लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालबालिकालाई यसरी मनोबल बढाउन सकिन्छ

tillotmacitynews - 2020 Apr 24 02:16 AM
IMG

बालबालिका संवेदनशील र कोमल हृदयका हुन्छन् । विश्वमा कोरोना भाइरसको संक्रमणले हरेक व्यक्ति भय र त्रासमा छन् । यसबाट बालबालिका पनि मुक्त छैनन् । संसारका हरेक समाचारमा कोरोनाबाट भएको मृत्युको समाचारले हरेकको मन अतालिन्छ। हरेक सेकेन्ड सामाजिक सञ्जालमा अपडेट भइरहेका सत्य तथा गलत सन्देश र सूचनाबाट पनि बालबालिकामा अब बाँच्नै कठिन र डरको मनोभावना सिर्जना हुन सक्छ ।


यस त्रासबीचको लकडाउनको समय साँच्चिकै बालबालिकाका लागि सबैभन्दा सुरक्षित अनुभूति गर्ने अवसरको रुपमा पनि हेर्न सकिन्छ । लकडाउनको अवस्था बाढी, पहिरो, आगलागी, भूकम्प जस्तो होइन । बाढी, पहिरो, आगलागी तथा भूकम्पबाट परिवारका सदस्य र बास गुमाएका हुन्छन् । सामूहिक बस्नुपर्ने अवस्था सिर्जना हुन्छ । त्यतिबेला बालबालिकामा संरक्षणको अभावमा यौन हिंसा, शोषण, दुव्र्यवहार हुनसक्ने सम्भावना धेरै हुन सक्थ्यो ।


लकडाउनमा सपरिवार घरभित्रै संरक्षण र सामिप्यतामा रमाएर सबै मिलेर एकार्काको कुरा सुन्ने देखि भावना आदानप्रदान गर्ने अवसर मिलेको छ । घरभित्रै धेरै सिर्जनात्मक सीप सिक्ने, व्यावहारिक, व्यावसायिक तथा सामाजिक सांस्कृतिक ज्ञान हाँसिल गर्ने अवसर मिलेको छ । अभिभावक र बालबालिकाबीच दुःख, सुख र भावनाको आदानप्रदान गर्दै आत्मीय रुपमा अन्तरसम्बन्ध सुमधुर बनाउँदै सामिप्यलाई थप प्रगाढ बनाउने सुवर्ण अवसर पनि भएको छ ।


चिकित्सक, नर्स तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी र सेना परिवारका बालबालिकाले यस लकडाउनको अवस्थामा पनि यो अवसर प्राप्त गर्न पाएका छैनन् । अझ कोरोना संक्रमितको उपचारमा संलग्न व्यक्तिहरुले परिवार मूलतः बालबालिका र वृद्ध अभिभावकबाट सुरुदेखि नै टाढा हुनु परेको छ । घरमै भए पनि परिवारबाट आइसुलेसनमा बसेर परिवारलाई सुरक्षित राख्न प्रयासरत छन् । यस्तो अवस्थामा विभिन्न समाचारको प्रभावले सशंकित बालबालिकालाई आफन्त तथा छिमेकबाट विभेद् तथा तिरस्कार भएको महसुस भएमा कल्पना गरौं त्यस परिवार र बालबालिकामाथि कस्तो मनोभावना सिर्जना होला ।


गरिब र विपन्न परिवार जसको एउटामात्र कोठा छ, ५ र ६ जनाका परिवार छन् । घरमा पर्याप्त खाना छैन । २ वर्षदेखि १८ वर्षसम्मका बालबच्चा छन् । दैनिक ज्याला गरेर परिवार पाल्ने अहिले दिनभरि एउटै कोठामा बस्नु परेको छ । खाद्यान्न्को अभाव र त्यत्तिकै समय बिताउँदा श्रीमती र श्रीमानबीच सानोतिनो कुरामा विवाद हुन सक्दछ । बालबालिकालाई कोठाभित्रै बस्नु पर्दाको पीडा र बुबाआमासँगै बस्दा पनि समयमा खाजा नपाउँदा उनीहरुको गनगनले सामान्य विवादबाट घरमा झगडा र कलह निम्त्याउन सक्छ ।


यस्तो अवस्थामा अभिभावक तथा ठूला बालबालिकाद्वारा सानालाई हिंसा, दुव्र्यवहार हुन सक्ने सम्भावना रहन्छ । घरबाहिर निस्कँदा बालबालिकाले दूरी निर्धारण गरेर बस्न नसक्ने, सधैं सफा नहुने हुँदा उनीहरुलाई पसल, बाटोमा तथा अर्को कोठाका जो कोहीबाट पनि हेपिने तथा कोरोना सर्न सक्छ भन्दै दुव्र्यवारह सक्ने सम्भावना हुनसक्छ । समाजबाट आफू र आफ्ना अभिभावकलाई हेपेको तथा तिरस्कार गरेको महसुस भएमा बालबालिकामा थप असर पर्ने गर्दछ ।


यस्ता घटना तथा परिवेशबाट उनीहरुमा तनाव, चिन्ता, डिप्रेसनमा परी मनोसामाजिक समस्या सिर्जना हुन सक्छ । यस्तो अवस्थामा उनीहरु साथीभाइसँग भेटेर तथा अन्य ठाउँमा गएर खेलेर आफूलाई सामान्यकरण गर्ने ठाउँहरु अहिले छैनन् । यसैले उनीहरुमा विस्तारै थप मनोसामाजिमाक समस्या सिर्जना भई गलत कार्य गर्न पुग्दछन् ।


कोभिड–१९ को संक्रमणले छोटो समयमा विश्वका सबै देशलाई लपेटेको छ । यसको संक्रमण जुन ढंगले फैलिएकोे छ । यसबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा न्यून छ । उपचारपछि बहुसंख्यक व्यक्ति स्वस्थ भएर घर फर्केका छन् । त्यसैले कुनै व्यक्तिलाई संक्रमण भएमा संक्रमित व्यक्ति एवम् उसका सम्पर्कमा आएकाबाट सावधानी अपनाएर दूरी कायम गरिएन भने परिवार, गाउँ र समुदाय हुँदै देशभरि नै संक्रमण फैलने छ ।


हरेकले सचेत भई संक्रमित व्यक्तिबाट सावधानी साथ दूरी कायम गरेमा यसको संक्रमणबाट सजिलै बच्न सकिने अहिलेसम्मको अनुसन्धानले देखाएकोछ । कोभिड–१९ बाट संक्रमित हुनासाथ मृत्यु हुने पनि होइन । संक्रमित भएमा आइसोलेसनमा बसेर उपचारपछि सजिलै ठीक हुन सकिन्छ भन्ने सन्देश हरेक परिवार, र समुदाय र बालबालिकामा पुग्नु जरुरी छ ।


समाजमा फैलाइएका त्रासपूर्णका हल्लाले बालमनोविज्ञानमा नराम्रो असर परिरहेको छ । नेपाल विभिन्न देशहरुमा श्रम गरेर परिवार पाल्ने श्रमिकहरुको देशको रुपमा परिणत भएको छ । आफ्नो बुबाआमा विदेश भएकोमा गर्व गर्ने परिवारलाई अहिले अपराधीका रुपमा व्यवहार गरिएको छ । समाचारहरु यसरी आउँछन् विदेशबाट आएकालाई प्रहरीले पक्राउ गर्यो । विदेशबाट आएकाहरुको घरमा रातो झण्डा राखिएको छ, उनीहरु ठूला अपराधीका रुपमा व्याख्या गरिएको छ ।


विदेशबाट आफ्नै घरमा पुग्दा काका, मामालगायत छिमेकीले आफ्ना बुबाआमालाई घरमा पस्न नदिएको अवस्था पनि छ । गाउँलेले टोलमा क्वारेन्टाइन केन्द्र बनाउन नदिई  आफन्त र आफ्नै छिमेकिबाट तिरस्कृत भई गाउँबाट खेदिएर निक्कै टाढाको क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् । अभिभावक क्वारेन्टाइनमा बसेको थाहा पाउनासाथ परिवारलाई नै समुदाय र आफन्तबाट अपहेलित र तिरस्कृत गरेको पाइएको छ ।


यस्तो पीडादायी अवस्थामा परेको परिवार र उनीहरुका बालबालिकाको मनोबल र आत्मविश्वस कमजोर भएको हुन्छ । यस्तो पीडा भोगेका बालबालिकाले कसैलाई पनि विश्वास नगर्ने, आफैंलाई पीडा दिने, चिन्तित हुनेदेखि डिप्रेसनमा पुग्न सक्छन् भने केहीमा प्रतिशोधको भावनाको विकास भई जसरी पनि बदला लिने मानसिकता बनाउँन पुग्दछन् ।


समाजका सचेत नागरिकले कोरोना भाइरस सरुवा रोग भएता पनि यसबाट बच्न सकिन्छ समाजमा सन्देश दिन आवश्यक छ । अहिले हरेकले संक्रमित व्यक्तिलाई उपचारको व्यवस्था र उसको सम्पर्कमा आएकालाई सेल्फ क्वारेन्टाइन तथा आइसोलेसनमा बस्न प्रेरित गर्ने हो । दूरी कायम गरी संक्रमित र उसको परिवारलाई हौसला दिनुपर्नेमा संक्रमित र विदेशबाट आएकालाई गाउँबाट एक्लाइएको छ ।


आफन्त र समाजबाट तिरस्कृत र अपमानित गरिएको छ । यस्तो अवस्थामा सो परिवारलाई आड भरोसो, सान्त्वना, हौसला सहानुभूतिमार्फत उनीहरुको आत्मबल बढाई रोगसँग लड्न सक्ने क्षमता विकास गराउनु हरेकको दायित्व हो । उनीहरुलाई राम्रो पोषणयुक्त खाना, आत्मविश्वास र साहानुभूतिको अवश्यक पर्ने बेला समुदायले तिरस्कार गरेपछि उनीहरु कसरी रोगबाट मुक्त हुन सक्छन् । यस्तो अवस्थामा उक्त परिवारका बालबालिकालाई समुदायले तिरस्कार गरे वा घर बाहिर निस्कँदा साथीहरु भाग्दै रोग सर्छ नआइज भन्दै कोरोना भन्दै बोलाउँदा उनीहरुमा कस्तो चोट पर्छ, यसमा गहन रुपले सोच्न जरुरी छ ।


हरेक संचारमाध्यमबाट हरेक मिनेट आउने त्रास र डरलाग्दा सन्देश बालबालिकाले झेली रहेका छन् । सामाजिक सञ्जालमा आउने सत्य र गलत सन्देशहरुलाई ग्रहण गरिरहेका हुन्छन् । ओछ्यानबाट उठ्दै बुबाआमाको मुखबाट आज यति जनाको मृत्यु भएछ, विश्वका सम्पन्न देश अमेरिका, बेलायत, इटाली, स्पेनमा आज यति धेरै संक्रमित र मृत्यु जस्ता समाचारले बालबालिकाको मनोबल क्रमश कमजोर हुँदै जान्छ । आफ्ना मन पर्ने खेलाडीहरु कोरोना संक्रमणमा परेको समाचार खोजी खोजी पढ्ने गर्दछन् । आफूले सबैभन्दा बलिया र स्वास्थ्य मानेका खेलाडी संक्रमित भएका समाचारले बालबालिका आफूलाई कमजोर महसुस गर्दछन् ।


बीबीसी, सीएनएन, अलजजिरा, सिसिटिभीजस्ता समाचार संस्थाले दिएका समाचारमा राजपरिवारका सदस्यहरु, प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरु नै संक्रमणको सिकार भएका समाचारलाई नजिकबाट हेरिरहेका हुन्छन् । विश्वभरिनै संक्रमण र मानिसको मृत्युका समाचार दैनिक हेर्नु र सुन्नाले बालबालिकाको मनमा यदि आफ्नो परिवार र समाजमा कोरोनाको संक्रमण फैलिएमा आफू सुरक्षित बाँच्नै नसक्ने जस्ता कुराले डर, चिन्ताले जीवनप्रति नैरास्यता थपिन पुग्दछ ।


संक्रमित व्यक्तिको परिवारका साथै संक्रमित व्यक्तिको उपचारमा संलग्न चिकित्सक र यससँग सम्बन्धित परिवारका सदस्य र विदेशबाट फर्केका परिवारको बालबालिकामा गहिरो नकारात्मक छाप पर्न सक्ने सम्भावना धेरै छ । आफन्त, छिमेकी, साथीभाइहरुले परिवार र उनीहरुलाई तिरस्कार गरेको अवस्थामा आफू र आफ्नो परिवारको साथमा कोही नभएको कमजोर महसुस गर्दछन् । यस संक्रमणबाट बाहिर निस्कन नसक्ने ठान्छन् ।


यसले उनीहरुमा एक्लो बस्ने, झोक्राउने, टोलाउने, रुने, एक्लै सुत्न नसक्ने, छिट्टै रिसाउने, कसैलाई विश्वास नगर्ने, चिन्तित भई निराश हुन पुग्ने संभावना धेरै हुनसक्छ । परिवार नै समस्यामा भएको यस अवस्थामा अभिभावकले बालबालिकालाई ध्यान दिन र समय दिन सकिरहेका हुँदैनन् । यस्तो जटिल अवस्थामा समाजका जिम्मेवार निकाय तथा सचेत नागरिकहरुले समयमा नै यस परिस्थितिको अनुमान गरी आवश्यक सहजीकरणका साथ मनोविमर्शकर्ता एवम् मनोचिकित्सकको सहायतमार्फत उनीहरुको आत्मविश्वास विकास गराउँदै हौसला प्रदान गरी उपचारको व्यवस्था गर्नु पर्दछ ।


यसबाट जोगाउन निम्न कार्य गर्नु अनिवार्य छ–


१। अभिभावकले बालबालिकालाई सधैं साथमा राखी उनीहरुलाई आफू सुरक्षित भएको अनुभूति दिलाउनु पर्दछ ।


२। अभिभावक तथा ठूला मानिसहरुले बालबालिकाको बीचमा कोरना भाइरसको बारेमा डरलाग्दा र हतोत्साहित हुने कुरा नगरौं । यसबाट संरक्षित हुने उपाय सजिलो छ र संक्रमित भएमा पनि उपचारपछि सामान्य जीवन जिउन सकिन्छ भन्ने आत्मविश्वास दिऔं ।


३। बालबालिका डराएका छन् भने उनीहरुलाई आफूले संरक्षण गरेको अनुभूति दिऔ ।


४। विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा बसेका परिवारका सदस्यहरुमा हौसला प्रदान गरौं ।


५। क्वारेन्टाइनमा बसेका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई विशेष हेरचाह र पोषणयुक्त खानाको व्यवस्था गरौैं ।


६। सामूहिक क्वारेन्टाइनमा वा सेल्फ क्वारेन्टाइनमा रहेका बालबालिका अन्य साथीसँग खेल्न जान नपाउने भएकाले उमेरअनुसारको कोठाभित्रै तथा एक्लै खेल्न मिल्ने चेस, लुडो, ब्लक गेम, कथाका किताब, भिडियो गेम, डोरी, रिङ्ग, भित्र पानी भएका माइन्ड कन्र्सटेशन हुने खेलहरुको प्रबन्ध गराउँ । सुरक्षित राखी उनीहरुलाई एक्लै नभएको अनुभूति गराऔं ।


७। कोभिड १९ बाट संक्रमितहरु अधिकांश उपचारपछि ठीक हुन्छन् र आतिन्नु पर्दैन भनी मनोबल सधैं उच्च राख्न प्रेरित गरौं ।


८। यस संक्रमणबाट सबैभन्दा कम प्रभावित बालबालिका भएकोले सुरक्षित रहेमा बालबालिकामा कम असर पर्ने भनी बारम्बार सम्झाऔं ।


९। स्वास्थ्य क्षेत्रमा काम गरिरहेका परिवारका बालबालिकालाई उनीहरुका अभिभावकाले सुरक्षित रहेर बिरामीको उपचार गरी धेरैको ज्यान बचाउन सफल हुनु भएकोमा परिवारप्रति गौरव गर्न सिकाउँ । सुरक्षित साथ उपचार गर्दा कोरोना भाइरस सर्दैन भनी विश्वास दिलाऔं ।


१०। विदेश गएर काम गर्नु कुनै अपराध होइन र यदि संक्रमण भएकै भएमा पनि तपाईको परिवारको सदस्यले गल्ती गरेको होइन भनी उनीहरुमा विश्वास कायम गराऔं ।


१२। सेल्फ आइसोलेसनमा बस्नु तथा क्वारेन्टाइनमा बस्ने सामान्य कुरा भएकोले केही समयपछि आफूहरु सुरक्षित घरपरिवार र समाजमा फर्कन सकिन्छ । समाजबाट अलग भएको होइन भन्ने विश्वास दिलाऔं ।


१३। बुद्धिजीवी, सचेत, शिक्षक, राजनीतिक नेतृत्व र अगुवाहरुले कुनै पनि परिवार वा व्यक्ति संक्रमितलाई हेर्ने र गर्ने व्यवहारलाई सामान्यकरण गरौं । जसले गर्दा बालबालिकालाई आफूहरु तिरस्कृत तथा हेपिएको महसुस नहोस् ।


१४। कुनै पनि व्यक्तिले विदेशबाट आएर आइसुलेसनमा बसेको व्यक्ति तथा परिवारलाई कोराना भनेर गलत व्याख्या गरी अपहेलना गरेको थाहा पाएमा त्यस्ता व्यक्तिलाई कारबाही गरी माफी माग्ने व्यवस्था गरौं ।


१५। परिवारका सदस्यहरुले बालबालिकासँग सधैं साथी जस्तो व्यवहार गरी उनीहरु संरक्षित भएको अनुभूति गराउँ ।


१६। बालबालिका चिन्तित, निराश, डिप्रेशन भएर आँतिएको पाइएमा मनोविमर्शको तथा स्वास्थ्य सेवा प्रदान गरौं ।


कोभिड १९ ले एक व्यक्ति वा परिवारलाई प्रत्यक्ष असर पार्ने हुँदा त्यस परिवारका सदस्य मूलत बालबालिकामा नराम्रो मनोवैज्ञानिक समस्या आउन सक्ने सम्भावना प्रबल छ । समाजमा फैलिएका नकारात्मक सन्देशबाट प्रभावित हुने कुनै व्यक्ति तथा समूहबाट गलत व्यवहारका कारण बालबालिकामा नराम्रो छाप पर्न जान्छ ।


यसले उनीहरु निराश भएर गलत कदम उठाउन सक्छन् । लामो समयसम्म पनि चिन्ता र मनोसामाजिक समस्याको सिकार हुन सक्ने अवस्था छ । समयमा नै जिम्मेवार निकाय र परिवार सचेत भई बालबालिकाको विशेष रुपमा मनोसामाजिक समस्याको सम्बोधन र संरक्षणको आवश्यकता छ । बालमनोविज्ञा र भावनाको बेवास्ता गर्नु भनेको देशको भाविष्यमाथि खेलबाड गर्नु हो, मानव जीवनको उपेक्षा हो ।


– लेखक मानव अधिकारकर्मी एवं सामाजिक अभियन्ता हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्