लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दक्षिण कोरिया, बिकाशको खुड्किलो : बिक्रम थापा

IMG

दक्षिण कोरिया भन्ने देश जहाँ हाम्रो देशको दाजुभाई दिदिबहिनीहरु ४९ हजारको हाराहारीमा कार्यरत हुनुहुन्छ।साथै हरेक बर्ष हाम्रो सुन्दर देश नेपाल बाट कोरियामा रोजगारी गर्न जानको लागि झन्डै ८०हजार जना दाजुभाई,दिदिबहिनीहरुले आबेदन फारम भर्नु हुन्छ। तर त्यो देशले पुरै संख्यामा निउतो दिन भने असमर्थ हुन्छ। ती मध्यबाट भाग्यमानी ५ अथबा ६ हजार जना मात्र कोरिया रोजगारीको लागि पाइला टेक्न पाउनुहुन्छ।त्यो पनि धेरै लामो समय इन्तजार गरेर मात्र सम्भव हुन सक्छ।यो बेरोजगारी समस्या  कोरियामा कुनैबेला हाम्रो देशको भन्दा पनि विकराल अवस्था बाट गुज्रिएको थियो।त्यही  कोरियाको ईतिहासको पानोको सेरोफेरो मा लेख्ने जमर्को गरेको छु।कोरियामा भएको भोकमरी, बेरोजगारी जस्ले  पुर्णरुपमा अन्त्य गरे र कोरिया देशलाई युरोपियन रास्ट्र संग तुलना गर्न सक्ने सक्षम देशमा दर्ता गर्न सफल भए।को थिय ती महान नेता,बिकासको ढोका कसरी खोलियो तलको लेख बाट सारांश प्रस्तुत गरिएको छ। 


हामी कतिले कोरियामा भोकमरी लाग्दा नेपालले चामल,गहुं पठाएको हो भनेर भन्ने पनि गर्दछौं।तर यो चाहिँ प्रमाणित नभएको तथ्य हो।हो त्यतिबेला कोरियाले संसारलाई गुहारेको थियो।(सन १९५६-१९६०),जतिबेला  ३९वटा देशले कोरियालाई रासन,खाद्यान्न सहयोग गरेका थिय।तर त्यो ३९वटा देशको सुचिमा हाम्रो देश नेपालको नाम भने दर्ता भएको छैन।त्यसैले हाम्रो देश नेपालले कोरियालाइ  सहयोग गरेको कुरा गर्न उपयुक्त नहोला।


 कोरियाका तत्कालीन रास्ट्रपति फाक चङ हि

(सैनिकको महासेनानी बाट रास्ट्रपति भएका सहासी ब्यक्ति )

यिनको पारिवारिक पृष्ठभुमिलाई खोदल्ने हो भने यिनी  पनि खरले छाएको बुकुरो घरमै जन्मिएका थिय।सालिम तथा सिरुपाते खरले नै छाएको घर थियो।कुखुराको फुल बेचेर,निबेक, ज्याला गरेरै भएपनी  मातापिताले उनलाई पढाएका थिय।यिनै फाक चङ हि भन्ने महान ब्यक्ति जस्ले आफ्नो देशको भोकमरी र देशको कठिन परिस्थितिलाई हटाउन सफल भए।जस्को कारण देशमा कृषि क्रान्ती आयो।दुरदराज गाउँ गाउँ भएका जनतालाई राहत, शिक्षा,रोजगारी दिलाउन सफल भए।कसरी सफल भए त? 


कोरियामा बिकासको सुरुवात 

देशमा बिकास गर्नको लागि पुंजिको आवस्यक पर्ने भएको र देशमा त्यो पुंजि नभएकोले यिनले देशमा पढेलेखेका युबाहरुलाई तत्कालिन पश्चिम जर्मनीमा रोजगार गर्न पठाउने निर्णय गरेछन।अनि देशमा भएका शिक्षित  युबतीहरुलाई  नर्सको रुपमा र पुरुषहरुलाई कोइलाखानिमा काम गर्न पठाएछन।


 सान्दर्भिक प्रसंग ,

मास्टर डिग्री पढेका शिक्षित कोरियन युवा,युवती जर्मनिमा काम गर्न जान पाउने भनेर पहिलो आबेदन सन १९६२ मा  खुल्ला गरियो।जर्मनी सरकारले त्यतिबेला मात्र ६०० जना कामदार मागेको थियो।तर त्यो  रोजगारिको लागि आबेदन दिने भनेर जम्मा भएका  दक्षिण कोरियाली युबा,युबतिहरु ४६ हजार  जना भेला भएका थिए।अन्ततः जर्मनिले कोरियाको त्यो दुखदायी अबस्था देखेर  ६ हजार जना कोरियन कामदार जर्मनी लिएर गएको थियो।अबस्था ठ्याक्कै हाम्रो देशको जस्तो थियो। जर्मनिमा त्यतिबेला कोरियन पढेलेखेका युबाले गर्ने काम एक किलोमीटर जमिनको तल गएर कोइला निकाल्न पर्ने  थियो भने,युबतिहरुको हकमा  नर्सको रुपमा भनेर लगिए पनि त्यहाँ उनिहरुले गर्ने काम भनेको वृद्धहरुको दिसापिसाब धुने र मरेको लास स्याहार्नु थियो। कोरियन कामदार जर्मनिमा काम गर्न गएको एक बर्ष पछि त्यो देशमा कोरियन कामदारले राम्रो काम गरेकोले जर्मनी सरकारले कोरियाका रास्ट्रपतिलाई भ्रमणको निम्तो दियो।कोरियन रास्ट्रपति फाक चङ हि जर्मनी भ्रमण गए।त्यहाँ गएर पहिलो भेट कोरियाका रास्ट्रपतिले आफ्नै देशका कामदारहरु संग गरेका थिए।कोरियन कामदारहरु बिदेशी बिरानो भुमिमा आफ्नो देशको रास्ट्रपति संग भेट्न पाउँदा आफ्ना मातापिताको दर्शन गरे जस्तो अभास भएको थियो ती कोरियनहरुलाई।बलिन्द्र आँसु झारेर सुक्क सुक्क गर्दै भक्कानिएर ती रास्ट्रपति संग अरु कुरा केही नबोली यसो भनेका थिए। "रास्ट्रपति ज्यु हामी यो अर्काको देशमा दमन सहेर बस्न चाहान्नौं।हामी कोरिया नै फर्केर केही गर्न चाहान्छौ। हामिलाई स्वदेस फिर्ता बोलाउनुहोस " आंसुले भिजेको अनुहार देख्दा  रास्ट्रपतिकी धर्मपत्नीको आँखा बाट पनि आंसुको भेल बगेको थियो।यो देखेर तत्कालिन रास्ट्रपति फाक चङ हि ले  त्यहीँबाट कसम खाएका थिय।उनिहरुलाई वचन दिएका थिय यसरी "केही बर्ष मात्र दुख गर्नुहोस म तपाइहरुलाई छिट्टै स्वदेस बोलाउने छु। मलाई केही समय दिनुहोस।तपाइहरुले गरेको यो योगदान आउने सन्ततिले भुल्ने छैनन।तपाइका छोराछोरी कोरियाको मालिक हुने छन बिदेसको श्रमिक हैन"।यति भनेर उनि स्वदेश फिर्ता भए।


अझ रोचक कुरा 

आफ्नो देशको बिमानस्थलमा आएर जर्मनी देश अनि यात्राको बारेमा सोधिएको पत्रकारहरुको प्रश्नमा उनले जवाफ दिए

"मैले जर्मनिका रास्ट्रपति हेन रिच लुप्के संग तिम्रो देशको बिकास देखाउ भनें,उनिहरुले त्यहाँको अटोबान भन्ने सुन्दर लोकमार्ग देखाए"

पत्रकाररुलाई उदाहरण दिंदै भने"म अब उप्रान्त हाम्रो देश कोरियाभरी  कालोपत्रेको बाटो,हरियाली बनजंगल,खेतीयोग्य जमिन हराभरा साथै जर्मनिमा काम गर्न गएकालाई स्वदेशमा जागिर दिन सक्ने नहुनेबेला सम्म युरोपको यात्रा गर्ने छैन"भनेर कसम खाएका थिए रे।जर्मनी गएर आफ्ना देशका कामदारहरुको अगाडि बोलेको त्यो बाचाको भाषण र कोरिया आएर पत्रकारहरुको अगाडि बोलेको प्रतिज्ञा  इतिहासमा एक नम्बरको भाषण बन्न पुग्यो।


बिकासको सुरुवात 

 १९७० मा रास्ट्रपतिले पहिलो सुरुवात गाउँ बाटै सुरु गर्नु पर्छ भनी  "नयाँ गाउँको बिकास "भन्ने अभियान चलाए।हरेक वडामा सिमेन्ट र रड  बितरण गराएर गांउको बाटो चाक्लो बनाएछन।सामुहिक पिउने पानीको  कुवा तयार गराएछन।सामुहिक लुगा धुने ठाउँ बनाएछन।घर घरमा छाउने खर उपलब्ध गराएछन।गाउँ गाउँमा खेतिको लागि मल सप्लाई गरेछन।गाउँ गाउँमा बिजुली पुर्याएछन।गांउ संग सहरको बाटो जोडेछन।

सबैले आ- आफ्नो योग्यताको आधारमा जागिर पाउने घोषण सहित जापानमा उच्च शिक्षा पढ्न गएका बिद्यार्थीहरुलाई  बोलाएर देश बिकासमा सहयोग गर्न आह्वान गरेछन।गाउंको बिकास संगै शहरमा कारखाना खोल्ने अभियान चलाएछन।शहरमा त्यतिबेला रेशमको खेती गरिन्थ्यो।रेशम खेती हटाएर अब ती ठाउँमा  कारखाना खोल्न सुरु गरियो। सन १९७४ सालको आगमन र  बिकासको लहर ह्वात्तै बढ्यो। दक्षिण कोरियाबाट बिदेशी भुमिमा थ्री डि काम गर्न जाने नियम बन्द गरियो।अब बिदेश हैन स्वदेशमा नै रोजगार उपलब्ध हुन थाल्यो।जर्मनी काम गर्न जाने प्रणाली कोरिया आफैले खारेज गर्न सफल भयो ।मात्र १२ बर्ष भित्रमा बिदेश काम गर्न जाने प्रक्रिया सदाको लागि बन्द हुन पुग्यो।सन १९६२देखि सन १९७४ सम्मको १२ बर्षकोअबधी कोरियाबाट कामदारको रुपमा बिदेस पलायन हुनु परेको दुखदायी दिनको रुपमा आज इतिहासको पानो बनेर रहन पुग्यो।हेर्दाहेर्दै सन १९९० पछि दक्षिण कोरियामा बिदेसी कामदार बोलाउनु पर्ने अबस्था सिर्जना भयो। नभन्दै हाम्रै देश नेपाल बाट कोरिया पठाउने तत्कालीन लुम्बिनि तथा मुनड्रप्स मेनपावर कम्पनी पनि जन्मिए। तत्पश्चात हाम्रो नेपाली दाजुभाइ कोरिया आउने पहिलो खुड्किलो बन्न पुग्यो।जुन अहिले सम्म निरन्तर चलिरहेको छ मेटिएको छैन।फाक चङ ही रास्ट्रपतिको कोरियाको बिकासको यो योगदान कोरियनहरुले जुगजुग भुल्ने छैनन।आउने प्रत्येक पिंढिले फाक चङ ही रास्ट्रपति सम्झने छन।


 हिजोको भोकमरि लागेको देश दक्षिण कोरिया आज प्रति व्यक्ती आय ३४ हजार डलरमा पुग्न सफल भएको छ।हिजो खाने रासनको लागि  सबै रास्ट्र संग गुहार मागेको देश दक्षिण कोरिया आज १६वटा देशहरुका लाखौं मानिसहरुलाई थ्री डि रोजगार दिन सफल भएको छ।हिजो सहयोग गरेका रस्ट्रहरुलाई आज सरकारी गैरसरकारी संस्था द्वार सारालाई सहयोग गर्ने एक दानी रास्ट्रको रुपमा ख्याति  कमाउन सफल भएको छ। हाम्रै देश नेपालमा कोरियन संस्था कोइका (koica)ले नेपालको ग्रामिण बिकास एबंम बिज्ञान र प्रविधि बिकासका परियोजनाहरु ल्याइरहेको छ।त्यतिमात्र हैन हाम्रै बुटवलको तामनगरमा "प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद (KNIT)को स्थापना पनि भएको सर्वविदित नै छ।यो देशको उन्नती प्रगती होस हाम्रो पनि सुभकामना।हाम्रो प्रार्थना धेरै पैलाको कुरा हो एक जना भक्तको तपस्या बाट भगवान प्रसन्न  भएर ती भक्तलाई वर माग्न भनेछन।वर माग्दा ती भक्तले यसो भनेछन " भगवान !

" घरमुनि बारी,बारीमुनि खेत।

  घरको बार्दालिमा बसेर माहिलो छोराले 

चारपाथे ठेकिमा दहि मथेको मेरा आंखाले देख।।"भनेर वर मागेछन।

भगवानले तथास्तु भनेछन।उस्को मनोकामना पूरा भएछ। हे भगवान !यदि बास्तबमै हुनुहुन्छ भने हामी पनि वर माग्न चाहन्छौं।"हाम्रो देशका माननीय नेताहरु जो हिजो त्यही हलो जोत्ने,कोदाली खन्ने किसानको हितमा,मजदुर महिला,विद्यार्थीको हक,देशमा लोकतन्त्र भन्दै प्रभुत्वशाली सत्ता र कुर्सीमा पुग्नुभयो। अब वहांहरुले नै कृषिक्रान्ति,औधोगिक क्रान्तीको जग बसालिदिउन।जगिरमुखी शिक्षा हैन ब्याबसायिक शिक्षा लागू गराइदिउन।नेपालमा अहिले जो जस्ले कारखाना खोलिसकेको हुनुहुन्छ वहांहरुलाई अझ सहज सजिलो बाताबरण बनाइदिउन।

नेपालका जनता बिदेसिन बाट रोकिदिउन।बिदेसमा हुनुभएकालाई स्वदेशमा आफ्नो देश बिकास गर्न बोलाइदिउन ताकी वहांहरुको आफ्नो,योग्यता र क्षमताको आधारमा स्थान दिइयोस।नेपालमा जन्मेर नेपालमै आफ्नै परिवार संग बसेर जीवन बिताउन पाउने अधिकार प्राप्त होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेसिनु नपरोस।हामी सारा नेपालिको कल्याण होस।

-बिक्रम थापा (हाल दक्षिण कोरिया )


कमेन्ट गर्नुहोस्