लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना सामान्य भाइरस हुँदै होइन, खेलबाड नगरौ : नगरप्रमुख घिमिरे

IMG

तिलोत्तमा कार्तिक ७, २०७७। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई असोज २० गते कोरोना पुस्टि भएको थियो।  ठिक १८ दिन पछि उहाको  पुन: परिक्षण गराउदा नेगेटिभ रिपोर्ट आएसंगै आफ्नो फेसबुकमा सामाजिक संजलामार्फत कोरोना सामान्य नभएको उल्लेख गर्नुभएको छ। पढौ तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले  लेख्नुभएको जस्ताको त्यस्तै संदेश :


आदरणीय शुभेच्छुक तथा नगरबासी महानुभावहरु ! 

नगर प्रमुखको रुपमा कोरोना महामारी सुरुभएदेखि नैं नगरबासीको काममा निरन्तर खटिँदै आएको थिएँ । नगरबासीलाई कोरोना महामारीबाट बचाउन गत चैतबाटैं क्वारेन्टाइन सञ्चालन, भारतबाट आएर सीमामा अलपत्रहरुको उद्धार, आइसोलेशन सञ्चालन, लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण, लकडाउनको निरन्तर अनुगमन लगायतका काममा अन्य साथीहरुसँगै म पनि प्रत्यक्ष संग्लन भएँ । हामी जनप्रतिनिधिहरु जनताको सेवा गर्न आएका हौं, त्यसैले जस्तो परिस्थितिमा पनि हामीहरु जनताको काममा खट्नुपर्छ भन्ने कुरालाई मैले सधैं शीरोधार्य गरेँ, गरिरहनेछु । मैले कोरोनालाई बाहाना बनाएर गर्नुपर्ने कुनै कामलाई भाखा सारिनँ । घरबाहिर निस्कदा सधैं मास्कको प्रयोग गरेँ । कोरोना महामारीबाट बच्ने सन्दर्भमा नेपाल सरकारले तयार पारेको प्रोटोकललाई सधैं पालना गरेँ । म बाहिर निस्कदा सेनिटाइजर पकेटमैं हुन्थ्यो । हर–तरहले म कोरोनाबाट बच्नुपर्छ भन्नेमा सर्तक नै थिए ।


तर, अपशोच ! असोज १९ गते बेलुका मलाई एक्कासी टाउको दुख्यो, शरीरका नसा–नसा दुखे । तर, ज्वरो थिएन । मलाई कोरोना हो की भन्ने शंका लाग्यो । शंकासँगै घरमा एक्लै बसेँ । अर्को दिन २० गते कोरोना परीक्षण गराउँदा पोजेटिभ देखियो । मलाई क्रमशः टाउको बढी दुख्न थाल्यो, शरीरको दुखाई पनि उस्तै बढ्यो । पसिना आउने र चक्कर लाग्न खोज्ने जस्ता लक्षणहरु एकाएक बढ्न थाले । पखला लाग्यो, मुख पटक्कै मिठो नहुने, खानामा रुची नैं नहुने, जवर्जस्त केही खाए पनि त्यसको स्वाद नैं थाहा नपाउने भयो । कोरोना देखिएको चौथो दिन राति एक्कासी स्वास फेर्न गाह्रो भएर चक्कर लागेपछि उतिबेला नैं नगरपालिकाको कोरोना फोकल पर्सन ईश्वरी पौडेललाई मोबाइल गरेँ । तर, केही समयपछि सजिलो भएपछि अस्पताल जानु परेन । सातौं दिनबाट कोरोनाका लक्षणहरु कम हुन थाले । तर शरीर निकैं कमजोर भयो । शरीर यति कमजोर भयो की–कसैसँग बोल्न पनि नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले सामाजिक सञ्जाल फेसबुकमा मेरा शुभेच्छुकहरुलाई मोबाइलबाट भन्दा एसएमएस, सामाजिक सञ्जालबाट शुभेच्छा प्रकट गर्न आग्रह गरेको हूँ ।


कोरोनाले शरीरका धेरैजसो अंगमा असर गर्ने रहेछ । यो सामान्य भाइरस हुँदै होइन । यो घटनाले मलाई कोरोना केही होइन र यसले भ्याउने भयो भन्ने दुवै सोंच अति हुन् भन्ने अनुभव दिलाएको छ । कोरोनाले लक्षण देखाउन थालेपछि खाना रुच्दै नरुच्ने । तर, कोरोनालाई जित्न बलपूर्वक खानुको विकल्प थिएन । त्यसैले जाउलो, दुध, दालको रस, जुस, रोटी नियमितजसो खाएँ । दैनिक तीन पटक तातोपानीको बाफ लिएँ । तातोपानी दैनिक पाँच लिटर जति पिएँ । आँपको पात, बेलौतीको पात र लिचीको पातलाई पकाएर त्यसको रस पनि खाएँ । दुधमा बेसार राखेर खाएँ । गुडुची चूर्ण नियमित प्रयोग गरेँ । भैरहवाका डा. बद्री गौतमले तयार गर्नुभएको अर्कबटी दिनको दुई वटाको दरले नियमित दश दिन खाएँ । भिटामिन सी र क्याल्सियम ट्वालेट, बिहानमा कागती, महसहितको तातोपानी, तुलसी चिया, इम्युनिटी बुष्टर, च्वानप्रास पनि सेवन गरेँ । कोरोनासँगको लडाइँ जित्न मेरा अग्रज, आफन्त, ईष्टमित्र, बन्धुबान्धव, शुभेच्छुक सबैले दिनुभएको उत्प्रेरणा, साथ–सहयोगले जडिबुटी र औषधिले भन्दा पनि बढी काम गरेको मैले महशुस गरेँ ।


९० वर्ष पुग्नुभएको आमाले दिनुभएको हौंसला मेरो लागि कुनै जडिबुटी भन्दा कम रहेन । कोरोनाको रिपोर्ट पोजेटिभ आएलगत्तैं मैले फेसबुकमा आफू संक्रमित भएको जानकारी गराएपछि मलाई मोबाइल, सामाजिक सञ्जाल र प्रत्यक्ष भेटेर कयौं जनाले शुभेच्छा प्रकट गर्नुभयो, सु–स्वास्थ्यको कामना गर्नुभयो । आज कोरोना रिपोर्ट नेगेटिभ आइरहँदा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा मेरो सु–स्वास्थ्यको कामना गर्नुहुने नेताज्यूहरु, जनप्रतिनिधिज्यूहरु, कर्मचारी, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, अग्रज–आफन्त, ईष्टमित्र, बन्धुबान्धवलगायत सम्पूर्ण नगरबासीज्यूहरुप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु । माननीय मन्त्रीहरु विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, माननीय गोपाल भट्टराईलगायतले मेरो स्वास्थ्यको बारेमा चासो राखेर मोबाइलमा फोन गरी हौंसला दिने काम गर्नुभयो । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रत्यक्ष भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालका मे.सु. डा. राजेन्द्र खनाल आफैं बिरामी भइकन पनि मलाई हौंसला दिन प्रत्यक्ष भेट हुन आउनुभयो । वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीहरुले मेरो स्वास्थ्यको बारेमा निरन्तर अपडेट लिइरहनुभयो । नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, नगरपालिका कोरोना फोकल पर्सन ईश्वरी पौडेल र शंकरनगर आइसोलेशन सेन्टरका ईञ्चार्ज केशव भट्टराईले देखाउनुभएको सक्रियता, चिन्ता र चासोप्रति म अत्यन्त अनुग्रही छु । नियमित आहार–बिहारलाई अत्यन्त प्रभावकारी ढंगले व्यवस्थापन गर्नुहुने टुलिपका स्टाफलाई धन्यवाद दिन चाहान्छु । 


आदरणीय नगरबासी महानुभावहरु ! असोज २० गते संक्रमण पुष्टि भएकोमा आज १८ दिनमा म कोरोनोलाई जित्न सफल भएको छु । यो खुशी यहाँहरुसँग साटिरहँदा कोरोनाकैं कारण ज्यान गुमाउनु हुने नगरबासी तथा नेपालीहरुप्रति श्रद्धासुमन व्यक्त गर्दछु । साथैं शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । यस्तै संक्रमणमा रहनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । म होमआइसोलेशनमा रहँदै गर्दा कार्तिक ४ गते कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैंले गर्ने निर्णय गरेकोमा त्यो कार्यान्वयमा आइसकेको छ । नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ । यस्तै शंकरनगर आइसोलेशन सेन्टरमा अक्सिजन सिलिन्डरको संख्या थप गरेर ६ बाट २० पुर्याउने निर्णय गरेअनुरुप काम अघि बढेको जानकारी गराउन चाहान्छु । आदरणीय नगरबासी महानुभावहरु ! कोरोनालाई हल्का रुपमा लिनु हुँदैन । यसको अर्थ कोरोना लाग्दैमा सबै सकियो भन्ने पनि सोंच्नु हुँदैन । कोरोनाबाट बच्ने उपायको बारेमा हामीहरु सधैं सर्तक हुनुपर्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिएकैं राम्रो । त्यसैले स्वास्थ्य प्रोटोकलको पालना गर्ने/गराउने काममा दत्तचित्त भएर लाग्न म सम्पूर्ण नगरबासीलाई अनुरोध गर्न चाहान्छु । विज्ञहरुले चिसोमा कोरोना संक्रमण थप बढ्ने बताइरहेकोले हामीहरु अझ् सचेत हुने दिन आएका छन् । त्यसमाथि चाडपर्वको माहोल पनि बढिरहेको छ ।


कोरोनाबाट बच्ने उपायको बारेमा मैले पटक–पटक भन्दै आएको छु । र, अहिले पनि भन्छु की– स्वास्थ्य नैं ठूलो धन हो । त्यसैले कोभिड–१९ को संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं । चाडपर्वको नाममा भीडभाड नगरौं । दसैं, तिहार, छठलगायतका पर्वहरु अर्को वर्ष धुमधामको साथ मनाऊँला । अहिले हामीहरु जहाँ छौं, त्यहीँबाट भीडभाड नगरी मनाऊँ । हामीकहाँ उपलब्ध अस्पताल, स्वास्थ्य जनशक्ति, भारतसँगको खुला सीमाना लगायतलाई ख्याल गर्दा नेपालमा कोरोना देखिनासाथ यसले कुनै न कुनै दिन ठूलो महामारीको रुप लिन्छ भन्ने कुरा मलाई सुरुका दिनमैं लागेको थियो । यसैले कोरोनाका बिरामीलाई मात्र उपचार गर्नेगरी डेडिकेट अस्पताल बनाइनुपर्छ भन्ने कुरामा मैले सुरुमैं जोड दिएको थिएँ । अस्पताल नैं बनाउने नगरपालिकाको सामथ्र्य त रहेन तैपनि नगरपालिकाको तर्फबाट शंकरनगर स्वास्थ्य चौकीलाई कम्तिमा स्तरीय ओइसोलेशन सेन्टरको रुपमा विस्तार गर्न हामीहरु सफल भयौं । तर अहिले कोरोनाका बिरामी यति बढेका छन् की हामीकहाँ उपलब्ध अस्पतालले उनीहरुलाई सेवा पुर्याउन कठिन छ । यसैले पनि हामीहरु कोरोनाप्रति सचेत हुनैंपर्छ । कोरोना भाइरस सामान्य रुघाखोकीभन्दा जटिल संक्रमण हो, हालसम्म यसको उपचारको लागि औषधि पत्ता लागेको छैन । यसबाट बच्ने उपाय भनेकैं सावधानी हो । यसैले कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले वा पछि साबुन पानीले राम्रोसँग हात धुने गरौं । अनावश्यक रुपमा घर बाहिर र भीडभाडमा नजाऊँ, खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने गरौं, कुनै पनि व्यक्तिसँग दुई मिटरको दुरी कायम गरौं । आफन्त हो भनेर भौतिक दुरीलाई भुलेर पनि वेवास्ता नगरौं, जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहौं, ज्वरो, रुघा र खोकी तथा स्वास–प्रस्वासमा समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श लिन म सबै नगरबासीलाई आग्रह गर्न चाहान्छु । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कौं, निस्कनु परेमा अनिवार्य रुपमा मास्क लगाऔं, किनमेल वा कार्यालयमा जाँदा भौतिक दुरी कायम गरौं । अत्यावश्यक काम बाहेक अन्तर्राष्ट्रिय सीमा, सीमावर्ती क्षेत्र, अन्तरजिल्ला र जिल्ला भित्रका कोभिड–१९ संक्रमणको उच्च जोखिम भएको क्षेत्रमा आवातजावत नगरौं । संक्रमितहरुको उच्च मनोबल राख्न हौंसला प्रदान गरौं । कोभिड–१९ संक्रमित बिरामीहरुलाई अपहेलना नगरौं । बिरामीहरुको दैनिकीमा ध्यान दिऔं, उनीहरुसँग बोलेर, लेखेर वा हाउभाउको माध्यमबाट स्नेह गरौं । कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको उच्च मनोबल कायम राख्न हौंसला प्रदान गरौं ।


अन्तमा, नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ—दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने नगरबासीलगायत सम्पूर्ण आमाबुबा, दाजुभाई एवं दिदीबहिनीहरुमा उत्तरोतर प्रगति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । कोरोना महामारीको कारण विगतमा जस्तो यो वर्ष चाडपर्वहरु निष्फिक्री रुपमा मनाउन मिल्ने अवस्था नरहेको यथार्थतालाई गम्भीरतापूर्वक लिई चाडपर्वहरुलाई आ—आफ्नैं स्थानबाट मनाउन म सबै नगरबासीलाई पुनः अपिल गर्दछु ।

बासुदेव घिमिरे

नगर प्रमुख तिलोत्तमा नगरपालिका

मिति : २०७७ कार्तिक ७ गते ।

कमेन्ट गर्नुहोस्