लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रवि लामिछानेले छाडे न्युज २४, नयाँ काम गर्ने योजना

IMG

पौष २३ , २०७७, तिलोत्तमा । चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनकाे कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरे । आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् । उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ । उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुने छ । ‘उहाँले पाँच महिनाअघि नै राजीनामा दिनुभएको थियो । स्वीकृतचाहिँ भएको छैन’, सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यले भने, ‘नयाँ योजनामा केन्द्रित हुनुपर्ने समय आएकाले उहाँ (रवी लामिछाने) ले टिभी छाड्नुभएको छ ।’ ती सदस्यका अनुसार सिधा कुरा जनतासँग अब दुई/तीन एपिसोड प्रसारण हुने छ । लामिछाने नयाँ टिभी खाेल्ने याेजनामा रहेकाे ती सदस्यले बताए ।


 आगामी योजना 

लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताए । ‘म मिडियाबाटै अलग्गिन खोजेको होइन । नयाँ योजनामा काम गरिरहेकाे छु’, लामिछानेले मिडियसामु भने, ‘अझ फराकिलो, परिमार्जित, प्रभावकारी कार्यक्रम लिएर छिट्टै आउने छु ।’कुन टिभी, कुन कार्यक्रम भन्नेबारे चाँडै जानकारी गराउने उनले बताए । नागरिक सरोकारका विषयमा खरो प्रस्तुतिका कारण जनमानसमा उनी निकै रुचाइएका छन् । सिधा कुरा जनतासँग चलाउने क्रममा उनले तालीसँगै गाली र अवरोध पनि झेलेका थिए । खासगरी नेपाल छोडेर अमेरिका भासिन खोजेको आरोप र पहिलो श्रीमतीलाई डिभोर्स दिएको विषयमा उनले खुबै आलोचना खेप्नुपरेको थियो । यद्यपि, फरक प्रस्तुति र जनतासँग प्रत्यक्ष जाेडिएका समस्यामाथि रिपाेर्टिङका कारण उनी आमनागरिकले सर्वाधिक रुचाएका प्रस्तोता हुन् ।टेलिभिजनमा मात्रै नभएर युट्युबमा पनि उनको कार्यक्रम नेपालको हकमा सर्वाधिक हेरिन्छ ।लामिछाने भदौ २०७६ मा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउसमेत परेका थिए । उनी पक्राउ पर्दा उनका हजारौँ समर्थकले सडकमा प्रदर्शन गरेका थिए । तर, आत्महत्या दुरुत्साहन गरेको आरोप पुष्टि नभएपछि माघ २०७६ मा अदालतले उनलाई सफाइ दिएको थियो । लामिछाने टेलिभिजनका चर्चित मात्र नभई कीर्तिमानी प्रस्तोता पनि हुन् । उनले अप्रिल २०१३ मा न्युज २४ टेलिभिजनमार्फत निरन्तर ७२ घण्टाभन्दा बढी समय अन्तर्वार्ता गरी विश्व कीर्तिमान् बनाएका थिए ।

कमेन्ट गर्नुहोस्