लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार श्रेष्ठलाई हतकडी लगाएर अदालत पुर्‍याइयो,पत्रकार महासंघ, प्रेस काउन्सिल र सोसाइटीद्वारा बिरोध

IMG

काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो।श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन्।


प्रेस काउन्सिलले भन्यो- किशोर श्रेष्ठ पक्राउप्रति गम्भीर ध्यानाकर्षण भयो

प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउबारे धारणा सार्वजनिक गरेको छ । काउन्सिलका प्रवक्ता दीपक खनालले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको पक्राउ र जनआस्था साप्ताहिकको कार्यालय खानतलासीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।‘आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य रहेको र प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।


‘काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकार/सञ्चारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार तथा पेसागत मर्यादा एवं आचरणप्रति पनि उत्तिकै चिन्तित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दतातर्फ सबै पत्रकार/सञ्चारकर्मी सचेत हुनैपर्दछ ।’

सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ सजगता अपनाउनै पर्ने विज्ञप्तिमा अगाडि उल्लेख छ ।‘अत: काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर दुवै दृष्टिकोणबाट पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको विषयलाई मध्यनजर गरी कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षमा विनम्र अनुरोध गर्दछ,’ काउन्सिलले भनेको छ ।


पत्रकार महासंघले प्रहरी परिसर अगाडि धर्ना दिंदै

पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ ।धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबैलाई महासंघले आह्वान समेत गरेको छ ।महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नाका लागि आह्वान गरेका हुन् ।हिजो नेपाल प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको छ ।महासंघले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेको छ । हिजो राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरुको एक टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो ।श्रेष्ठलाई विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका उनी खरो र निर्भिक पत्रकारका रूपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्