लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बजेटपछिको सेयर बजार : दुई दिन अत्यायो, त्यसपछि उल्लास

IMG

जेष्ठ २२ गते शनिबार २०७८ तिलोत्तमा सिटी।आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट वक्तव्यको भोलिपल्टै सेयर बजारमा हरियाली देखियो । लोकप्रिय बजेट ल्याएको भन्दै बजेटको निजी क्षेत्रले स्वागत र विपक्षीहरुले आलोचना गरिरहेका थिए ।सेयर बजारमा भने सकारात्मक असर देखियो । जेठ महिनाको तेस्रो साता लगानीकर्ताहरुका लागि सुखद रह्यो । शनिबार बजेट आयो, त्यसको भोलिपल्ट आइतबार नेप्से परिसूचक १२.५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुग्यो । अघिल्लो साता सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको थियो । १४ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएर बजारमा नयाँ रेकर्ड कायम भयो ।


त्यसपछिका दिनहरुमा भने दिनैपिच्छे जस्तो नयाँ रेकर्ड कायम हुँदै गयो । बजेटपछि आइतबार दोहोरो अंकले नेप्से परिसूचक बढे पनि सोमबार यो कायम रहन सकेन। सोमबार र मंगलबार भने नेप्से परिसूचक दोहोरो अंकले घट्यो । अब बजारमा ठूलो गिरावट आउन सक्ने भन्दै लगानीकर्ताहरु डराए ।तर बुधबार र बिहीबार भने लगानीकर्ताहरुले निराश हुनु परेन । साताको अन्तिम दिन बिहीबार लगानीकर्ताहरुलाई हौसला दिने गरी बजार बढेर बन्द भयो । बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको थियो ।बुधबार समूहगत इन्डेक्समा म्युचुअल फण्ड बाहेकका सबै समूहका सवइन्डेक्सहरु बढेका थिए भने दुई दिन लगातारजसो गिरावट आएको हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा बुधबार भने सुधार देखियो ।


बिहीबार सेयर बजारमा नयाँ रेकर्ड नै कायम भयो । बिहीबार दिउँसो १ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक बढेर २ हजार ८ सय ७५ अंकमा पुगेको थियो । जुन हालसम्मकै उच्च अंक हो । यद्यपि कारोबार समय सकिदासम्म नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेर बन्द भएको थियो । यस दिन १६ अर्ब ९० करोड रुपैयाँभन्दा धेरैको कारोबार भयो ।

कमेन्ट गर्नुहोस्