लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

IMG

बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। रातदिन कोरोना संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मी नै ठूलो संख्यामा संक्रमणमा परेका छन् । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा कार्यरत स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमित भएका हुन् ।लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित बनेका छन् । ‘रातदिन संक्रमितको उपचारमा खट्दा खट्दै ठूलो संख्यामा हाम्रा स्वास्थ्यकर्मी संक्रमित हुनुभयो’, प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले भने, ‘तर, पनि विरामीको उपचारका समस्या नहोस् भनेर अन्य स्वास्थ्यकर्मीहरु रातदिन खट्नु भएको छ ।


स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको स्वास्थ्य सेवा असर परेको छ । ‘धेरै संक्रमित हुँदा सामान्य असर छ परिहाल्छ तर हामीले कमी हुन नदिने प्रयासमा छौं’, डा.गौतमले भने ।अस्पतालका अनुसार २३ जना नर्सिङ स्टाफ, १५ जना सपोर्टिङ स्टाफ, ५ जना मेडिकल अफिसर, ८ जना पारामेडिक, एनेस्टेसिया २ जना, गाईनोक्लोजिष्ट २ जना, प्रशासन तर्फबाट १ जना र फर्मासिस्ट तर्फका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । डा.गौतले संक्रमितमध्ये लक्षणसहितका १७ जनाको अस्पतालमै उपचार भइरहेको बताए । लक्षण नदेखिएका संक्रमितहरु भने निवासमै आइसोलेट भएको उनले जनाए ।


अस्पतालमा सबै तहका गरेर कुल ६०० स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् । अस्पतालले कोरोनासँग सरोकार नरहेका बाहेक अन्य सबै कन्सल्टेण्ट, मेडिकल अफिसर र कोरोना करारका चिकित्सकहरुलाई संक्रमितको उपचारमा परिचालन गरेको जनाएको छ ।अघिल्लोपल्ट स्वास्थ्य मन्त्रालयको आश्वासनमा होटलमा आइसोलेशन बनाएर संक्रमित स्वास्थ्कर्मीहरुलाई राखिएको थियो । तर, स्वास्थ्य मन्त्रालयले शोधभर्ना नगरिदिएपछि यसपटक स्वास्थ्यकर्मीहरुले पेयवल आइसोलेशन बनाउन नसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।


अहिले संक्रमित स्वास्थ्यकर्मीले अस्पतालको निवासलाई आइसोलेसन बनाएर बसेका छन् भने कतिपय अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् । प्रादेशिक अस्पतालले संचालन गरेको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालसहित इमर्जेन्सी र फिभर क्लिनिकमा गरि बिहीबार बिहानसम्म ३ सय ५८ जना कोरोना संक्रमितको उपचार जारी छ ।

कमेन्ट गर्नुहोस्