लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्जला एकादशी एवं तुलसी बिजारोपण(व्रतकथासहित)

tillotmacitynews - 2021 Jun 21 04:22 AM
IMG

ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)-

असार ७ गते सोमबार २०७८ तिलोत्तमा सिटी।  व्रतहरूमा एकादशी व्रत सबैभन्दा बढी महत्त्वपूर्ण  व्रत मानिन्छ । वर्षमा चौबिस वटा  एकादशी पर्दछन् । अधिकमास वर्षमा २ वटा एकादशी बढी हुन्छन् । यद्यपि सबै एकादशीमध्ये जेष्ठ शुक्ल एकादशी सबैभन्दा बढी फलदायी वा महत्वपूर्ण मानिन्छ । जसलाई निर्जला एकदशी भनिन्छ। वर्षभरिका एकादशीहरुको  छुट्टाछुट्टै प्रकारको विशेषता छ । यसमा पनि निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ। निर्जला एकादशीका दिन आफ्नो घर आगनमा तुलसीको बिउ राख्ने गरिन्छ । यस दिनमा राखिएको तुलसीको बिउ बाट उम्रेको तुलसी आषाढ शुक्ल हरि शयनि एकादशीका दिन तुलसिको मोठमा रोप्ने गरिन्छ ।


निर्जला एकादशी व्रत कथा

जब सर्वज्ञ वेदव्यासले पाण्डवका चार पुरुषार्थः धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराएका थिए । युधिष्ठिरले भने, ‘जनार्दन ज्येष्ठ मासको शुक्लपक्षमा जुन एकादशी पर्छ, कृपाय त्यसको वर्णन गर्नुहोस् ।’भगवान श्रीकृष्णले भने, ‘हे राजन यसको वर्णन परम धर्मात्मा सत्यवती नन्दन व्यासजीले गर्नुहुन्छ । किनभने यी सम्पूर्ण शास्को तत्वज्ञान र वेद वेदांगमा पारंगत विद्वान उनै हुन् ।’तब व्यासजीले भने, ‘कृष्ण पक्ष र शुक्ल पक्ष दुबै पक्षको एकादशीमा अन्न बर्जित छ । द्वादशीको दिन स्नान गरेर पवित्र भइसकेपछि फूलले भगवान केशवको पूजा गर्नुपर्छ । फेरी नित्य कर्म समाप्त गरेपछि ब्राम्हाणलाई भोजन गराई अन्तमा स्वयम्ले भोजन ग्रहण गर्नुपर्छ।’यो कुरा सुनेपछि भीमसेन बोले, ‘परम बुद्धिमान पितामह, मेरो उत्तम कुरा सुन्नुहोस् ।


राजा युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव, यी कसैले पनि एकादशीको कहिल्यै भोजन गर्दैनन् । साथजै मलाई पनि उनीहरुले भोजन नगर्नका लागि अनुरोध गर्छन् । तर, म भोक सहनै सक्दिन ।’भीमसेनको कुरा सुनेर व्यासजीले भन्छन्, ‘यदि तिमीले नरकलाई दुषित सम्झन्छौं र स्वर्गलोकको प्राप्तिको अभिष्ट राख्छौं भने दुबै पक्षको एकादशीको दिन भोजन गर्नु उचित हुँदैन।’भीमसेनले भने, ‘महाबुद्धिमान पितामह, म तपाईंको सामुन्ने सत्य भन्छु । म त एक पटक भोजन गरेर पनि व्रत गर्न सक्दिन । तब उपवास गरेर म कसरी रहन सक्छु ? मेरो पेटमा वृक नामका अग्नि सधै प्रज्वलित रहन्छ ।


जब म धेरै खान्छु, तब मात्र यो शान्त रहन्छ । त्यसैले महामुनि, म पुरा वर्षभर केवल एक मात्र उपवास गर्न सक्छु । यस्तो कुन व्रत हुनसक्छ ? जसले कल्याण हुन्छ । म उक्त व्रतको यथोचित रुपमा पालना गर्छु ।’व्यासजी भन्छन्, ‘भीम, ज्येष्ठ मासमा सूर्य वृष राशिमा होस् वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसमा यत्नपूर्वक निर्जल व्रत गर । केवल कुल्ला वा अचमन गर्नका लागि मुखमा पानी हाल्न सक्छौं । त्यसबाहेक कुनैपनि प्रकारको जल मुखमा हाल्न उचित हुँदैन । अन्यथा व्रत भंग मानिन्छ ।’

कमेन्ट गर्नुहोस्