लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

व्यबस्था फेरियो, तर ब्यबस्थापन फ़ेरिएन !!

IMG
 पहिला पहिला रेडियो नेपालबाट हरेक शनिबार दिनभरी मनोरञ्जनात्मक कार्यक्रमहरु आउने गर्दथे।एभरेडी ब्याट्रीको शक्ति सकिएमा ब्याट्रीलाई आंसीले (हंसिया) ठोकेर ब्याट्रीमा पुनः शक्ति चार्ज गरि रेडियो बजाउने गरिन्थ्यो।  बिक्रम सम्बत २०४६ सालमा देशमा  प्रजातन्त्र  पुनःस्थापना पछि  आमनिर्वाचन भयो। जनताको बिश्वास जितेर चुनाव जितेका सज्जन मानव "जनप्रतिनिधि"  बनेर राजधानी पुगे।त्यो बेला बेलुका रेडियोमा  सांसद फोन-इन कार्यक्रम आउने गर्दथ्यो।त्यो कार्यक्रममा क्याम्पस पढन गएका विद्यार्थी दाजुहरुले सांसदहरूसंग पंचायतको समाप्त पस्चात  देशमा बहुदलिय प्रजातन्त्र पुनःस्थापन  साथै जनताका मौलिक हक र अधिकारको  बारेमा प्रश्न सोध्ने गर्नुहुन्थ्यो।सांसदको त्यो आश्वासनजनक उत्तर "हामी तपाईंहरुकै जिबनस्तर माथी उठाउन  सांसद भएका हौं"भन्ने सुन्दा  होकि क्याहो जस्तो लाग्दथ्यो।प्रजातन्त्र त हाम्रो लेउ लागेको आंगनको लागि,लिखा जुम्रा भएको कपडा फेर्न रहेछ कि  क्याहो जस्तो लाग्दथ्यो।जुनकिरिको उज्यालोमा रात बिताएका हामी कृषिमा नयां प्रविधि भित्रिने होकि भन्ने आशाले अनुहारमा धपधपी उज्यालोको चमक चम्किने गर्दथ्यो।

दक्षिण कोरियालाई अहिले  मानवअधिकार सम्पन्न रास्ट्रको रुपमा लिइन्छ।संसारमा अब्बल दर्जामा फुलिरहेको दक्षिण कोरियालाई हेर्दा  यो देशमा पनि पहिला निरंकुश शासन थियो र जस्तो लाग्ने गर्दछ।हजुर पक्कै थियो।हाम्रो देश नेपालको भन्दा पनि सयौं गुना पिडादायी निरंकुश शासन थियो।कोरियाको इतिहासको यस्तो पानो छैन होला जस्मा कोरियाका  सोझा जनताहरुको  रगतको छिटा  नपोतिएको होस।कोरियाको त्यो निरंकुश शासनको पतन कसरी र कहिले भयो,निरंकुश शासन पतन गराउने को थिए।रोचक प्रसंगको सेरोफेरो तलको लेखबाट

कोरियको पहिलो संविधान र लोकतान्त्रिक रास्ट्रपति 
    कोरियामा सन १९४५ सम्म जापानले शासन  गरेको हुनाले त्यतिबेला सम्म कुनै पार्टी,दल,या संगठन यो देशमा थिएनन।जापान ले छोडेर गए पछि अखण्ड कोरिया दुई भागमा बिभाजन भइ उत्तर कोरिया र दक्षिण कोरिया बन्न पुगे।तत्पश्चात सन १९४७ मा दक्षिण  कोरियाको इतिहासमा पहिलो पटक संविधान बन्यो।संविधानमा रास्ट्रपतिको कार्यकाल ४ बर्ष तोकेर जनताको सर्वसम्मति बाट  पहिलो दक्षिण कोरियालि रास्ट्रपतिमा इ सुङ मान भन्ने ब्यक्ती चुनिन पुगे।यी रास्ट्रपतिले कार्यभार संम्हालेको दुई बर्ष नपुग्दै सन १९५० मा उत्तर कोरिया संग युद्द खेप्नु पर्यो।जनताले पुजेर कुर्सीमा बसालेका रास्ट्रपति इ सुङ मानलाई समय बित्दै गए पछि कुर्सिको आनन्द खुब आएछ कि के हो युद्धको कारण देशमा बिकासको कार्य गर्न नपाएको भन्दै संविधानमा भएको धारा नै परिवर्तन गरेर जनता द्वारा भोट हाली चुनाव गर्न पाउने प्रत्यक्ष चुनाव प्रणाली संशोधन गराए। प्रजातन्त्रको स्वाद नचाखेका सोझा जनताले  होलातनी भनेर दोस्रो पटक सन १९५२ मा पनि  पुनः  यिनै इ सुङ मानलाई जिताएर  रास्ट्रपति बनाए।

समय बित्दै गयो सत्ता र कुर्सिको मोह बढदै गयो।रास्ट्रपतिमा अहम बढ्दै गयो। संबिधानमा दुई पटक भन्दा बढी रास्ट्रपति हुन नपाउने प्रावधान भएता पनि यी रास्ट्रपतिले संबिधानको उलंघन गर्दै प्रत्यक्ष चुनाव प्रणाली खारेज गरेर संविधान सदस्य बाट मनोनीत हुने र पटक पटक रास्ट्रपति हुन पाउने धाराको संशोधन गरे।तेस्रो पटक पनि यिनै इ सुङ मान रास्ट्रपति बने।सन १९६०को मार्च १५मा कोरियाका रास्ट्रपतिले राज्य शक्तीको दुरुपयोग गर्दै सैनिक शासन तथा कर्फ्यु लगाइ धांधली चुनाव गराएर चौंथो पटक पनि आफै रास्ट्रपति बने।

कोरियाको अभुतपुर्ब पहिलो बिद्यार्थी जनाअन्दोलन(१९६०)
    कोरियाका रास्ट्रपतिले लगातार निरंकुश शासन चलाएको हुनाले सन १९६० को अप्रिल ११मा तानाशाह रास्ट्रपति देश छोड", "पुनः निर्वाचन गरा"का नारा लगाउदै कोरियाका विद्यार्थीहरुले आन्दोलन सुरु गरे।कोरियाको मासान भन्ने सहर बाट उत्पन्न भएको त्यो विद्यार्थी आन्दोलन केही दिनमै रास्ट्रब्यापी आन्दोलनमा परिणत हुन पुग्यो।विद्यार्थी आन्दोलन लाई दबाउन देशमा सैनिक परिचालित गरियो।विद्यार्थीहरु माथी खुलेआम गोलि ठोक्ने आदेस दिइयो। दुई सय जना भन्दा बढी विद्यार्थीले ज्यान गुमाए।६हजार जना भन्दा बढी घाइते भए। सरकारको दमन नरोकिए पछि देशभरिका स्कुल,क्याम्पसका शिक्षक प्रोफेसरहरुले विद्यार्थीलाई साथ दिन मैदानमा उत्रिए। सन १९६० को अप्रिल २६ तारिखका दिन रास्ट्रपतिले आत्मसमर्पण गर्न बाध्य भए।लगातार  १२ बर्ष सम्मको त्यो कोरियाको तानाशाह समाप्त भएर गयो।रास्ट्रपतिलाई देश निकाला गरियो।यो कोरियाको पहिलो बिद्यार्थी आन्दोलन थियो।जुन संसारमा टर्की पछिको सफल बिद्यार्थी आन्दोलनको रुपमा दर्ता हुन पुग्यो।

निरंकुशताको दोश्रो शृङ्खला  
   बिडम्वन तानाशाह शासकलाई देश निकाला गराए पनि फेरि अर्को  तानाशाह को जन्म भयो।सन १९६३ मा फाक चङ ही भन्ने सेनाका जनरलले सैनिक शासन लगाएर आफू रास्ट्रपति बन्न पुगे।यिनको शासन कालमा पनि पटक पटक संबिधान को हत्या गर्दै सुधार्दै कुर्सीमा बसिरहे।सन १९७९ मा अचानक यिनको हत्या भयो।लगातार १६बर्ष यिनको शासन चल्यो।हत्या भइ मरेका यि रास्ट्रपति तानाशाह नै भए पनि देश बिकास भने सतप्रतिशत गरिदिएका थिए।जस्को श्रेय  यिनै फाक चङ लाई दिइएको छ।रास्ट्रपतिको हत्या पस्चात जनतामा फेरि आशाको टुसा पलाएर आयो। "अब त राज्यमा लोकतन्त्र आउने छ। हाम्रो हातले भोट हालेर राष्ट्रपति चुन्न पाइने छ। देश तानाशाहबाट मुक्त हुनेछ भन्ने सोचेका थिए। जनताले जे सोचेका थिए त्यस्को फेरि पनि उल्टो नै हुन पुग्यो।"

तानाशाहको तेस्रो तथा अन्तिम शृङ्खला 
  फाक चङ हि रास्ट्रपतिको मृत्यु पश्चात् छोए क्युह्वा भन्ने दशौं रास्ट्रपति भएका थिए।बिचारा यिनको कार्यकाल 8 महिना पनि नहुंदै  अर्का निरंकुश  जनरल छन दु ह्वान भन्नेले बिचैमा तुहाइदिए अनि   सैनिक शासन लगाएर जनतालाई निरंकुशताको भुमरिमा राखि आफू तानाशाह रास्ट्रपति बन्न पुगे।

सन १९८० मे १८ को भीषण क्रान्ती
 तानाशाह रास्ट्रपति को बिरोधमा निरंकुश ब्यवस्था हटाउन विद्यार्थीहरुले आन्दोलन सुरु गरे।आन्दोलन देशै भरी फैलियो।रास्ट्रपतिले जनतालाई दमन गर्न कर्फ्यु जारी गराए।देशभरी संकटकाल लगाइ एउटा जिल्ला बाट अर्को जिल्लामा जान बन्देज लगाइयो।शहरहरुमा अन्धाधुन्ध गोलि चलाइयो ।फेरि सयौं सर्वसाधरण जनता तथा विद्यार्थीले ज्यान गुमाए।तर यो अन्दोलन बाट देशमा कुनै परिवर्तन आउन सकेन।अकर्मण्य,अयोग्य शासाक चाहिं सैनिकको साहारामा कुर्सी मै रहि रह्यो।यति ठूलो आन्दोलन भयो।तर कोहि पत्रकार ले भाग लिन पाएनन।न कुनै मिडिया न कुनै रेकर्ड,प्रमाण बिना नै यो आन्दोलन कहिँ  कसैलाई थाहा नहुने गरि सदाको लागि तानाशाह शासनले  दफन गराइदियो।तर  त्यस्तो भने भएको थिएन।

सरकारको भ्रमको प्रदाफाश बिदेशी पत्रकार बाट।
“निलो आंखाको चश्मदीद गवाह”
भनिन्छ जस्को कोहि हुँदैन त्यस्को साहरा भगवान हुन्छन।जुर्गेन हिन्जपेटर (jurgen hinzpeter)भन्ने त्यतिबेलाका जर्मनी मिडियाकर्मी थिय।उनी जर्मनको ARD भन्ने टेलिभिजनका अति बिशिस्ट संवाददाता थिय।उनले जापान बाट संवाददाताको रुपमा आफ्नो देश जर्मनीमा समचार सम्प्रेषण गर्ने काम गर्दथे।त्यतिबेला दक्षिण कोरियामा सैनिक दमन तथा कर्फ्यु लागेको भन्ने खबर जापानमा पुगेछ।अनि  तत्काल उनी आफ्नो क्यामारा बोकेर खबर संकलन गर्न कोरिया आइपुगेछन।कोरियाको बिमानस्थल बाट कर्फ्यु लागेको  शहर लाग्दा बिच बाटोमा यिनलाई कोरियन सैनिकहरुले अगाडि जान दिएनन। वापस जान भनेछन।तर ती पत्रकारले आफ्नो क्यामरा लुकाएर आफू पत्रकार नभएको र कुनै सर्वेक्षणको लागि आएको भनेर बिन्ती गरेछन।तर पनि अनुमती न पाए पछि उनी फर्केर केही मिटर पछाडी बाट अर्को भित्री बाटो प्रयोग गरि  आन्दोलन भएको  शहरमा छिर्न सफल भएछन।त्यो शहरको नाम छल्ला नाम दो ख्वाङ्ग्जु  हो जहाँ आन्दोलन भएको थियो।उनले गोप्य तवरबाट त्यहांको अवस्थालाई भिडियो द्वारा आफ्नो क्यामारामा कैद गरेछन।

कोरियाको आन्दोलनको समयमा जनतालाई सैनिकले गरेको चरम यातनाको त्यो दर्दनाक दृश्यहरु तीन दिन सम्म आफ्नो  भिडियोमा कैद गरेर उनी कोरियाली सैनिक चेकजांच बाट बंचेर निस्कन सफल भई जापान आएर जापान बाट त्यो घटना तुरुन्त आफ्नो देश जर्मनिमा पठाएछन।दक्षिण कोरियाको सैनिकहरुले आफ्नो  देशको निर्दोष जनतालाई गरेको चरम यातना तथा दर्दनाक घटनाको दृश्य जर्मनिको टेलिभिजन बाट प्रशारण हुन सफल भयो।सारा जर्मनी मात्र नभई अमेरिका,युरोपका संवाददाताहरुले पनि यो समचार सेयर गरेर संसारमा फैलाइदिए।कोरियाको सैनिक अत्याचार तथा तत्कालीन रास्ट्रपतिको घोर निन्दा संसार भरी भएछ।कोरियाको ख्वाङ्ग जु सहरमा घटेको त्यो घटना स्वयं  कोरियनहरुले थाहा पाउन नसकेको घटना थियो।तर एउटा पत्रकार त्यो पनि बिदेशीको सहासी कार्यद्वारा सारा संसारभरी कोरियाको घटना फैलाउन सफल भए।

एक पछि अर्को गर्दै त्यो खबर ७ बर्ष पछि कोरिया नै फर्केर पुनः  देशभरि फैलियो।कोरियाका हरेक जनताको कान कानमा त्यो घटना गुन्जियो भने आफ्नो आंखाको सामुन्ने भिडियो द्वारा देख्न सफल भए। कोरियाका जनतामा तत्कालिन शासक प्रती फेरि घृणाको भावना हुन थाल्यो।तत्कालिन तानाशाह रास्ट्रपतिलाई राजिनामा र प्रत्यक्ष जनताको भोट द्वारा रास्ट्रपति चुन्न पाउने माग गर्दै १९८७ को जुन महिनामा फेरि निर्णायक आन्दोलन सुरु भयो।यो आन्दोलनमा देशका १० लाख मानिसहरुले भाग लिए।संसारमा फैलिएको आफ्नो गल्तीको  घटनाले कमजोर बनेको रास्ट्रपति जनताको अगाडि  आत्मसमर्पण गरेर राजिनामा दिन बाध्य भयो।एउटा बिदेशी पत्रकारको कारण कोरियाको तानाशाह शासन सदाको लागि समाप्त भएर गयो।यो आन्दोलनको फलस्वरूप कोरियामा लोकतान्त्रिक शासन पद्धति आरम्भ  हुन पुग्यो।यहाँनेर स्मरणीय कुरा के छ भने सन १९४८ देखि सन १९८७को बिचमा भएका कोरियन रास्ट्रपतिहरु एकअर्कामा परिचित साथिहरु थिए भने सत्ता शक्तिको लागि ९ पटक सम्म संविधान संशोधन गराइएको थियो।

अहिले यो देशमा हरेक ५ बर्ष मा जनताको मत द्वारा चुनिएका ब्यक्ती रास्ट्रपति हुने प्रक्रिया स्थापित भएको छ।जनताको हक र अधिकार सुनिश्चित भएको छ।सन १९८७ को क्रान्ती नै यो देशको अन्तिम क्रान्ती बन्न पुग्यो जस्ले आज  मानवाधिकार सम्पन्न रास्ट्र कोरिया बनायो।निरंकुश शासन को समाप्त भएको मात्र ३४ बर्ष भित्रमा कोरिया आज यति बिकसित रास्ट्रमा सिखर चुम्न सफल भयो।
यो देशको अझ प्रगती होस हाम्रो सुभकामना।।

हाम्रो देश नेपालमा
  प्रजातन्त्रको लागि हाम्रा पुर्खाहरुले पनि इतिहासका विभिन्न कालखण्डमा धेरै संघर्ष गरे।जालझेल र हत्याको आड लिएर शक्ति प्राप्त गरेको १०४ बर्षीय पारिवारिक शासनलाई आफुहरु शुलिमै झुन्डिएर भए पनि देशमा प्रजातन्त्र जन्माइदिए।कहिले जनआन्दोलन,कहिले लोकतन्त्र भन्दै संघर्ष गरेर  हामिलाइ प्रजातन्त्र खुल्ला आकाशको हावा जस्तै बनाइदिए।अहिले हामीले पनि हाम्रो संविधान आंफै बनाउने भनेर संविधान सभाको चुनाव सम्पन्न गरि संविधान पनि जन्मायौं।संबिधानमै धेरैभाषा,जाती,संस्कृति,धर्म भएको देशको रुपमा प्रमाणित पनि गर्यौं।यसैको बदौलत  त हामिलाई अझ सार्बभौम बनाइदियो नि।हामी हाम्रो देशका ती वीर सपुतहरुको सम्मान र सम्झनामा सदा शिर निहुर्याउदछौं।निहुर्याउने छौं।

अब हाम्रो देश नेपालमा पनि राजनितिक स्थिरता भएको होस।औधोगिक,कृषि तथा शिक्षामा क्रान्ति आएको देख्न पाइयोस।हामी साराले न्यायको अनुभूति गर्न सक्ने देश नेपाल बनेको होस।राजनिति गर्ने माननीय नेताहरु र कार्यकर्तामा नभई नहुने चिज "त्याग र समर्पण"अझ बढी  भएको होस।बिदेशी भुमिमा हुने सम्पूर्ण स्वदेश फर्केर परिवार संग रमाउन पाउने दिन आओस।नेपालबाट बिदेश पलायन हुन रोक लगाउने दिन आओस।अबको हाम्रो देश नेपालको पुस्ता कोहि पनि बिदेसिनु नपरोस।हामी सबैको कल्याण होस।

बिक्रम थापा (हाल दक्षिण कोरिया)

कमेन्ट गर्नुहोस्