
असार १५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित वनवाटिकामा यस क्षेत्रको लागि नयाँ ई-लर्निङ एण्ड साइन्स थिएटर स्थापना भएको छ । रोटरी क्लब अफ बुटवलले तिलोत्तमा नगरपालिका र शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रसंगको सहकार्यमा निर्माण गरेको थिएटरको नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन् ।विशेष गरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई-लर्निङ एण्ड साइन्स थिएटरले नयाँ प्रविधिप्रति युवाहरुको आकर्षण थप बढाउने भएको छ । करिब १६ फूटको लम्बाई र झण्डै ९ फूट चौडाइको स्क्रिनिङ रहेको प्रोजेक्टमा ठूलाठूला सेमिनार, गोष्ठी, तालिमहरु सञ्चालन गर्न, विभिन्न खेलकूद प्रतियोगिताहरु अवलोकन गर्न र समग्र पृथ्वीको बारेमा समेत प्रविधिको माध्यमबाट अध्ययन अवलोकन गर्न उपयोगी हुनेछ । क्लबले यो प्रविधि चीनबाट भित्र्याएको हो ।
क्लबका अध्यक्ष सुनिल श्रेष्ठले करिब ४५ लाखको लागतमा यो प्रोजेक्ट स्थापना भएको बताए । आफ्नो कार्यकालमा ४ वटा महत्वपूर्ण प्रोजेक्ट अगाडि सारेकोमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्ने भनिएको क्यान्सर स्क्रिनिंग सेन्टर र ब्लड कलेक्शन मोवबाइल भ्यान छिटै नै सञ्चालनमा आउने पनि उनले बताए ।कार्यक्रममा बोल्दै तिलोत्तमा नगरप्रमुख घिमिरेले यसले युवा पुस्तामा नयाँ प्रविधिको समेत विकासमा सघाउ पुर्याउने भन्दै यसको सञ्चालनको लागि आगामी दिनमा नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए । क्लबका एजी राजेन्द्र लम्सालले यसको स्थापनाले वनवाटिका प्रविधिमैत्री केन्द्र बनेको पनि उनले बताए । क्लबका पूर्व अध्यक्ष एवं वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले ई-लर्निङ एण्ड साइन्स थिएटरको स्थापनाले प्रतिकूल अवस्थामा रहेको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउन सघाउ पुर्याउने बताए ।
कार्यक्रममा क्लवका एजी खिमानन्द भुसाल, शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष अध्यक्ष बेलप्रसाद शर्मा, क्लबका सचिव रोम शर्मा, कोषाध्यक्ष खेमनारायण पराजुली लगायतले ई-लर्निङ एण्ड साइन्स थिएटरको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्