लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शान्ति नमुनाले सप्ताहव्यापी रुपमा वार्षिकोत्सव धुमधाम मनाउने

IMG

तिलोत्तमा २०७७ माघ २८। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले सप्ताहव्यापी कार्यक्रम गरी ६२ औं वार्षिक उत्सव तथा अभिावक दिवस मनाउने भएको छ । विद्यालयमा बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराईए अनुसार विद्यालयले माघ २९ गते जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।


जसमा प्रथम हुने सहभागीलाई ७ हजार ५ सय, द्वितीय हुनेलाई ५ हजार, तृतीय हुनेलाई ३ हजार र प्रोत्साहन स्थानका लागि १ हजार, प्रमाणपत्र र मेडल प्रदान गरिने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जानकारी दिए । वि.सं. २०७४ सालदेखि नगरस्तरीय प्रतियोगिता गर्दै आईएकोमा गत वर्षदेखि यसको दायरा बढाएर जिल्ला स्तरीय बनाईएको र यस वर्ष करीव ५० विद्यालय सहभागी हुने अपेक्षा गरिएको हाजिरी जवाफ संयोजक मोहन पौड्यालले बताए । यसैगरी विद्यार्थीहरुको सीप र क्षमतालाई बढाबा दिनका लागि सोही दिन खाना महोत्सव र हस्तकला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ ।



यस्तै माघ ३० गते दृष्टिविहीन विद्यार्थीहरुको क्रिकेट तथा अन्य खेलकुदका फाईनल खेलहरु, फागुन २ गते सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम, विद्यार्थीको पढाइ सीपलाई उजागर गर्न अभिभावकको सहभागितामा पढाइ महोत्सव तथा विद्यार्थीहरुद्वारा निर्मित विज्ञानका सामाग्रीको प्रर्दशनी आयोजना गरिेएको विद्यालयले जनाएको छ । यसैगरी फागुन ३ गते पुरस्कार वितरण, फागुन ४ गते वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल समारोह सांस्कृतिक तथा रचनात्मक क्रियाकलापका साथ मनाउने कार्यक्रम छ । सोही अवसरमा दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, ८ कोठे विद्यालय भवनको सिलान्यास तथा विद्यालयको मुखपत्र नानीको विमोचन लगायतका कार्यक्रम गरिने छ ।




विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सह–प्रधानाध्यापक किशोर कुमार खनाल, सञ्चार विभागका संयोजक दिनेश खड्का लगायतले बोल्दै विद्यालयले सञ्चालन गर्ने क्रियाकलापका सम्बन्धमा जानकारी गराए । यसैबीच,माघ १९ गतेदेखि चरणबद्ध रुपमा खेलकुदका कार्यक्रमहरु भैरहेकोमा बुधबार भएको खेलहरुका विजेताहरुलाई विद्यालयका सल्लाहकार सदस्य किशोरमणि आचार्य दीक्षित, व्यवस्थापन समिति सदस्य सुरेन्द्र के.सी., विद्यालयका सह–प्रधानाध्यापक स्थानेश्वर बस्याल लगायतले पुरस्कार वितरण गरेका थिए।


विद्यालयले खेल, नृत्य, हाजिरीजवाफ , साहित्यिक, बाल क्लव, जुनियर रेडक्रस सर्कल, अनुशासन क्लव, विज्ञान क्लव, भित्ते पत्रिका समिति, आई.एस.ए., एस. क्यू.सी., स्माईलिङ् हेल्पिङ् क्लव आदि गठन गरेर त्यस मार्फत विद्यार्थीको अन्तर्निहित प्रतिभाको विकास गर्ने गरेको छ । हाल विद्यालयमा विभिन्न क्षेत्रका गरी करीव ३६ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।

कमेन्ट गर्नुहोस्