
जेष्ठ ४ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। भारतले आगामी अक्टोबरभन्दा अघि कोरोनाभाइरसविरुद्धको खोपलाई विदेशमा आपूर्ति नगर्ने भएको छ ।सरकारी स्रोतलाई उध्दृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएअनुसार घरेलु मागलाई मध्यनजर गर्दै भारतले उक्त निर्णय गरेको हो ।भारतको यो कदमले कोभ्याक्स संजालअन्तर्गत हुने भनिएको विश्वव्यापी खोप आपूर्ति प्रभावित हुने देखिएको छ । खरिदका लागि अग्रिम भुक्तानी दिइसकेका नेपाल, बंगलादेश र श्रीलंकाजस्ता मुलुकहरुलाई थप समस्या पर्ने देखिएको छ ।विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुकले आपूर्ति गर्नमा ढिलाइ गर्ने भएपछि नेपालसहितका अन्य मुलुकले लामै समय कुर्नुपर्ने देखिएको छ ।देशभित्रै संक्रमण र मृत्युको अवस्था भयावह बनेपछि भारतले गतमहिना खोप आपूर्ति रोकेको थियो । त्यसअघि उसले ६६ मिलियन डोज विश्वव्यापी वितरण गरिसकेको थियो । नेपालले पनि भारतबाट २० लाख डोज ल्याएर खोप अभियान चलाएको थियो । नेपालले बाँकी १० लाख डोज कोभिसिल्ड खोप पाउन बाँकी छ ।
भारतले खोप निर्यात तत्काल नगर्ने भएपछि कोभ्याक्सले अन्य खोप उत्पादक मुलुकहरुलाई खोप आपूर्ति गर्न आग्रह गरेको छ । भारतमा संक्रमण दर २५ मिलियन नाघेको र मंगलबार सर्वाधिक जनाको मृत्यु भएपछि भारतले यस्तो निर्णय गरेको बताइएको छ ।खोप निर्यात र आपूर्तिको जिम्मा पाएको भारतीय विदेश मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन । सिरम इन्स्टिच्युटका प्रवक्ताले भारतभित्रै खोप आपूर्ति गर्नुपर्ने भएपछि विदेशका लागि तत्काल खोप आपूर्ति नहुने बताएका छन् ।नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत खोप आउने आशा थियो तर, कोभ्याक्सलाई पनि सिरमले नै दिने भएपछि त्यस च्यानलबाट खोप तत्काल आउने आशा टरेको छ । कोभ्याक्सले सिरमसँग १.१ बिलियन डोज अस्ट्राजेनेका खोपको सम्झौता गरेको थियो ।राष्ट्रसंघीय नियोग युनिसेफ प्रमुखले सोमबार जी-सातको बैठकअघि ती मुलुकलाई कोभ्याक्समा खोप आपूर्ति गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशले थप २० लाख डोज मोर्डना, फाइजर र जोन्सन एन्ड जोन्सनको खोप निर्यात गर्ने घोषणा गरेका छन् । साभार नेपाल प्रेस
कमेन्ट गर्नुहोस्