लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब काेराेनाविरुद्धकाे खाेप बालबालिकाले पाउछन :राज्यमन्त्री श्रेष्ठ

IMG

तिलोत्तमा सिटी,१७ असोज २०७८। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । आज आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको एक करोड खोप आउने सुनिश्चितता भइसकेको बताउनुभयो । यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उहाँले बताउनुभयो । दशैँलगत्तै एक लाख फाइजर खोप आउने उहाँले जानकारी दिनुभयो । फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उहाँले बताउनुभयो । 


राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख डाेज खोप खरिद गर्ने व्यवस्था सुनिश्चित भइसकेको र यो दशैँलगत्तै एक लाख फाइजर खोप आउने भएकाे छ । त्यसपछि फागुनसम्ममा पटक–पटक गरेर फाइजर र मोर्डना खाेप आएर बालबालिकाका लागि पनि खोपको व्यवस्थापन हुनेछ र क्रमिक रूपमा देशभरि खोप लगाइने जानकारी गराउन चाहन्छु ।’राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताउनुभयो । सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उहाँको भनाइ छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा ज्यान गुमाएका स्वास्थ्यकर्मीका बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उहाँले बताउनुभयो ।


कार्यक्रममा बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको फाउन्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिनुभयो । 

कमेन्ट गर्नुहोस्