
१८ माघ, तिलोत्तमा । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।
बर्डफ्लुको संक्रमण भएमा निमोनिया/रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाएका छन् ।बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग हो। यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, र्याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरा लगायतको सम्पर्कबाट सर्छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका कुखुरा र टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि २ हजार बढी पन्छी नष्ट गरिएको छ। यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो । पशु सेवा विभागले भारतबाट पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्धसमेत लगाएको छ । साभार अनलाइन खबर
कमेन्ट गर्नुहोस्