लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बढ्दो मृत्युदरले संक्रमितको शव व्यवस्थापनमा सकस

IMG

बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी।कोरोना भाइरसको संक्रमणसँगै मृत्युदर बढ्दै गएपछि रुपन्देहीमा शव व्यवस्थापनमा समस्या हुन थालेको छ ।अहिलेसम्म कोरोनाका कारण तीन सय नौ जनाको मृत्यु भएको छ । नयाँ कोभिड निर्देशिकामा स्वास्थ्य मापदण्ड अपनाएर आफन्त आफैले शव व्यवस्थापन गर्नसक्ने उल्लेख छ । तर अहिलेसम्म मात्र दुई जनाको शव मृतकका आफन्तले व्यवस्थापन गरेका छन् ।


मर्चवारी र ओमसतिया गाउँपालिकामा रहेको मसान घाटमा मृतकको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो । जनस्वास्थ्यका मापदण्ड पालना गरेर दाहसंस्कार गर्न जिल्ला प्रशासनले अनुमति दिने गरेको छ । बैशाख महिनामा रुपन्देहीका पाँच वटा अस्पतालमा उपचार गराउने क्रममा एक सय ९० जना संक्रमितको मृत्यु भएको छ ।जसमा लुम्बिनी प्रादेशिक अस्पतालमा ७१, युनिभर्सल कलेज अफ मेडिकल साइनसेजमा ६८, भीम अस्पतालमा ४२, क्रिमशन अस्पतालमा आठ र देवदह मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा एक सय ४८ जना रुपन्देहीका स्थानीय हुन् भने बाँकी ४२ जना बाहिरी जिल्लाबाट उपचार गर्न रुपन्देही आएका हुन् । यो महिनामा मात्रै जिल्ला आपतकालीन संचालन केन्द्र अन्तरगत नेपाली सेनाले एक सय ८६ जनाको शव व्यवस्थापन गरेको छ ।मृत्युदर बढ्दा शव व्यवस्थापनमा जटिलता देखिएको छ । अहिले नेपाली सेनाको दुईवटा टोलीले शव व्यवस्थापन गर्दै आएको छ । प्रत्येक दिन मृतकको संख्या बढ्दै गएपछि व्यवस्थापनलाई सहज बनाउन थप टोली बढाउन थालेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

कमेन्ट गर्नुहोस्