्र पायो।सन्सारमा कुनै पनि ठूलो राष्ट्रले सानो राष्ट्रलाई हस्तक्षेप गर्न नपाउने अन्तर्राष्ट्रिय कानुन बन्यो।हरेक देशले स्वतन्त्र भएर आफ्नो देश बिकास गर्न पाउने दिनको सुरुवात भयो। तत्पश्चात भारतले बल्ल आफ्नो अधिकारले औद्योगिक विकास गर्न पाएको थियो।अनि खुब छिटो उद्योगको लागि बलियो सुरक्षित कानुन बनायो।उच्च शिक्षा पढेका भारतीय नागरिक स्वदेशमा नै मालिक बन्ने अवसर मिल्यो।उद्यमीहरु फस्टाएर देशले सिखर चुम्यो।आज भारतले बिकासमा ठूलो छलाङ मारेको छ।अझ मारोस हाम्रो सुभकामना।हामी पनि हाम्रो देशको समस्या समाधानमा एक भएर जुट्ने छौं।
माननीय गृह मन्त्रीज्यू,देशमा तीन करोड जनता छन।तीन करोड हामी माहुरीको बथान हौं।हजुर एउटा रानो हो।जो सदैव करोडौं माहुरीको घेरामा सुरक्षित छ, सम्मानित छ।अझै हाम्रो जस्तो भूपरिवेष्टित देशलाई त भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदिले पनि "नेपाल र भारतको सम्बन्ध हिमालय र गंगा जति पुराना छन उति पुरानो हो भनेर बताउनु हुन्छ।" तसर्थ हामी सारा परदेशीले हजुरलाई पुकारेका छौं।हजुरमा आशा गरेका छौं।हजुरकै कार्यकालमा देशमा औद्योगिक क्रान्ति आउने छ।कृषिप्रधान देशमा हरितक्रान्ति आउने छ।दैनिक उपभोग्य बस्तुहरु नेपालमा बन्ने छन।कारखानामा बेलौती,ऐँसेलुको जुस बन्ने छ।गुर्जोको लहरो विदेश निर्यात हुने छ।सबै समान मेड इन नेपाल हुनेछन।हाम्रा हरेक नेपाली नागरिकसँग पर्याप्त समय र पैसा हुने छ।गोजिमा हस्ताक्षर गर्ने कलम हुने छ।हरेकले समाजवादको अर्थ बताउन जान्ने छन।अनि हामी सारा विदेशमा भएका नेपाली स्वदेशमा हुने छौं।त्योदिन नेपाली काँग्रेसको अमृत वाणी " सबै अट्ने देश,सबैलाई जोड्ने काँग्रेस " साकार हुने छ।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशिन नपरोस।
धन्यवाद !!
बिक्रम थापा
इन्छन महानगरपालिका
दक्षिण कोरिया।
कमेन्ट गर्नुहोस्