लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबैले खोप लगाउन पाउँछन् कि पाउँदैनन्?आयो यस्तो सूचना

tillotmacitynews - 2021 Jul 18 03:22 AM
IMG

तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। कांग्रेस नेतृत्वको सरकारले सबै नेपालीलाई चैतभित्रै खोप लगाइसक्ने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा केही जिल्लामा भने खोप कार्यक्रम स्थगित भएको छ।के अब बेलैमा जनताले खोप लगाउन पाउँछन् त? यसैबारेमा स्वास्थ्य मन्त्रालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गरेको छ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी हस्ताक्षरित उक्त सूचनामा १८ वर्ष माथिका नेपालीलाई निशुल्क खोप लगाउने योजना तयार भइसकेको जनाइएको छ।'नेपाल सरकारले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै संक्रमणको जोखिमबाट नेपालीहरुलाई जोगाउन खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको छ,' विज्ञप्तिमा भनिएको छ, 'खोप आपूतिको समस्यालाई समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकहरुका लागि निशुल्क खोप लगाउने योजना तयार भईसकेको छ।'


साथै मन्त्रालयले यसका लागि आवश्यक पर्ने खोपहरुको व्यवस्थापन भइरहेको जनायो। खोप स्थगनबारे भने पर्सिबाटै उक्त अभियान शुरु हुने बताइएको छ। 'पछिल्लो समय प्राप्त खोपहरु धेरै जिल्लाहरुमा पुगिसकेका छन्। केही जिल्लाहरुबाट भेरो सेल खोप अभियान शुरु गरि अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी समेत प्राप्त भएका छन् जहाँ अर्को खोप अभियानहरु पर्सिबाटै सुचारु हुँदैछन्,' सूचनामा भनिएको छ, 'सोको जानकारी सम्बन्धित जिल्लाहरुबाट उपलब्ध हुनेछन्।' हाललाई भेरो सेल खोप लगाउने वर्गमा ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरु तथा जानसेनको खोप लगाउने वर्गमा ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु, पूर्ण र अति अशक्त (वर्ग क र ख) अपांगता भएकाहरु, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरु प्राथमिकतामा छन्।


चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाउने अभियान निरन्तर संचालन हुने मन्त्रालयले जनाएको छ। 'आफ्नो पालो अनुसार उमेर खुल्ने परिचयपत्र लिएर मात्रै खोप लगाउन जान हुन र अरुको खोप लगाउने पालोमा भिडभाड नगरी खोप अभियानमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध छ,' सूचनामा भनिएको छ।


३२ लाख खोप आउँदै

मन्त्रालयले साउन ६ गतेबाट चीनबाट खरिद गरिएका थप खोपहरु आउने र साउन १५ गतेभित्र कम्तीमा बत्तिस लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरु नेपाल आउने क्रम जारी रहने जनायो। 'हामी सबैले खोप लगाउन पाउने छौ। कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनु भएका ६५ वर्षभन्दा माथिका सम्पूर्ण व्यक्तिहरुका लागि दोस्रो मात्राको खोप व्यवस्था भई सकेको छ,' सूचनामा भनिएको छ, 'केही दिनमै ती खोपहरु प्राप्त भई प्रतिक्षामा रहनुभएका सबैलाई दोस्रो मात्रा उपलब्ध गराईनेछ। त्यसैले सबैमा संयमित भई खोप अभियान सफल बनाउन सहयोग गरिदिनुहुन सार्वजनिक अनुरोध छ।'

कमेन्ट गर्नुहोस्