
तिलोत्तमा २०७८ बैशाख १३ गते सोमबार। कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट आफु सुरक्षित रही संक्रमणको जोखिमलाई न्युनिकरण गर्न पूर्व सावधानीका सम्पूर्ण उपायहरु अप्नाउन नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीले विज्ञप्तीमार्फत अपिल गरेको छ । संघका अध्यक्ष सुरज भट्टराईद्धारा सोमबार जारी प्रेस विज्ञप्ती सेवामुलक ब्यवसायलाई सरकारले तोकेको मापदण्ड भित्र रहेर निरन्तरता दिन सम्पुर्ण औषधि व्यवसायीहरुलाई अपिल गरिएको हो । नागरिकको उपचार तथा औषधि प्राप्त गर्ने अधिकार प्रति संवेदनसिल भएर सेवाभावका साथ औषधि पसल तथा क्लिनीकहरुमा सेवा प्रवाहलाई निरन्तरता दिई उपचार तथा औषधि विक्री–वितरणमा सहजता कायम गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
औषधि विक्री–वितरण तथा आपूर्ति व्यवस्थापन अत्यन्त संवेदनशिल व्यवसाय भएकाले कुनैपनि नागरीकले जीवनरक्षक औषधिको अभाव भोग्न नपरोस भन्ने तर्फ औषधि व्यवसायी संवेदनसिल र सचेत रहनुपर्ने बताईएको छ । पेशागत मर्यादा, आचार संहिता र सरकारी नीति, निर्णय र निर्देशनको पालना गरी औषधिको आपुर्ति र व्यवस्थापनका लागि स्थानीय पालिकाहरुसंग समन्वय गरी कार्य गर्नुपर्ने परिस्थिति निर्माण भएको भन्दै कोरोनाको लहर बढ्दै जाँदा अवलम्बन गरिने लकडाउन, सवारी साधनको आलोपालो प्रणाली, निशेषआज्ञा आदीको अवस्थामा औषधि र साधकवस्तुहरुको आपूर्ति व्यवस्थापन बारे सरकारी निकायको योजना बनाउन समेत सुझाव दिईएको छ ।
संघबाट जारी १२ बुद्धे विज्ञप्तीमा संकटको समाधान सबैको सहयोग, सहकार्य र योगदानबाट गर्नेतर्फ हातेमालो बढाउन, पसल वा वाहिर हिंडडुल गर्दा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न, फर्ममा आवत जावत गर्दा अनिर्वाय रुपमा आफ्नो फर्मको आईडी कार्ड साथमा राख्न, सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दा निश्चित दुरी कायम गर्न, औषधि पसलमा सेवाग्राहीहरु वस्ने प्रतिक्षा कक्षमा निश्चित दुरी कायम गरी बस्ने व्यवस्था मिलाउन, सरसफाई र औेषधिजन्य फोहोरको व्यवस्थापनमा विशेष सावधानी अपनाउन, शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धिगर्ने खालका खानेकुरा सेवन गर्न, अत्यावश्यक काम बाहेक भिडभाड हुने स्थानमा नजाने र अनावश्यक रुपमा घरवाहिर हिडडुल नगर्न, सम्भव भएसम्म सिमित जनशक्तिबाट आलोपालो गरेर भएपनि सेवा प्रवाहलाई निरन्तरता दिन, कोरोना संक्रमणको संका लागेमा परिक्षण, संक्रमितलाई आईसोलेसन र कन्ट्रयाक्स ट्रेसिड्डमा परेकालाई परिक्षण गराउन आवश्यक समन्वय र सहजीकरण गर्न, जीवन रक्षक औषधिको अभाव हुने अवस्था श्रृजना भएमा समयमै संघमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस्