
तिलोत्तमा सिटी, २८ भदौ २०७८। सर्वोच्च अदालतमा एक महिनाभित्र गोलाप्रथाबाट इजलास गठन हुने र त्यसका आधारमा मुद्दाको पेशी तोकिने भएको छ ।सोमबार बसेको बार–बेञ्च समन्वय समितिको बैठकमा न्यायिक नेतृत्वले हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको हो।‘प्रतिवेदनले स्वचालित रुपमा इजलास र पेशी तोक्नुपर्ने सुझाव दिएको थियो । त्यसभन्दा अघि गोलाप्रथाबाट इजलास तोकिने सुझाव छ’ नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘गोलाप्रथाकै बारेमा अध्ययन गर्न गठन भएको समितिले एक/दुई दिनमा प्रतिवेदन दिन्छ । त्यसपछि त उहाँहरु (प्रधानन्यायाधीश लगायत वरिष्ठतम न्यायाधीशहरु)ले गोलाप्रथा प्रणालीमा गइहालिन्छ भन्नुभएको छ ।’गोलाप्रथा शुरु गर्दा गोलाकै आधारमा इजलास चयन हुनेछ । अनि मुद्दाहरु पनि गोलाबाट नै चयन हुने भएकाले कुन मुद्दामा को को न्यायाधीश सम्मिलित इजलास गठन हुने र कुन मुद्दा कसको इजलासमा राख्ने भन्ने प्रधानन्यायाधीशको तजविजी अधिकार हट्नेछ ।
इजलास गठनका क्रममा मनोमानी हुने र त्यसबाट न्यायालयमा विकृति बढेको भन्दै गोलाप्रथाको सुझाव आएको हो । केही समय रहने गोलाप्रथालाई स्वचालित प्रकृतिको सफ्टवेयर प्रणालीले विस्थापित गर्नेछ ।प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका पाँच वरिष्ठतम न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका अध्यक्ष, महान्यायाधिवक्ता अनि वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल र शम्भु थापा सम्मिलित बैठकमा संवैधानिक इजलासको विवाद, त्यसक्रममा परेका अरु निवेदन र भएका आदेशका बारेमा पनि छलफल भएको सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बताए ।उनका अनुसार, छलफलमा विवादलाई चर्काउने भन्दा पनि समाधान दिनेतर्फ केन्द्रित भएको थियो । बैठकमा विकृति विसंगतिबारेको पछिल्लो प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल केन्द्रित भएको उनले बताए ।
कमेन्ट गर्नुहोस्