लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरियामा धानको ईतिहास र बर्तमान

tillotmacitynews - 2021 Oct 23 09:57 PM
IMG

तिलोत्तमा सिटी,६ कार्तिक २०७८। महाभारतको कथामा यक्षराजले युधिष्ठिरलाई "हावाको भन्दा तिव्र गति केको हुन्छ"भनेर सोधेको प्रश्न झट्ट सम्झना आयो।सात समुन्द्र पारिबाट मन उडेर घरमा पुग्यो।आँखाको वरपर टारी खेतको गुर्दी,मन्छरा, खोलाखेतको मन्सुली,झिनुवा तथा धापमा पहेँलपुर भएको मोटो गाँजको अनादी देखियो।बुबाले निगालो चिरेर गिद्रो र चोयो अलग गर्दै आँगनमा बसेर भकारी तयार गरिरहनु भएको, आमाले न्वाइ (न्वागी)खानको लागि भनेर नयाँ धान माडीरहनु भएको यी आँखा वरपर नाचिरह्यो।घरपाला घिउ हालेर अनादीको पुवा,लटटे, झिनुवाको चाम्रे खाएको ती दिन ताजा गरायो।भौतिक शरीर परदेशमा छ।मन घरको आँगनमा पुगेको छ।अहिले हाम्रो नेपालमा धान काट्ने,तथा भकारिमा थन्क्याउने बेला जताततै चाटारो छ।दक्षिण कोरियामा पनि धान भित्र्याउने बेला यहि हो।फरक फरक प्रजातिको प्रशस्त धान उत्पादन गर्ने हामी नेपाली कोरियामा धानको इतिहास कस्तो छ त।आज कोरियाको धानको इतिहासको पानाबाट।


कोरियामा धानको सुरुवात

कोरियामा धानले लामो यात्रा पार गरिसकेको छ। धानखेतीको सुरुवात कांस्य युगबाट भएको थियो भनेर जान्न सकिन्छ।कोरियामा सन १९५० को दशकसम्म जापोनिका भन्ने धान रोपिने गरिन्थ्यो।यो धान पुर्वी एसियामा रोपिने धान हो।यो भातको सिता छोटो र मोटो हुने साथै चोइलो एकाअपसमा जोडिने भएकोले दुइटा छेस्कोले समातेर खान सजिलो भएको मानिन्छ।


सन १९६०को दशक अन्नबालिको अनिकाल

सन १९५० मा जब उत्तर कोरिया र दक्षिण कोरियाको भीषण युद्ध भयो तब कोरियामा विपत्ति आइलाग्यो।अनिकालले जन्म लियो। मङ्सिरमा धान भित्र्याएपछी तीन महिनालाई पनि नपुग्ने अवस्था आइलाग्यो।भान्सामा गएर हातमुख जोरेजस्तो गर्‍यो। अनि खाएजस्तो गरि  जुठेल्नुमा आएर हात धुनु पर्ने अबस्था थियो।त्यतिबेला कोरिया सरकारले बाहिरी देशबाट चामल आयात गर्न सक्ने हैसियत पनि थियन।चामलको संकट परेर मानिसहरुले खोलेको रुपमा घाँसको जरा तथा रुखको बोक्रा पानीमा  पकाएर खाएका थिए भनेर भनिन्छ।अनिकालले विकराल रुप लिन पुगेको थियो।


तत्कालीन राष्ट्रपति द्वारा आपतकालीन बैठक आह्वान,भोकमरीको समाधान गर्न आदेस

रास्ट्रपति फाक चङ हीले सन १९६४ मा आपतकालीन बैठक बोलाए।देशमा भोकमरीको विद्यमान अवस्थालाई समधान गर्न धेरै मात्रामा उत्पादन हुने धानको बीउ निर्माण गर्ने कुरा चलाइयो।यसका लागि सदनले सऊल विश्वविद्यालयका प्राध्यापक  तथा कृषि अनुसन्धान विभागका प्रमुख "ह मुन हे" भन्ने विद्वानलाई छनौट गर्‍यो।


कोरियाका बैज्ञानिक हमुनहेले नयाँ धानको आविष्कार

सऊल विश्वविद्यालयका प्राध्यापक हमुनहे सन १९६४ मा फिलिपिन्सको मनिलामा भएको अन्तरास्ट्रिय चामल अनुसन्धान केन्द्र पुगे।उनले त्यहाँ गएर थोरै जमिनमा धेरै धान उत्पादन हुने बिउको खोज अनुसन्धानको सुरुवात गरे।दक्षिण पुर्वी एसियामा रोपिने धान इन्डिका तथा पुर्वी एसियामा रोपिने धान जापोनिका दुई थरिको धानलाई मिलाएर एउटा नयाँ धानको आविष्कार गरे तर यो धान कोरियाको हावापानीमा सुहाउँदो नभएको साथै दुई थरिको बीउ मिसाएर सफल नहुने सावित भयो।पुनः अर्को धानको खोज अनुसन्धानमा जुटिरहे।यिनले जापानमा बनेको युकारा तथा थाइल्यान्डमा बनेको टि यन १(TN1)अनि फिलिपिन्समा बनेको आइ आर ८ (IR8)लाई जोडेर परिक्षण गरे।अन्ततोगत्वा यो सफल भयो। सन १९६६ मा अर्को एउटा नयाँ धानको जन्म भयो।


कोरियामा अनिकालको समाप्ती,हरियो क्रान्तिको सुरुवात

कोरियाका विद्वान हमुनहेले तीन प्रकारको धानलाई मिलाएर एउटा प्रजातिको धान तयार गरे।त्यसलाई आइ आर ६६७(IR667) नामाकरण गरियो।त्यो धान ल्याएर कोरियाको खेतमा रोपियो।दुई बर्षको परिक्षण पछि कोरियाको माटोमा सुहाउँदो धान कहलायो।उचाइ कम, धानको डाँठ मोटो र बलियो भएकोले हावा हुरिले ढाल्न नसक्ने मजबुत धान साबित हुन पुग्यो।साथै भात पनि प्रोटिनयुक्त तथा स्वादिलो हुन पुग्यो।अनि यो धान सन १९६९ देखि दक्षिण कोरियाभरी फैलाइयो।सन १९७० देखि  शतप्रतिशत धान उत्पादन हुन थाल्यो।यो धान उत्पादन संगै कोरियामा भोकमरी अन्त्य भएर गयो।यसको  नाम कोरियन भाषामा थोङ ईल प्य नामाकरण भयो।धानको आविष्कार गरेर अनिकालबाट बचाउने कोरियाका विद्वानलाई "धानका पिता"को दर्जा दिइयो।आज उनी यो सन्सारमा छैनन तर  हरेक कोरियनको ढुकढुकीमा निवास गरेका छन।उनले बनाइदिएको धानको भात खानेमा हामी आधा लाख नेपाली पनि पर्दछौं।यो धानको फोटो पचास पैसाको सिक्कामा पनि राखिएको छ।


कोरियामा अहिलेको अवस्था

अहिले त कोरियनहरुले  दर्जनौं थरिको धानको आविष्कार गरिसकेका छ्न।साथै देशमा भएको खेतीयोग्य जमिन एक अङ्गुल पनि मासिनबाट रोक लगाइएको छ।कारखाना तथा आवासहरु खेती नहुने ठाउँमा निर्माण गरिएको छ।मटरबाटो तथा रेलको बाटो निर्माण गर्दा खेत परेमा गरोमाथीबाट पुल हालेर बनाइएको छ।अहिले खेतको कुनाकुनामा सिँचाइ को सुविधा गराइएको छ।उत्पादनको वृद्धिसँगै हरेक बर्ष दक्षिण कोरियाले साठी हजार मेटि्रक  टन चामल उत्तर कोरियालाई पठाउने गर्दछ। कोरियामा अब उप्रान्त  भोकमरी आउने छैन।न आओस पनि हामी सबैको

सुभकामना।


हाम्रो प्यारो देश नेपालमा

सन १९४३ मा हाम्रो छिमेकी देश भारतको  बंगालमा अनिकाल लागेको थियो।त्यो कठिन अवस्थामा हाम्रो देशको तराईबाट लाखौं मेटि्रक टन चामाल निर्यात भएको भन्ने कुरा जान्न सकिन्छ।यसर्थ हाम्रो देशमा  हिजो पनि संकट आएन।आज पनि आउँदैन।भोलि  न आओस भन्नाका खातिर हामी सारा नेपाली मिलेर किसानलाई धेरै बाली उत्पादन गर्न अझै प्रोत्साहित गरौ।प्राकृतिक अपत् आएको ठाउँमा मिलेर सहयोग गरौं। बिउबिजन हाम्रै देशको चामल अनुसन्धान केन्द्रमा पर्याप्त तयार होस।सारा बाली हाम्रै देशमा उत्पादन होस।अबको हाम्रो नेपालको पुस्ता कोहिपनी बिदेसिन नपरोस।हामी सबैको कल्याण होस।

कमेन्ट गर्नुहोस्