लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देश र एकता-टुट्दै जोडिदै

IMG
हाम्रो देशको नाम  सत्ययुगको सत्यवती,त्रेतायुगको तपोवन,द्वापरयुगको मुक्तिसोपानलाई एकैछिन थाती राखेर कलियुगको नेपाल नाम ईतिहासकारहरुको भनाई अनुसार हरेक कालखण्डमा "नेपाल" नै रहेको भनेर बुझ्न सकिन्छ। पौराणिक कथा स्कन्दपुराणमा होस,चाहे चाणक्यको अर्थशास्त्रमा होस हाम्रो देशको नाम नेपाल नै लेखिएको बुझ्न सकिन्छ।अझै २२ सय बर्ष पुरानो  लुम्बिनीमा सम्राट अशोकले खडा गरेको स्तम्भमा लेखिएको लेख" हिता बुद्दे जाते नेपाल "ले त झनै नेपालको परिचय दिएको छर्लङ्ग बुझ्न सकिन्छ।  तर संसारमा यस्ता देशहरु पनि छन, कि कहिँ भाषा नै लोप गराउन खोजेको तथा देशको नाम नै परिवर्तन गराएर राज्य गरेको पाइन्छ।आज यस्तै मध्यको देशको नाम नै परिवर्तन गरि शासन  चलेको अखण्ड कोरियाको इतिहासको पानोबाट। 

तत्कालिन अखण्ड कोरिया यस्तो देश हो, जस्को अंग्रेजी उच्चारणको  "corea " नामाकारण १२औं शताब्दी देखि मात्र सुरु भएको थियो।त्यो भन्दा अगाडि हरेक नयाँ शासकको शासनकालमा राज्यको नाम नै परिवर्तन गरेर  शासन गरेको पाइएको छ।लिखित ईतिहासको सुरुवात अथवा पहिलो शताब्दी देखि १०औं शताब्दीसम्म कोरियामा धेरै टुक्रे राज्य थिए।यी राज्य अलग-अलग नामले  बिभाजित भएर फरक फरक बंशका राजाले राज्य गर्दै आएका थिए।

-कोरियाका प्राचीन तथा मध्यकालिन राज्यको स्थापना काल तथा शासनकाल अबधी 
सिल्ला  (इसापुर्ब ५७ देखि इस्बि सम्बत ९३५ सम्म)
खोकुरय (इसापुर्ब ३७ देखि इस्वि सम्वत६६८ सम्म)
फेकजे  (इसापुर्ब १८ देखि इस्बि सम्बत ६६० सम्म)
खाया (सन ४३ देखि सन ५६२ सम्म)
फार हे  (सन ६९८ बाट सन ९२६ सम्म)
खोर्य (सन ९१८ बाट सन १३९२ सम्म) 
छोसन (सन १३९२ देखि सन १९१० सम्म)
  कोरियाका यी माथी लिखित राज्यहरु तत्कालीन समयमा भौगोलिक बनावटको आधारमा उत्तरमा हालको चिनको मन्चुरियाबाट दक्षिण फैलिएर रहेका थिए।यी राज्यहरुको स्थापना र राजाको राज्यरोहणसंग जोडिएका किम्बदन्तीको बिशेषता अझ सान्दर्भिक रहेको छ।

-धार्मिक सहिष्णुता संग जोडिएको रोचक किम्वदन्ती तथा बुद्ध धर्मको पहिलो कदम
 सन ३१ को कुरा हो, कोरियाको दक्षिणी भुभागमा पर्ने त्यतिबेलाको खाया राज्य ( अहिलेको किम हे सहर) मा कोहिपनि राजा थिएनन।त्यहीँका मानिसहरु मध्यबाट चुनिएका मुखियाले राज्य चलाउने गर्दथे।एकदिन खुजिबोङ भन्ने डांडामा सभा चलिरहेको थियो।अचानक आकाशवाणी भयो।"तिमिहरुको लागि राज्य चलाउने कुशल राजा मैले सुनको बाकसमा राखेर धर्तिमा पठाइदिने छु। तिमिहरुले त्यो बाकसलाई पुजेर वरपरबाट ताली बजाएर गीत गाउंदै नाच्दै गर्नुपर्ने छ। त्यसो गरेमा तिमीहरूलाई एकजना राजा मिल्ने छ"ती मानिसहरुले आकाशवाणिमा भनेजस्तै गरे।धर्तिमा झरेको सुनको बाकस अचानक खुल्यो।त्यो बाकसमा ६ वटा अन्डा थिए।ती मध्य पहिलो एउटा अन्डा फुट्यो अनि अन्डाबाट एक बालकको जन्म भयो।त्यो बालकको नाम ती मानिसहरुले किम सुरो भनेर राखे।अनि अन्डाबाट जन्मेको बालक किम सुरो खाया देशको राजा बन्न पुगे।बांकी ५वटा अन्डाबाट निस्केका बालक पनि त्यहीँका राजा भए भनेर भनिएको छ।

-अन्डा बाट जन्मेको खाया राज्यको किम सुरो राजाको बिबाह अयोध्याकी राजकुमारी संग
सन ४३ को कुरा हो भारतको अयोध्यामा त्यतिबेला राज्य गर्ने राजाले राती सुत्ने बेलामा एउटा सपना देखेछन।"तिम्री पुत्री श्रीरत्ना अब ठुली भएकी छिन।कन्यालाई चाहिने वर समुन्द्र पारिको देश खाया राज्यमा किम सुरो भन्ने बालक जन्मेको छ।तिम्री कन्यलाई उतै खाया राज्यमा पठाइदिनु"राजालाई सपनामा यस्तो आएपछी भोलिपल्ट बिहान आफ्नी छोरि श्रीरत्नालाई सुनाएछन।छोरी पिताको सपना सुनेर खाया राज्य जान मन्जुर भईछन।अनि ती राजाले भनेछन"छोरी तिमिले यहाँबाट गौतम बुद्धको सन्देश,साथै तिम्रो दाईलाई बुद्ध धर्म प्रचारकको रुपमा लिएर जानू।त्यहाँ गएर बुद्ध धर्मको खुब प्रचार गर्नु भनेर भनेछन।अनि सोही अनुसार छोरी श्रीरत्नाले आफ्नो दाजु,अनि अरु बुद्धको अनुयायीहरु लिएर हाम्रो देश नेपालको बाटो भएर हिमाल पार गरि कोरियाको खाया राज्यमा आइपुगिछन।अनि पिताको सपना अनुसार खाया राज्यका राजा किम सुरोलाई भेटेर बिबाह गरिछन।कोशेलिको रुपमा ल्याएको बुद्ध धर्मलाई पनि ती राजाले खुब सम्मान सत्कार गरि स्वागत गरेछन।यहि  दिन कोरियामा बुद्ध धर्मले कदम राखेको थियो।

-कोरियाका टुक्रे राज्यलाई एकीकरण गर्ने रास्ट्र नायक वाङ्गन
सन ९१८ मा एकजना कुशल तथा चलाख राजाको आगमन भयो।अनि यी राजाले  सम्पूर्ण  टुक्रे राज्यलाई एकीकरण गरेर एउटा सिङ्गो राज्यको स्थापना गर्ने सोच बनाए।ती राजाको नाम थियो "वाङ्गन"।ती वाङ्गन राजाले अलग अलग नामका सम्पूर्ण टुक्रे राज्यहरुलाई  एकिकरण गरेर सन ९४३ सम्ममा एउटा सिङ्गो अखण्ड राज्यको स्थापना गरेका थिए। एकीकरण पश्चात् त्यो विशाल राज्यलाई  "खोर्य" नामाकरण गरियो।(जुन पछि गएर यहि खोर्य "कोरिया"नाम द्वारा चिनिन थालेको हो)।साथै आजको कोरियाको स्वरुप (उत्तर तथा दक्षिण कोरिया सहितको) यिनै राजा वाङ्गनले बनाएका थिए।जस्लाई कोरिया एकीकरणको पिताको रुपमा पनि लिइन्छ।

 पहिला पहिला राजा महाराजाहरुले धेरै पत्निहरु जोडेको कुरा हाम्रो देशको इतिहासमा पनि पाइन्छ।बहुविवाह मात्र कहाँ हो र हाम्रो देश नेपालमा त बालविवाह पनि चरम सिमामा पुगेको अवस्था थियो।कोरियामा पनि  राजाका पत्निहरु औसत तीन जना भएको पाइएको छ।तर यी वाङ्गन राजाका पत्नी भने २९वटि थिए। टुक्रे राज्यको राजाहरुलाई हराएर नै एकीकरण गरेकोले पुनः ती राजाहरुले आक्रमण गर्ने हुनकी भन्ने डर उनमा पैदा भएको थियो।त्यही त्रासले  अरुले नयां राज्य बनाउन नपाउन भनेर चारै दिशामा पुगेर  उच्च कुलघरानाका छोरिहरु बिबाह गरेको भन्ने कुरा इतिहास बाट बुझ्न सकिन्छ।विडम्बना यो लामो समय टिकेन। यी कोरियन राजा वाङ्गनको देहान्त  पस्चात कोरिया भरी छरिएर रहेका उनका सन्तान तथा चौतारियाहरुमा मतभेद उत्पन्न  हुन थाल्यो।फेरि खोर्य राज्यको पतन भयो।अनि सन १३९२ मा अर्को राजाले राज्यरोहण गरेर देशको नाम छोसन राखे।छोसन राज्यको राजधानी हान याङलाई बनाए। यो छोसन राज्य पनि सन १९१० मा जापानको आगमन पश्चात् समाप्त भएर गयो। कोरियाको मोनार्की शासन समाप्त भयो।साथै यो छोसनको राजधानी हान याङ सन १९४५ बाट दक्षिण कोरियाको राजधानी सऊल बनेर परिबर्तित भएको हो।

-अब कोरिया नामाकरणको रोचक प्रसंग
सन ९१८ मा जब ती वाङगन राजाले एकीकरण पस्चात देशको नाम "खोर्य" राखे।तब सन १२०० मा खोर्य राज्यको उत्तरी भुभाग अहिलेको उत्तर कोरियामा पर्ने फ्यक नान्दो भन्ने ठाउँ अन्तर्राष्ट्रिय ब्यापारिक केन्द्र  हुने गर्दथ्यो।त्यहाँ रसिया,चीन,जापान,साउदीअरब बाट ठुला ठुला साहु महाजन,ब्यापारीहरु आएर ब्यापार गर्ने तथा समान साटासाट गर्ने गर्दथे।रसिया,चीन,जापानका ब्यापारीहरुले  देशको नामलाई "खोर्य" भनेर सजिलै उचारण गर्न सक्दथे।तर साउदी अरबका मानिसहरुले "खोर्य"लाई जस्ताको तस्तै "खोर्य" भनेर उचारण गर्न सकेनन।उनिहरुले खोर्यलाई "कोरे"भनेर उचारण गरेछन। साउदी अरब फर्के पछि खोर्य राज्यलाई "कोरे"देश भनेर प्रचारप्रसार गरेछन।तत्पश्चात कोरे शब्द युरोप तिर "कोरे" बनेर फैलिदै गएछ।अनि युरोपियनहरुले पुर्बमा एउटा टापुको देश "कोरे" भन्ने छ रे भनेर फैलाएका थिए। युरोपियनले  खोर्यलाई core लेख्न थालेछन।समयसंगै पछि  core मा अंग्रेजिको a अक्षर थपेर corea नामाकरण गरिएको भनेर भनिएको छ।

-अंग्रेजी नामको corea बाट korea मा परिवर्तन
कहिले देशको नाम परिवर्तन त कहिले नामको अक्षर नै परिवर्तन भएको यो देशमा कोरियालाई अंग्रेजिको (c )बाट corea धेरै पछिसम्म प्रयोग गरियो। हाम्रो देश नेपालमा अहिले लाखौं दाजुभाइ दिदिबहिनीहरुले कोरिया भाषा पढ्नु भएको छ। अंग्रेजीको  नाम corea लाई  जापानले c हटाएर आफ्नो देशको अल्फाबेट j  पछि आउने k बाट korea बनाइदिएको हो भनेर सुन्नमा पाइन्छ।यो सत्य नभएको कुरा हो। इन हादे बिश्वबिधालयका प्रोफेसर तथा इतिहासकार इ यङ होको भनाई अनुसार " जापानको  पुस्तकहरुमा कहिंपनि k अक्षर बाट korea  नभएको र c बाट नै corea भएको भेटिएको छ।साथै जापानले c हटाएर k बनाएको भन्ने साबित नभएको कुरा हो।नामको अक्षर संग असन्तुष्ट भएको प्रमाण जापानी दस्तावेजमा कहिँ  भेटिएको छैन। यसर्थ जापानले गर्दा corea बाट  korea बनेको भन्ने कुरा गलत हो। " भनेर भनेका छ्न।कोरिया भाषा पढ्ने हाम्रो नेपाली दाजुभाईहरुलाई भ्रम नहोस।

-k बाट korea भएको बास्तबिकता 
 सन १८८७  मा कोरियाले अमेरिकासंग एउटा सन्धी गरेको थियो।त्यो सन्धीमा अमेरिकाले c बाट नभइ  k बाट korea लेखि सन्धीपत्र मा हस्ताक्षर गराएको थियो।अंग्रेजीमा तथा अमेरिका संग गरेको त्यो पहिलो सन्धिपत्र जस्ले  k बाट Korea लेख्न सुरु गरायो भनेर भनिएको छ।जुन आज सम्म कायम छ।हामी पनि कामना गरौं अब  उप्रान्त कोरिया देशको नाम सदा "कोरिया" नै रहोस नाम परिवर्तन नहोस।कुनै वैदेशिक शक्तिले यो कोरियालाई हस्तक्षेप नगरोस।ठुला रास्ट्रहरुले आफ्नो फाइदाको लागि  उत्तर र दक्षिण भनी टुक्र्याइदिएको कोरिया शान्ती तबर बाट एकीकरण भएर पुनः अखण्ड कोरिया बनोस हामी सबैको  सुभकामना।

हाम्रो देश नेपाल
हाम्रो देश नेपाल प्राचीन खस,किरांत तथा लिच्छविकाल पछि ५३ टुक्रामा  टुक्रिएको थियो।टुक्रे राज्यहरुले नेपाल अधिराज्य भित्र आ-आफ्नो राज्यमा रहेर राज्य गरे तर देशको नाम नेपाल संग कुनै आंच आएन।यथावत नेपाल नाम  रहिरह्यो।पछि तत्कालीन राजा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले एकीकरणको जग बसालेर आजको स्वरुपको देश नेपाल बन्न पुग्यो। त्यसैले हाम्रो देश शिरोमणि बाबुराम आचार्यले नामाकरण गरेको अग्लो चुचुरो सगरमाथाको देश नेपाल। हाम्रो देश बुद्द भगवानको देश नेपाल। हाम्रो देश कहिल्यै सुर्य नअस्ताउने देश बेलायतलाई हराएर वीर गोर्खालीको बहादुरिताले सम्मान प्राप्त देश नेपाल।हाम्रो देश लिम्बुको धान नाच,शेर्पाको शेर्पा नाच,नेवारको लाखेनाच,गुरुङको रोधी नाचको देश नेपाल।हाम्रो देश १२धर्म १२६भाषाको देश नेपाल।चाहे हिमाल,चाहे पहाड,चाहे तराई सबैको एकमुष्ट देश नेपाल।फरक फरक जाती र संस्कृतिको पहिचान बोकेको हाम्रो देश नेपाल।हरेक अस्तित्व र बिचारको सम्मान गर्ने हाम्रो देश नेपाल।यो स्वर्गको देश नेपालमा जन्मेका सारा भाग्यमानी हामी नेपाली। बिदेशमा भएका सम्पुर्ण हामि नेपाली स्वदेशमा नै गास,बास,कपासको ब्यबस्था गर्न सक्ने दिन आओस।खुब मेहनेतले पढेका,पढ्दै गरेका,साथै पढेर बिदेश पलायन भएका सम्पूर्ण नेपाली भाइ छोराछोरीहरु नेपालमा नै रहेर आफ्नो हस्ताक्षर चल्ने दिन आओस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेसिनु नपरोस।हामी सबैको कल्याण होस।

बिक्रम थापा (हाल दक्षिण कोरिया)

कमेन्ट गर्नुहोस्