
तिलोत्तमा सिटी,२७ असोज २०७८। लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ । शुक्रबार पोखरामा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले संयुक्त रुपमा उपन्यास सार्वजनिक गरेका हुन् ।पुस्तक सार्वजनिक गर्दै वक्ता कवि प्रतीक्षाले उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएको बताइन् । ‘प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि एक अभिसाप मानिन्छ मिथ्या जगतमा । विश्वका मान्छेहरुबीच घट्दै गइरहेको प्रेमलाई पनि मिथ्याले विम्बात्मक ढंगले प्रस्तुत गरेको छ,’ उनले भनिन् । पाठकहरु उपन्यास पढ्दा जति रोमाञ्चित बन्छन् त्यतै नै उडन्ते कथा सम्झेर बहकिने सम्भावना पनि रहेको उनले उल्लेख गरिन् ।
अर्का साहित्यकार गनेस पौडेलले मिथ्याको पात्रले समाजका विभिन्न आयामहरुलाई खोज्ने र भेट्ने बताए । उनले पात्रले अतीत, वर्तमान र भविष्यलाई भेट्दै अन्तिममा आफैंलाई ऐनामा भेट्ने प्रसंग वरिपरि कथा घुमेको समीक्षा गरे ।कवि तथा लेखक तीर्थ श्रेष्ठले पोखराले उपन्यास विधामा लामो यात्रा पार गर्दै यहाँसम्म आइपुगेको बताए ।साहित्यकार तथा नाट्यकार सरुभक्तले आफूले लेखक पराजुलीलाई यसअघि नाटककारका रुपमा चिने पनि लेखकका रुपमा पनि उत्तिकै अब्बल रहेको सुनाए ।स्वैरकल्पनामा आधारित मिथ्या उपन्यासको प्रकाशन बुकहिल पब्लिकेसनले गरेको हो ।
कमेन्ट गर्नुहोस्