लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नारी र कोरियाको जीवनस्तर

IMG
तिलोत्तमा,२०७७ चैत ६ ।
कस्तो मेरो हारेको करिमा.....
जहाँ गएनी त्यहीँ  पर्छ मरिमा .......
यस्ता गीत घांस दाउरा काट्न जांदा चेलिहरुले बनपाखामा गुन्जाउने गीत हो। नारि दमनको कथा ब्याथाको ईतिहास हेर्ने हो भने  हाम्रो देश नेपालमा मात्र हैन संसारका हरेक रास्ट्रमा कायम थियो। अझ बिकसित देशहरु भन्ने युरोपमा त नारी भेदभाव अचाक्ली  नै हुने गर्दथ्यो।यस्तै नारि इतिहासको नालिवेली तत्कालिन अखण्ड कोरियाको इतिहासको पानोबाट.......

लिखित ईतिहास पहिलो शताब्दी देखि १५औं शताब्दी सम्मको कोरियाको बैबाहिक सम्बन्ध तथा नारिको जिबनस्तर
 त्योबेला कोरियामा  बिबाह पस्चात वधु  कुटुम्बको घर जानू पर्दैनथ्यो।वर स्वयंनै घरज्वाइँ  बनेर दुलहिको घरमा बस्ने परम्परा स्थापित थियो।छोरिले कर्म घर गएर सासू, ससुरा, नन्द,अमाजु कसैको कर्कश सहनु नपर्ने  बाताबरण थियो।छोरा अथवा छोरी कसैलाई  भेदभाव थिएन। स्वतन्त्र रुपमा रहेर छोराछोरी बराबर हक र अधिकार प्राप्त गरेर जीवन बिताएका थिए।छोरिहरु चरी जस्तै स्वतन्त्र भएर पालित पोषित हुने गर्दथे।उनिहरुको शिक्षादीक्षा, बिना रोकटोक शान्ती तवरबाट चलेको थियो। पारिवारिक तथा सामाजिक कार्यहरु स्वतन्त्ररुपमा छोराछोरी दुबैबाट हुँदै आएका थिए।सम्पुर्ण कुरामा हक र अधिकार बराबर थियो। पैत्रिक सम्पतीको हकवाला छोराछोरी दुबै हुने गर्दथे।ती मध्य केहि प्रतिष्ठित ब्यक्तिको अंशवण्डाको अबस्थालाई मध्यनजर गरौं।

 कोरियाकी प्रथम कवयित्री तथा चित्रकार सिन्सा इमदाङ(सन १५०४ - सन १५५१)
 त्योबेलाको दस्तावेज अनुसार सिन्सा इमदाङको मातापिताको पैत्रिक तथा चलअचल सम्पती छोरि तथा ज्वाइँहरुलाई बराबर गरि बांडिदिएका थिए। जस्मा पितृकार्य गर्ने छोरा अथवा छोरिलाई चाहिँ अलिकती बढी दिने चलन थियो भनेर बुझ्न सकिन्छ।

महान नारी सिन्सा इमदाङ को थिइन ?
सिन्सा इम्दाङ कोरियाको खाङ वनदो खाङ रुङ भन्ने ठाउमा जन्मेकी एक महान नारी थिइन। पांच जना दिदिबहिनी मध्य यिनी माहिली थिइन।।मातापिताले सबै छोरिहरुलाई कुनै कुराको कमि  नगराई हुर्काएका थिए।सबै छोरिहरुलाई पढाएर शिक्षित बनाएका थिए।त्यतिबेला घरज्वाइँ बस्ने चलन  भएकोले यि नारि पनी मामाघरमै  हुर्किन।पढाइ लेखाइ पछि यिनी यो देशको एउटा सफल तथा शिक्षित नारिमा गनिन पुगिन।कविता,चित्रकला तथा साहित्य लेखन  कार्यमा यिनको ठूलो योगदान रह्यो।यिनले ठुलो सफलता हात पारेकी थिइन।जस्ले कोरियामा मात्र नभई छिमेकी रास्ट्र चीनमा पनि  खुब प्रतिष्ठा कमाउन सफल भईन।यिनले बनाएका चित्रहरु सर्वत्र प्रसिद्ध भएका थिए।

सिन्सा इमदाङको बैबाहिक सम्बन्ध र सन्तानको शिक्षादिक्षा 
१९ बर्षको उमेरमा ख्यङ्गि दो फाजु सिका  इ वन सु भन्ने ब्यक्ति संग बिबाह भयो।बिबाह पश्चात् श्रीमान ससुरालिमै बसे। यिनले पनि माइतीघरमा नै ४ छोरा ३ छोरिलाई जन्म दिइन।सात जना छोराछोरीलाई  बराबर तरिकाले उच्च शिक्षा  पढाइन।छोराछोरीलाई आफू जस्तै खुब शिक्षित बनाइन।कोरिया भाषा,साहित्य तथा राजनिती शास्त्र पढाएर ठूलो मान्छे बनाइन।आफ्ना छोराछोरीलाई बिना भेदभाव  शिक्षामा जोड दिएकोले साथै रास्ट्रको महिमा बढाएकोले  नारिको सम्मान सदा भइरहोस,आउने हरेक पिंढिले नारिलाई शिक्षित बनाओस भनेर यिनलाई र यिनले बनाएको चित्रलाई  कोरियाको सबै भन्दा ठूलो मुद्रा पचास हजारको नोटमा राखेर सम्मान दिईयो।

नारिको आस्थाको धरोहर महान नारी सिन्सा इमदाङ साथै उनले कोरेको चित्र सहितको नोट ५००००


महान नारि सिन्सा इमदाङको विद्वान पुत्र युल गोक ई ई (सन १५३६ - सन १५८४)
उनी एक रास्ट्रसेवक,राजनीतिज्ञ तथा दुरदर्शि विद्वान भएका थिए।स्व.बिश्वेस्वर प्रशाद कोइरालाको दुई लाइन सापटी लिएर भन्नु पर्दा"जुन घरमा शान्ती र स्वतन्त्र हुन्छ त्यो घरमा कला जन्मन्छ।" दुरुस्तै युल गोक ई ई लाई घरको मातापिताको अनि हजुरबुबा हजुरआमा सम्मको सहयोग मिलेको थियो।घरको शिक्षाले नै उच्चअध्ययन  राम्रो संग गर्न सके।ठूलो भएर तत्कालिन राजा सन्जोका बिश्वासिलो निकट भारदार बन्न सफल भएका थिए भने जनताको मर्म बुझ्ने आदर्श नेता बनेका थिए।यिनको पालामा देशमा शान्ती सुब्यबस्था,अमनचैन कायम भएको थियो।यिनको भबिस्यबाणीको एउटा कुरा खुब मनन योग्य छ।

भबिस्यबाणी गरेका युल गोक ई ई को रोचक प्रसंग 
 एक दिन राज्यसभा भइरहेको बेलामा युल गोक ई ईले राजा संग बिन्ती गरेछन" महाराज ! हाम्रो देशमा सैनिकहरु संग कुनै आधुनिक हातहतियार छैनन।संसारका शक्तिशाली  रास्ट्रहरु उपनिवेश बनाउन सलबलाई रहेको बेला छ।हाम्रो देश चीन संग खुल्ला सिमना छ।समुन्द्र बाट टाढा भए पनि जापान नजिकै छ।साथै हाम्रो देशमा  सैनिकको संख्या थोरै भएकोले एक लाख सैनिक बनाएर देश बलियो बनाउनु पर्ने छ।सिमाना बलियो हुनु पर्ने छ।यस्लाई बेवास्ता गरेमा बाहिरि रास्ट्रहरुले पनि आक्रमण गर्ने छन।तर यो कुरा सभामा कसैले मानेन।।हाम्रो शान्ती देशमा कसैले आक्रमण गर्दैन किन सैनिक चाहियो भनेर अरु भारदारहरुले राजा समक्ष बिरोधको भाब दर्साएछन।युल गोक ई ई को कुरालाई तत्कालिन भाइभारादार तथा स्वयं सन्जो राजाले पनि यो कुरालाई खेलवाड गरेछ्न।युल गोक ई ई को कुरालाई त्यतिबेला  बेवास्ता गरियो।

यिनी सन १५८४ मा स्वर्गेवास भए।यिनको देहावसान भएको ९ बर्ष पछि सन १५९२ मा साच्चिकै  जापानले कोरियालाई हमला गरिदियो।सन १५९८ सम्म ६ बर्ष चलेको युद्धले कोरियालाई घुंडा टेक्ने बनायो।तत्पश्चात  राजालाई पछुतो भयो।युल गोक ई ई को कुरा सुनेको भए।यस्तो अवस्थालाई सजिलै पराजित गर्न सकिन्थ्यो भनेर देहान्त भइसकेका युल गोक ई ई लाई सम्झेका थिए ।पस्चातापमा परेका राजाले तुरुन्त ठुला ठुला किल्ला,गढी,दुर्ग बनाउन आदेस दिए।सैनिकबल बढाउन जोड दिए। सुवन भन्ने शहरमा भएको बिश्व सम्पदा सुचिमा परेको कोरियाको प्रसिद्ध  किल्ला "सुवन ह्वासङ" पनि यहि युद्धको कारण बनेको थियो। युल गोक ई ई जस्ता दुरदर्शि,महान पुरुषको दिव्योपदेशको स्मरण  सदा भइरहोस।देशको सिमाना कडा निगरानीमा होस।आउने प्रत्येक पिंढिले सम्झना गरोस भनेर यिनलाई अहिले कोरियाको पांच हजारको नोटमा सजाएर राखिएको छ।आमा छोरा नै कोरियाको नोटमा अहिले देख्न पाइएको छ जस्ले हामिलाई पनि हाम्रा छोराछोरी शिक्षित बनाउने पाठ सिकाएको छ।

विद्वान युल गोक ई ई फोटो भएको ५००० को नोट


कोरियामा १७ औं शताब्दी देखि १९ औं शताब्दी सम्म नारिको अबस्था र नारी अधिकार।
१७ औं शताब्दीबाट कोरियामा हलचल उत्पन्न भयो। भेदभाव सुरु हुन थाल्यो।देशको नाम परिबर्तन (खोर्य बाट छोसन)भएकोले अब नियम पनि परिवर्तन हुनु पर्दछ भन्ने राजाको आदेश भयो। घरज्वाइँ बस्ने चलन हटाएर बिबाह पस्चात छोरी दुलहाको घर जाने ,पितृकार्य  जेठो छोराले मात्र गर्न चलन बसालियो।पैतृक सम्पती छोरिलाई नभई छोरालाई दिने पितृसत्तात्मक राज्यमा स्थापित हुन पुग्यो।

नारिको लागि बनाइएका नियम कानुन 
जन्म घरमा हुंदा जन्म दिने पिताको आदेश मान्नु पर्ने।कर्मघर गएपछी श्रीमानको आदेश मान्नु पर्ने। श्रीमानको मृत्यु पश्चात् छोराको आदेश मान्नु पर्ने नियम बसालियो।यस्लाई  "सामजोङ छिदो"  भनेर नामाकरण गरियो। नारिको नैसर्गिक अधिकारमा परदा हालियो। सासू ससुरालाई मान्नै पर्ने।छोरा जन्माउन नसके घर बाट लखेटिने। बांझो कोख तथा निसन्तान भए अपहेलित हुनुपर्ने।हिड्डुल गर्दा भद्र भएर हिंड्नु पर्ने।कसै संग जलन हुन नपाउने।रोग लागेमा अपहेलित हुने। छोरी जातिले पढन नपाउने।यस्लाई नारिको अर्को नियम  " छिल्ग छिआक "  भनेर नामाकरण गरियो।कखरा पनि नपढेका चेलिहरु कर्म घर गएर धेरै कष्ट भोग्नु पर्यो।नारिलाई चिजबस्तुको रुपमा प्रयोग गरियो। यस्ता भेदभावपुर्ण नियम लागू गरेर कोरिया रुढीबादी परम्परामा जगेडिन पुग्यो।पुरुषले बनाएका यस्ता  नियमहरु  तत्कालीन नारिहरुले पनि सहस्र स्वीकार गरे।अनि आफ्ना छोरिलाई चलेको चलन,रित,संस्कार,धर्म भन्दै त्यही कुराहरु सिकाउदै गए।यस्ता कुनिती,अत्याचार, नारी दमनलाई आफू मरेरै भएपनी चुप भएर आज्ञा पालना गर्न बाध्य बनाइयो।

कोरिया तथा हाम्रो देश नेपालको छिमेकी रास्ट्र चीनको नारी ईतिहास
चिनमा पनि हजारौं बर्ष देखि नारी दमन अत्याचारका कुकर्महरु हुँदै आएका थिए।बालिका चार अथवा पांच बर्ष पुगे पछि कन्याको कलिलो खुट्टामा बाक्लो पट्टी बांधिने गरिन्थ्यो।बाक्लो पट्टिले  खुट्टाका औंलाहरु फैलिन न पाउन पैताला तथा औंलाको आकार सानो होस भनेर बांधिन्थ्यो।जस्ले चेली हिंडडुल गर्नै कठिन हुने गर्दथ्यो।उनिहरुको रुढीबादी परम्परा अनुसार जमिनमा टेक्ने खुट्टाको आकार जति सांघुरो भयो,टेक्न जति कष्ट भयो त्यति चेलिको भाग्य राम्रो हुने र दुलहा राम्रो पाइने बिश्वास चिनका नारिमा स्थापित थियो।यस्लाई कोरिया भासामा  छन्जोक  भनेर जान्न सकिन्छ।नारिले भोगेको यो  पिडाको सिलसिला हजारौं बर्षसम्म चलिरह्यो।सन १९११ मा चिनमा जिनहाइ क्रान्ती आयो।तब  क्रान्तिको बिजय पश्चात यो कुप्रथा समाप्त भएर गएको थियो भनेर जान्न सकिन्छ।

पट्टीले बांधेर खुट्टा सानो बनाइएको चिनको नारी दमनको छन्जोक प्रथा
१९४७ पछि दक्षिण कोरियन नारिको अवस्था 
अमेरिका गएर  अंग्रेजी माध्यम बाट जनताको लोकतन्त्र तथा राजनिती शास्त्रमा पि.यच.डि.गरेका ईसुङ मान सन १९४८ मा पहिलो रास्ट्रपति भए।उनले पहिलो काम जनता (नारी पुरुष )सबैले अनिवार्य रुपमा पढ्नु पर्ने नियम नै बसाले।नि.मा.बि. तह सम्मको पढाइ अभिभावकले आफ्ना छोराछोरीलाई पढाउनै पर्ने कानुन बसाले।छोराछोरीहरु शिक्षित हुँदै गए।आफ्नो जीवन दर्शन गर्दै गए।नारिलाई पछाडि पारिएको कुरा बुझ्दै गए। नारि जब शिक्षित भए तब नारी अधिकारको लागि आवाज उठाउन थाले।नारी आन्दोलन हुन थाले।

नारिको नयाँ युग  सुरुवातको पहिलो घुम्ती 
सन २००५ मा दुई जना महिला रास्ट्रको शक्तिशाली पदमा पुग्न सफल भए। खाङ खुम सिल भन्ने महिला कानुन मन्त्री बनिन साथै छि उन हि भन्ने नारी  महिला मानवअधिकार मन्त्री बन्न सफल भइन।नारिहरुको  सशक्त आन्दोलनलाई  महिला मन्त्रीहरुको  सहयोग मिल्यो। नारिको यो अभियानको समुन्ने पुरै रास्ट्र झुक्न बाध्य भयो।जस्ले सन २००८ बाट नारी पुरुष दुबैको अधिकार संविधानको धारा बाटै बराबर स्थापित गरायो।पितृसत्तात्मक परम्परा पतन भएर गयो।शताब्दिऔ देखि कसैको अधिनमा रहेर जीवन बिताएका नारी जाती  शक्तिवान बन्न पुगे। स्वतन्त्र बनेर उड्ने दिन सुरु गराए।दक्षिण कोरिया अहिले संसारमा मानवअधिकार रास्ट्रको रुपमा चिनिन पुग्यो।कोरियाले  खुब प्रगती गरोस।हामी सबैको सुभकामना।

हाम्रो देश नेपाल 
आज भन्दा दुई सय बर्ष अगाडीको ईतिहास नेपाली  नारिको लागि एउटा अंधेरी रातको युग थियो।पतिको मृत्यु भएमा संगै चितामा गएर जल्नु पर्दथ्यो।तर  एक जना चेली  सति जान बाट रोकिइन।ती थिइन मुख्तियार भिमसेन थापाकी भतिजी तथा राजा रण बहादुर शाहकी कान्छी पत्नी ललितत्रीपुरसुन्दरी।इतिहासकार,जानकार,तथा साहित्यकारहरुका अनुसार ललितत्रीपुरसुन्दरीको दरबारको जिबन भएर पनि पढाई,लेखन कार्यमा खुब ध्यान दिएकी थिइन।शिक्षाको ज्योती कसैको घरको मझेरिमा नपुगेको त्यो बेला नारी शिक्षित हुनुपर्दछ भन्नेमा जोड दिएकी थिइन।खाने मुखलाई जुंगाले छेक्दैन भने झैं, आफू पनि पाठशाला नगएकी नारी ललितत्रीपुरसुन्दरी  दरबारमै कविहरु संग नजिक रहेर कखरा सिकेकी थिइन भन्ने कुरा  बुझ्न सकिन्छ।

उनले संस्कृतमा भएको महाभारतलाई नेपालिमा अनुवाद गरि "राजधर्म"का नाममा जनता समक्ष ल्याउन सफल भइन।कबिताहरु लेखेर नेपालको इतिहासमा प्रथम नारी कवयित्री बन्न सफल भइन।समाज सुधारक नारी ललितत्रीपुरसुन्दरिको देश बिकासमा ठूलो योगदान रहेको बुझ्न सकिन्छ। नारी स्रस्टा ललितत्रीपुरसुन्दरीलाई हाम्रो नमन। हामी पनि नारिलाई शिक्षा दिन सकौं।सचेत गराउन सकौं।नारिलाई आफ्नो खुट्टामा उभ्याउन सकौं।हाम्रो देशको संविधानको कुन धारामा नारिको हक र अधिकारको बारेमा लेखिएको छ त्यो जान्ने बनाउन सकौं। हरेक मातापिताको पहिलो कर्तव्य छोरिलाई शिक्षित बनाउनु हो। जुनदिन सारा नारी  शिक्षित हुने छन त्यो दिन सारा संसार नारिको सामुन्ने झुक्ने छ।हाम्रा नेपाली छोरिहरु स्वदेशमा नै मालिक बनुन। हामी सबैको कल्याण होस।अबको हाम्रो देश नेपालको पुस्ता कोहि पनि बिदेसिनु नपरोस।

कमेन्ट गर्नुहोस्