लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही उद्योग संघमा एमाले, कांग्रेस र माओवादी एकै ठाउँ, अध्यक्षमा पौडेल सर्वसम्मत

IMG

तिलोत्तमा सिटी,२१ असोज २०७८।  राष्ट्रिय राजनीतिमा दलहरु दुई धुव्रमा फर्किएको बेला रुपन्देहीमा उद्योगीको संस्थामा भने दलहरु एकै ठाउँ उभिएका छन्। केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरु एकातर्फ भइरहेको बेला रुपन्देही उद्योग संघको नयाँ नेतृत्वमा भने एमाले, कांग्रेस र माओवादी निकटका व्यवसायीहरु एकै ठाउँ उभिएका हुन्। तीन दल निकटका व्यवसायीहरुले पदको भागबन्डा गरेर सहमति गरेपछि अधिकांश पदमा निर्विरोध भएको छ। बिहिबार गरिएको मनोनयनमा अध्यक्षमा माधव प्रसाद पौडेलको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत निर्वाचित भएका छन्।


पौडेल एमाले निकटका व्यवसायी हुन्। निर्वाचन आयोगका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद पराजुली र द्वितिय उपाध्यक्ष पदमा जीवकान्त काफ्ले निर्विारोध भएका छन्। सापकोटा र पराजुली एमाले र काफ्ले कांग्रेस निकटका हुन्। संघमा एमाले निकट व्यवसायीहरुको वर्चस्व छ। कोषाध्यक्षमा निर्विरोध भएका हिरामणी भटराई कांग्रेस नकिट हुन्। माओवादी केन्द्र निकटका उद्योगीहरुले भने सदस्य मात्रै पाएका छन्। महिला सचिव पदमा मन्जु भुसाल, सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवाली निर्विराध भएका छन्। 



महासचिव र सचिवमा निर्वाचन हुने 

निर्वाचन आयोगका अनुसार महासचिव पदमा हरिबहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ भने सचिव पदमा वसन्त ढकाल र यमलाल भटराईको उम्मेदवारी परेको छ। खत्री वर्तमान कार्यसमितीमा कोषाध्यक्ष हुन् भने खनाल महिला सचिव हुन्। महासचिव पदमा उम्मेदवारी दिएकी खनाल नेकपा एकिकृत समाजवादी निकट उद्योगी हुन्। तर, उनले महिला नेतृत्वमा आउन खोज्दा विभिन्‍न अवरोधहरु कायम गरिएको भन्दै आफू तीन दलीय गठबन्धन तोड्न उम्मेद्वारी दिएको बताइन्। 


उनले आफू अघिल्लो पटक पनि निर्वाचन लडेर जितेको बताउँदै यो पटक तीन दलको नाममा भागबन्डा गरेर वास्तविक उद्योगीलाई रोक्ने काम गरेको बताइन्। महासचिवका अर्का उम्मेदवा खत्रीले भने आफू सिलसिलाबद्ध रुपमा पदको दाबी गरेको बताउँदै उद्योगीहरुकै आग्रहमा उम्मेदवार बनेको बताए। सचिव पदमा भने ढकाल र भट्टराई चुनावी मैदानमा उत्रेका छन्। ढकाल एमाले निकट हुन भने भट्टराई माओवादी केन्द्र निकटका व्यवसायी हुन्।कोभिडका कारण थला परेका उद्योगी व्यवसायी आपसमा लड्नु राम्रो नहुने बताउँदै सकभर सहमतिमै टुंग्याउने प्रयत्‍न भइरहेको अध्यक्ष बाबुराम बोहोराले बताए। उम्मेदवारी दिएकाहरुले शुक्रबारसम्म मनोनयन फिर्ता गर्न सक्नेछन्। उद्योग संघको २२ औं साधरणसभा तथा अधिवेशनको उद्घाटन शुक्रबार हुनेछ।

कमेन्ट गर्नुहोस्