लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भलिबल खेलाडी लोकेन्द्रकी पत्नीको उपचारमा आर्थिक अभाव,सहयोग गर्न आग्रह

IMG

तिलोत्तमा सिटी,३ कार्तिक २०७८। राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र भण्डारीले काठमाण्डौको नख्खु स्थित मेडिसिटी अस्पतालको आईसियू र एनआईसियूमा ओहोरदोहोर गर्न थालेको २५ दिन पुग्यो।आईसियूमा रहेकी श्रीमती शोभालाई हेरेपछि उनी एनआईसियूमा भर्ना भएकी नवजात छोरीको अवस्था बुझ्न पुगिहाल्छन्। शोभा सातमहिनाकी गर्भवती थिईन्। त्यहिबेला उनी कोभिड १९ बाट संक्रमित भईन्।


पहिलो पल्ट भदौ २८ गते ज्वरो आएपछि उपचारको लागि बुटवलको एक अस्पतालमा  पुगेकी शोभालाई चिकित्सकले सामान्य ज्वरो भन्दै औषधी दिएर घर पठाईदिए।औषधी सेवनपछि तिनचार ज्वरो ठिक भएपनि असोज १ गते उनलाई फेरि ज्वरो आयो। त्यसपछि बल्ल परिक्षण गर्दा उनलाई कोभिड पोजिटिभ देखियो। गर्भवती अवस्थाकी शोभालाई कोभिड संक्रमणपछि निमोनिया भईसकेको रहेछ।


आईसियूमा राखि उपचार गर्नुपर्ने भएपनि लुम्बिनी प्रादेशिक अस्पतालको आईसियू बेड खाली थिएन। उनलाई तिलोत्तमा स्थित क्रिमसन अस्पताल लगियो। एकातर्फ सातमहिनाको गर्भवती, अर्कोतर्फ कोभिड संक्रमणपछिको निमोनियाले शिथिल बनेकी शोभालाई त्यहांपनि उपचार सम्भव नदेखिएपछि असोज ६ गते हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको थियो।त्यसयता उनि काठमाण्डौको नख्खु स्थित मेडिसिटी अस्पतालको आईसियूमा उपचाररत रहेको उनका श्रीमान लोकेन्द्रले बताए। काठमाण्डौ लगेको भोलिपल्ट नै असोज ७ गते अप्रेशन गरी छोरीलाई सकुशल जन्म दिएपनि शोभा भने १५ दिनसम्म अचेत रहिन्।



लोकेन्द्र आफैपनि कोभिड संक्रमित भईसकेका थिए। त्यसैमाथी एकातर्फ भेन्टिलेटरमा अचेत अवस्थाकी श्रीमती जिवन र मरणको दोसांधमा थिईन् भने अर्कोतर्फ महिना नपुग्दै जन्माईएकी छोरीलाई एनआईसियूमा भर्ना गरिएको थियो।अहिले भने छोरीको स्वास्थ्य अवस्था सुधार भएपनि श्रीमती शोभाको अवस्था भने सामान्य अवस्थामा नआईसकेको लोकेन्द्रले बताए। अप्रेशनपछि अचेत बनेकी शोभा १५ दिनपछि होस्मा आएपनि उनलाई भेन्टिलेटरबाट बाहिर निकाल्न भने लोकेन्द्रले मेडिसिटीमा २३ दिन पर्खिनुप¥यो।


‘"डाक्टरहरुले पनि मायां मारिसक्नुभएको थियो, म आफैपनि कोरोना पोजेटिभ भएकोले एकपटक भएपनि मुख हेरेर फर्किन्छु भनेर आएको थिए अहिले त भेन्टिलेटरबाट बाहिर निकालियो" भण्डारीले भने। गत आईतबारदेखि भेन्टिलेटरबाट बाहिर निकालेपनि उनको अवस्था अझैपनि खतरायुक्त नै रहेको चिकित्सकले लोकेन्द्रसंग भनेका छन्।‘ज्वरो केहि कमी भएपनि ज्वरो पुरै बसेपछि मात्र निको भयो भनेर आशा गर्न सकिने डाक्टरहरुले बताउनुभएको छ, होस् खुलेर भेन्टिलेटरबाट निकालेपनि ज्वरो र निमोनियाले शिथिल बनेर होला हातखुट्टा चलाउन सकेकी छैनन्।’ लोकेन्द्रले भने।


लोकेन्द्र भलिबल खेल्न थालेको २५ वर्ष भयो। खेल क्षेत्रमा लागेर पैसा कमाउन सकिदैन र खेलेर मात्रै परिवार पाल्न सकिदैन भन्ने आफन्तीका कुरा उनले कहिल्यै सुनेनन्।कपिलवस्तुकाे चन्द्राैटामा उनि आवद्ध मणिमुकुन्द भलिवल क्लवले उनकै कप्तानीमा खेल्दै गर्दा साेभा बिरामी भएकाे थाहा पाएपछि खेल छाेडेर फर्केका थिए।आर्थिक अभाव भएपनि निरन्तर भलिबल खेलकै विकास र नयां खेलाडी उत्पादनमा लागिरहे। अहिले भने श्रीमती र छोरी दुवैजनालाई अस्पतालमा भर्ना गरेपछि ठूलो आर्थिक अभाव भोग्नुपरेको उनले बताए।


उपचारप्रकृया र अस्पताल दुबै महंगो भएको कारण उपचारमा आर्थिक समस्या भएको उनले बताए। मेडिसिटी भर्ना भएपछि १५ दिनसम्म दैनिक २ लाख २६ हजार रुपैया उपचारमा खर्च हुने गरेकोमा भेन्टिलेटरबाट बाहिर निकालेपछि भने दैनिक १ लाख २६ हजार खर्च भईरहेको लोकेन्द्रले बताए।उपचारको लागि भलिबल क्लब, खेलाडी र साथीभाईबाट आर्थिक संकलन भईरहेको उनले जानकारी दिए। उपचारको लागि अझै लामो समय अस्पतालमा बस्नुपर्ने भएकोले आर्थिक समस्या खट्किएको उनले बताए।


लुम्बिनी प्रदेशको भलिबल टिमको क्याप्टेन रहेका लोकेन्द्र रुपन्देहीमा गठित मणिमुकुन्द भलिबल क्लबको अध्यक्ष छन्। भलिबल खेल्नकै लागि देशका विभिन्न स्थानमा पुगेका लोकेन्द्रको प्रशिक्षणबाटै रुपन्देहीका विभिन्न स्कुल तथा क्याम्पसमा भलिबल खेलाडी उत्पादन भईसकेका छन्।


कमेन्ट गर्नुहोस्