
तिलोत्तमा सिटी, असोज १४ गते २०७८। व्यवसायी दुर्गा प्रसाईंले कैलालीको धनगढीमा क्यान्सर अस्पताल खोल्ने बताएका छन्।मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी झापाको विर्तामोडस्थित बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईंले धनगढीमा क्यान्सर अस्पताल खोल्ने घोषणा गरेका हुन् ।
धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने साथीहरुको प्रस्ताव आएपछि अस्पतालको सम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएको प्रसाईंले बताए। झापामा सुविधासम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आएपछि काठमाडौं र सुदूरपश्चिममा पनि सुविधासम्पन्न अत्याधुनिक क्यान्सर अस्पताल खोल्ने आफ्नो योजना रहेको उनले बताए।झापामा सञ्चालनमा रहेको बीएण्डसी अस्पताल दक्षिण पूर्वी एशियाकै अत्याधुनिक सुविधासम्पन्न अस्पताल भएकोले यो क्षेत्रका बिरामीको उपचारका लागि पनि आफ्नो अस्पताल भरपर्दो गन्तव्य हुने उनले दाबी गरे । यसका साथै सुदूरपश्चिमका बिरामीहरूको उपचार खर्चमा २० प्रतिशत बीएण्डसीमा छुट दिने उनले बताए ।
अस्पतालसँगै होटल क्षेत्रमा पनि आफ्नो लगानी र अनुभव भएकोले अस्पताल सञ्चालनका लागि सकारात्मक सहयोग र सद्भाव प्राप्त भए अन्य क्षेत्रमा पनि लगानी गर्न आफू तयार रहेको उनले बताएका छन् ।अहिले अस्पताल निर्माण र सञ्चालनका लागि उपयुक्त ठाउँमा जग्गाको खोजी भइरहेको उनले बताए । सुदूरपश्चिममा अस्पताल निर्माण र सञ्चालनका लागि सकारात्मक वातावरण निर्माण गर्न प्रसाईंले सबैमा अनुरोध गरेका छन्।
कमेन्ट गर्नुहोस्