
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ ।शेर्पामाथि टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका साझेदारले ठगी तथा अपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी दिएको सीआईबीले जनाएको छ ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) अनुपम शमशेर जबराले उक्त एकेडेमीका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीमा शेर्पालाई पक्राउ गरेको जानकारी दिए ।उनका अनुसार शेर्पा उक्त एकेडेमीको कार्यकारी प्रमुख भई एकल हस्ताक्षरबाट खाता सञ्चालन हुने जिम्मेवारी लिएका बेला विद्यालयको ८ करोड ७८ लाख ४० हजार ८०२ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ ।यस्तै विद्यालयको भक्तपुर दधिकोटमा रहेको २९ रोपनीभन्दा बढी जग्गा आफै सम्बद्ध कम्पनीलाई बेचेको, विद्यालयका नाममा सवारी साधन खरिद गरेर व्यक्तिगत प्रयोग गरेको लगायतका आरोपसहितको जाहेरी शेर्पा विरुद्ध रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्