लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भूगोल सुरक्षामा कोरियाको कब्जा

IMG

तिलोत्तमा २०७७ चैत्र २८ गते। पहिला पहिला आफ्नो खेतको गरा वरिपरि भएको ढिस्का,टाकुरालाई गल, गैतीको प्रयोग गरेर खेत बिराइन्थ्यो। तितेपातीघारि खेतको गरामा परिणत हुन्थे।गराको बिचमा भएका ढुङ्गाको छपनी  उप्काएर गरो चाक्लो बनाइन्थ्यो।बनपालो फांडेर खोरिया तयार हुन्थ्यो।।त्यतिबेला भिर पाखापनी खेतीयोग्य जमिनमा परिणत हुने गर्दथे।प्रयोगमा नआएको बांझो जमिन चाक्लो बनाएर उब्जनीमा वृद्धि गरिन्थ्यो।


संसारको ईतिहास हेर्ने हो भने आफ्नो आधिकारिक जमिन चाक्लो अथवा खेतीयोग्य बनाउन तिर हैन मानिसहरु त अर्को राज्यको भुमी कब्जा तथा अतिक्रमण गर्ने तिर लम्केको देखिन्छ।एउटा देशको शासक अर्को देशमा गएर राज्य कब्जा गर्ने तथा मानिसहरुलाई दमन गरेर अधिनमा लिने कुरा परम्परा नै बनेको थियो।कतै कतै त  अर्काको देशको  शहर नै  दाइजोको रुपमा दिएको पनि पाइन्छ।हाम्रो दक्षिणको छिमेकी रास्ट्र भारतको कुरा गर्ने हो भने सन १४९८ मा पोर्चुगलले भारतमा पाइला टेके पछि धेरै युरोपियन रास्ट्रहरु भारत आइपुगेका थिय। भारतका राज्य कब्जा गरेर शक्तिशाली बनेको पोर्चुगलले आफ्नी राजकुमारी क्याथ्रीनको बिबाह  बेलायतको राजकुमार चार्ल्ससंग गराइदिएको थियो।अनि पोर्चुगलले बेलायतलाई भारतको तत्कालिन  बम्बै (मुम्बई ) शहर दाइजोको रुपमा दिएको ईतिहास पनि पाइन्छ। अर्काको भुमी दाइजोमा। अर्को रास्ट्रको  कमजोर सुरक्षा सिमानाको फाइदा उठाएर धेरै रास्ट्रहरुले आफ्नो देशको भण्डार बलियो बनाएको कुरा बुझ्न सकिन्छ।आज यहि सिमानाको नालिबेली कोरियाको इतिहासको पानो बाट।


प्राचिन कोरियाको भुगोल

पांचौं शताब्दीसम्म कोरिया पश्चिममा योहा नदिसम्म फैलिएको थियो। यो नदि अहिले चिनमा पर्दछ। उत्तरमा साइबेरियासम्म पुगेको थियो। त्यतिबेला कोरियाको क्षेत्रफल ५ लाख वर्गकिलोमीटरमा फौलिएको एसियाको ठूलो देश मध्य एक भनेर चिनिएको थियो।यो बिशाल साम्राज्य कोरियाका तत्कालिन बडामहाराजधिराज ख्वाङ्गेथो थे वाङ भन्नेले बिस्तार गरेका थिए।समयसंगै कालान्तरमा कोरियाले ओगटेको राजनीतिक भुगोल साघुरिंदै गयो। चिनसंग विभिन्न युद्धमा हार बेहोरेर १४ औं शताब्दीबाट कोरिया २२०९०१  वर्गकिलोमिटरमा खुम्चिन बाध्य हुनपर्यो।यसैलाई  अखण्ड कोरिया भनिन थालियो।


साम्राज्य फैलाएका राजा  ख्वाङ गे थो थेवाङको मृत्यु पश्चात् उनका छोरा छाङ्सु राजा गद्दीमा बसे।यिनले त्यति ठूलो साम्राज्य फैलाउन त सकेनन एउटा अनुकरणीय कार्य भने गरे।पिताको सम्झनामा एउटा शिलास्तम्भ स्थापना गर्न लगाएका थिए।६.४ मिटर अग्लो,२ मिटर चौडा भएको त्यो विशाल शिलास्तम्भ अहिले संसारको सबैभन्दा अग्लो  शिलास्तम्भको रुपमा गनिएको छ।विशाल  कोरियाको ईतिहास आउने  हरेक कोरियन नयाँ  पुस्ताले जानुन भनेर खडा गरेको त्यो अग्लो शिलास्तम्भ अहिले चिनको उत्तर पुर्बी भुभाग छिरिनसङमा अबस्थित छ।यस्लाई कोरिया भाषामा ख्वाङ गेथो थे वाङ नुङ्बी भनेर भनिन्छ। त्यसो त हामी पनि दामोदर पाण्डेको खुकुरी पखालिएको टिस्टा खोला, नयन सिंह थापाले लडेको हिमान्चलको कांगडा किल्ला,बडाकाजी अमरसिंह थापाले  आसन गरेको सोलनको  अर्कि दरवार कहाँ भुलेका छौं र।


१६ औं शताब्दीमा कोरियाको मानिसको दिनचर्या 

त्यो समय कामको आधारमा जाती निर्धारण गरिएको बेला  थियो।त्यतिबेला कोरियामा चार जाती थिए।जातिय भेदभाब हुने गर्दथ्यो। कोरियाले सन १५९२ देखि सन १५९८ सम्म जापान संग युद्ध झेल्नु परेको थियो।यो युद्धले कोरियाका मानिसलाई जिउन अझ कठिन बनाएको थियो।जापानीहरुले खेतमा रोपेको धान उठाएर जापान लैजाने गर्दथे।जापानीहरुले दुख कष्ट दिने गरेका थिए।एकातिर जातिय भेदभाव अर्कोतिर जापानको अत्याचारले सर्वसाधारणको जीवन सहज हुन सकेको थिएन।


कोरियनहरुको  बसाइँसराइ उत्तरी भुभाग पुक खान्दोमा

खेती,किसानी गरेर खाने  मानिसहरुको जीवन सहज नभए पछि कोरियनहरु खाली जमिनको खोजिमा भौतारिन थाले।अनि कोरियाको उत्तरी भेग पुक खान्दो भन्ने खाली जमिनमा गएर बसोबास गर्ने प्रक्रिया सुरु भयो।त्यो पुक खान्दो भन्ने जमिनमा त्यतिबेला  कोहि मानिसको बसोबास थिएन। बन्जर जमिनलाई जोतेर खेतीयोग्य बनाई मकै रोपेर जिबिकोपार्जन गर्न थाले।समय संगै खोलाबाट कुलो खनेर सिंचाइको ब्यबस्था पनि गरे। धान तथा सम्पुर्ण कृषिबाली लगाउन थाले।बिस्तारै बिस्तारै कोरियाबाट लाखौं मानिसहरु त्यो पुक खान्दो भन्ने ठाउँमा गएर बसोबास गर्न थाले।पुक खान्दोमा कोरियाका मानिसको बसोबास लाखौको संख्यामा हुन थाल्यो।उर्बरा भुमिको पुक खान्दोमा परिचित हुन थाल्यो।या यसरी भनौं जुवामा हारेका पाण्डबहरुले राज्यको रुपमा पाएको मरुभूमि खाण्डबप्रस्थलाई बलरामको हलोले इन्द्रप्रस्थमा परिणत बनाए जस्तै कोरोयनहरुले पनि पुक खान्दोको बांझो जमिनलाई उर्वरा भुमिमा परिणत गराए।पुक खान्दो जमिनमा कोरियनहरु जान भन्दा पहिला  मानिसको बसोबास किन थिएन त्यसको बारेमा जानौं।


 पुक खान्दो जमिनको सम्बन्ध छिमेकी देश चीनसंग

चिनमा सन १६४४ सम्म  मिङ बंशले शासन गरेको थियो।तत्पश्चात मिङ बंशलाई पतन गराएर  चिङ्ग (कुइङ) बंशको शासन सुरुवात भएको थियो।चिङ्ग (कुइङ )बंशको शासन कालका राजाले बेइजिङ(पेकिङ)लाई राजधानी बनाएका थिए। उत्तरी भुभाग मन्चुरिया,खान्दो जस्ता टाढाका क्षेत्रमा छरिएर रहेका चिनी जनतालाई  बसाई सरेर बेइजिङ वरपर आएर बस्न आदेश दिएका थिए।जस्को कारण मन्चुरिया तथा खान्दोका मानिसहरु बेइजिङ क्षेत्रमा बसाई सरेपछी पुक खान्दो खाली हुन पुगेको थियो।जहाँ १७ औं शताब्दीबाट कोरियाका मानिसहरुको बसोबासको थलो बन्न पुगेको थियो।कोरियाका मानिसहरु उत्तरी भुभागमा बसाइँसराइ गर्ने क्रम बढेपछी चिनका राजालाई डर उत्पन्न भएछ।अनि चिनका  राजाले सिमा सिमांकन गर्ने भनी कोरियाका राजालाई पत्र पठाएछन। कोरियाका तत्कालीन  राजा सुकजोङले पत्रलाई स्वीकार गरेछन। 


कोरिया र चिनको सिमा निर्धारण नदिको आधारमा (सन १७१२ )

 कोरियाको उत्तरी भुभाग(अहिलेको उत्तर कोरिया)मा एउटा अग्लो पहाड छ।जस्लाई फेक दु पहाड  भनिन्छ।त्यो पहाडको एउटै मुलबाट तीन वटा नदिहरु बनेर निस्कन्छन।जुन तीन दिशा भएर बहन्छन।पस्चिम तिर आम्नोक नादि, दक्षिण तिर थोमुन नदि,पुर्बतिर थुमान नदिको नामले  बहन्छन।दुई देश बिचको सिमा निर्धारण त्यही फेक दु पहाडबाट निस्केको नदिबाट भएको थियो।सिमा निर्धारण गर्दा तीन नदि मध्य दुई वटालाई आधार मानेर सिमांकन गरिएको थियो।पश्चिम तिर बहने आम्नोक नदि साथै दक्षिणतिर बहने थोमुन नदिको आधारमा सिमांकन तय भएको थियो।यसरी सिमा निस्चित भएपछि थोमुन नदि तथा आम्नोक नदिबाट दक्षिणपट्टी कोरिया उत्तरतिर चीन बन्न पुगेको थियो।यस्ले कोरियाबाट बसाइँसराइ गरि गएका कोरियनहरुको हक र अधिकारलाई पनि मान्यता दिएको थियो।जस्ले बसाइँसराइ गरि पुक खान्दोमा गएका कोरियनहरु कोरियामै परेका थिए भने पुक खान्दो जमिन  अब कोरियाकै बनेको थियो।भबिस्यमा समस्या नआओस भनी ती दुई देशका सिमाविद तथा राजदुतहरुले कागजको प्रमाणभन्दा शिलास्तम्भको प्रमाण दरिलो हुने भनेर शिलास्तम्भ गाढेर  सिमा निर्धारण गरेका थिए।सन १७१२ बाट चिन संग प्रमाणिक रुपमा सिमाना तय भएको थियो भनेर जान्न सकिन्छ।


चिनले जन्माएको कोरियासंगको सिमा विवाद

हजारौं बर्षसम्म कुनै पनि बिदेशी रास्ट्रले पाइला टेक्न नपाएको चिनमा १७औं शताब्दीमा युरोपियन रास्ट्रको आगमनले चीन एउटा फन्दामा परिरहेको थियो।बेलायतले चिनमा अफिमको अवैध कारोबार गरेर युद्ध गर्नु परेको थियो।जस्को कारण सन १८६० सम्ममा हकंग बेलायतले पुर्णरुपमा आफ्नो बनाएको थियो।"पोले माथी फकुन्डो भनें झैं" युरोपियनहरुले किचिरहेको बेलामा मौका छोपेर रसियाले पनि चिनको उत्तरी  मन्चुरियाको जंगली भुभाग आफुलाइ दिन माग गर्यो।युरोपियनको कारण कमजोर बनेको चीनले रसियासंग युद्धगर्न सक्ने हिम्मत त थिएन।अनि मन्चुरियाको उत्तरी भुभाग पनि रसियालाई दिनु पर्यो।यसरी युरोपियन र रसियाको अठ्याइमा  परेको  चिनले " मुसाको रिस भ्यागुतोमा" भने झैं कोरियाको सिमानाको जमिनमा बखेडा झिक्न थाल्यो।


अनि सन १८८० मा कोरियाका तत्कालिन राजा खोजोङलाई पुक खान्दोमा भएका  मानिसहरुले जमिन खाली गराउनु पर्ने छ भनेर कोरियाको राजालाई पुनः पत्र लेखेछन।कोरियाले सिमा सिमांकनको आधारमा पुक खान्दोमा बसोबास गर्ने मानिसहरु कोरियनहरु भएकोले सन्धिको आधारमा भुमी कोरियाको नै भएको दाबी गरेछन।तर चिनले कोरिया तिर बहने नदि थुमान नदिको आधारमा सन्धी गरिएको हो,दक्षिण तिर बहने नदि थोमुन नदिको आधारमा हैन भनेर झुटो भनेछ।चिनले सन्धिलाई पनि लत्याउन खोजे पछि कोरियाका खोजोङ राजाले त्यो पुक खान्दोलाई आफ्नो देशको अञ्चल बनाएर नक्सामा सामेल गराएछन।चिनले टुलुटुलु हेरिमात्र रह्यो।यसरी कोरियाको राजाले विवादित भुमी र त्यो भुमिमा भएका आफ्ना जनतालाई संरक्षण दिएर जोगाउन सफल भएका थिए।सत्यको बिजय भएको थियो।कोरियाको २१ हजार बर्गकिलोमिटर जमिन चिनले खोस्न बाट जोगाएका थिए।ती खोजोङ राजाको जय होस।


अर्को छिमेकी देश जापानले निम्त्याइदिएको कोरियाको कालो इतिहासको पानो

अखण्ड कोरिया,शान्ति देश कोरियाको कालो दिन तब सुरु भयो जब सन १९०५ मा जापानले कोरिया संग असमान सन्धी गरेर जापान कोरिया देशको निर्माता बन्न पुग्यो।कोरियाको सम्पूर्ण अधिकार जापानको पोल्टामा हुन पुग्यो।जुन सन्धिलाई उल्सा नुक याक भनेर भनिन्छ।

कोरियामा जापानको शासन आए पछि जापान कोरियामा मात्र बस्न चाहादैंनथ्यो।जापान त  चिनको मन्चुरिया हुँदै दक्षिण पुर्बी देशहरुलाई कब्जा गर्नु थियो।त्यस्को लागि जापानले चिनको मन्चुरियामा  रेल्वे लाईन बिछ्याउनु अति आवश्यक थियो।चिनले त्यसै दिने वाला पनि थिएन।अनि जापानले चाल खेलेर कोरियाको सिमानामा भएको बिबादित कोरियन जमिनलाई  चिनको बनाईदिएमा चिनले रेलको लाइन बनाउन दिने छ भन्ने बिश्वास भएछ।


कोरियाको उत्तरी भुभाग पुक खान्दो जुन सन १७१२ को सन्धी अनुसार  आधिकारिक रुपमा कोरियाको थियो।त्यो जमिन जापानले जबर्जस्ती  चिनलाई हस्तान्तरण गरिदियो।अनि सन १९०९ मा त्यो जमिन चिनको हो भनि तेस्रो मुलुक जापानले  पुक खान्दो सन्धि गरेर कोरियाको २१हजार बर्गकिलोमिटर जमिन चिनमा गाभिने बनाइदियो।सिमानामा गाढिएको शिलास्तम्भ जापानले फुटालेर फालिदियो।प्रमाण नस्ट गरिदियो।तत्पश्चात पुक खान्दो चिनको हुन पुग्यो।तब जापानले चिनको मन्चुरियामा रेलको लाइन  बनाउने अनुमती पायो।

बेइमानि जापानको कारण कोरियाको बास्तबिक भुमी पुर्णरुपमा चिनको हुन पुग्यो।साथै त्यो कोरियाको भुमिमा बसोबास गर्ने कोरियनहरु कोरियन मुलका चिनी नागरिक हुन पुगे।कोरियाको भुमी अहिले आधिकारिक रुपमा चिनमा गाभिन पुगेको छ।सानो देशको भुमी यसरी ठूलो रास्ट्रले खोसेको छ।दुई टुक्रामा बांडिएको उत्तर कोरिया र दक्षिण कोरिया एक होस।अनि अखण्ड कोरिया बनेर पुनः चिनले अतिक्रमण गरेको भुमी फिर्ता ल्याओस हामी सबैको सुभकामना।


हाम्रो सुन्दर देश नेपाल

हाम्रो देशको प्राचिन भुगोल पुर्बमा कामरु कामक्ष,अहिलेको आसाम,पस्चिममा उधमपुर अहिलेको कांगडा दक्षिणमा पाटलिपुत्र अहिलेको पटना सम्म फैलिएको थियो भनेर हाम्रा इतिहासकारहरुले भन्दै आएको कुरा बाट प्रष्ट झल्किएको छ।१८औं शताब्दीमा तत्कालीन राजा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले एकीकरण अभियानको जग बसालिदिए पछि उनका छोरा राजा प्रतापसिंह शाह,बुहारी राजमाता राजेन्द्रलक्ष्मी,बहादुर शाह हुँदै,मुख्तियार भिमसेन थापा, अमरसिंह थापा,दामोदर पान्डे,अभिमान सिंह बस्नेत,बिरभद्र उपाध्याय,शिकारी बंशु गुरुङ,बिराज थापा मगरसंगै सम्पूर्ण नेपालीहरुको सामुहिक नेतृत्व र  बलिदानले पुर्बमा टिस्टा,पस्चिममा कांगडासम्म फैलिएको विशाल नेपाल बनेको थियो।भारतमा आएर राज्य गरेका अंग्रेजहरुले हाम्रो देशलाई पनि उपनिवेश बनाउने दाउमा युद्ध गरे।युद्धमा जित त हासिल गरेनन तर जबर्जस्ती असमान सन्धी गर्न बाध्य बनाए।राज्यको मुख्य ब्यक्ती मुख्तियार तथा  राजाको हस्ताक्षर बिना  अंग्रेजले एकतर्फी असमान सन्धी गरेर  हाम्रो देशको भुमी भारतमा गाभिने बनायो।


के अब हाम्रो गुमेको भुमी फिर्ता आउला त ?

ईतिहास भनेको हाम्रो परिचय हो।ईतिहास कै गर्भबाट भबिस्यको जन्म हुन्छ।हाम्रो देशको नपल्टेको इतिहासको पानो पल्टाउने हाम्रो अधिकार हो।कसैले खोसेको जमिन आज फिर्ता नहोला।भोलि फिर्ता नहोला।पर्सि अबस्य समयले कोल्टे फेर्ने छ।कस्ले जानेको थियो मरुभुमिको एउटा  कागान पदको छोरो चंगेज खान  बादशाहमा परिणत हुने छ भनेर। कस्ले जानेको थियो भेंडाको चरन अलिकती  बढाउने सोच राखेको  त्यही कागानको छोरोले ३ करोड ३० लाख बर्गकिलोमिटरको क्षेत्रफलको विशाल साम्राज्य बनाउने छ भनेर।कस्ले जानेको थियो जहाँगीरको दरवारमा एक दिनको पाहुने बनेर बेलायत बाट आएको व्यापारी विलियम हकिन्सले पुरै भारतमा शासन गर्ने छ र जहाँगीरकै बंशजलाई पतन गराउने छ भनेर।हामी त्यो देशका मानिस हौं जुन देशमा शान्तिका दुत गौतमबुद्ध भगवानको जन्म भएको थियो।जस्ले हामिलाई पुनर्जन्म हुने बिश्वासको छाप छोडेको छ।त्यसैले हाम्रो देशमा पनि नालापानीमा लडेका बलभद्र कालापानीमा  जन्मने छन।हिउँको टुक्रा बाट पुनः पासाङ ल्हामु जन्मने छिन।माटो बाट पुनः सिताको जन्म हुने छ।देउथलमा लडेका भक्ती थापा पुनः देशभक्तिको भाब लिएर जन्मने छन।बिसे नगर्चिको सियोले पुनः सैनिकको उध्रेको कपडा सिलाउने छ।हरेक नेपाली  योद्धाले पुनर्जन्म लिने छन।जतिबेला पुनः  बिशाल देश नेपालले जन्म लिने छ। हाम्रा हरेक नेपाली छोराछोरी बिदेशी भुमिमा जागिरे हैन, हरेक नेपाली नेपालमा  साना,मझौला,ठुला कारखाना का मालिक बन्ने दिन आओस। अबको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेसिनु नपरोस। हजुर हामी सबैको कल्याण होस। 


बिक्रम थापा 

दक्षिण कोरिया।


कमेन्ट गर्नुहोस्