
काठमाडौँ, जेठ २५ गते । भारतको गुजरातमा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका युवा खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । स्वीस लिग प्रणाली अनुसार नवौँ चरणसम्म भएको खेलमा उहाँले ६ अङ्क जोड्नुभयो ।
पहिलो चरणको खेलमा २०३४ रेटेड खेलाडी पुरुषोत्तमले ४४४ रेटेड माथिका रसियाका २४७८ रेटेड जिएम बोरिस साभचेन्कोलाई हराउनुभएको थियो । त्यसपछि उहाँले दोस्रो चरणको खेलमा भारतका २२८१ रेटेड खेलाडी सिद्धान्त गवाइसँग र चौथो चरणको खेलमा इजरायलका २४८७ रेटेड आइएम गे लेभिनसँग हार खेप्नुभयो । दुई खेल हारेपछि पुन: लयमा फर्किनुभएका सिलवालले चौथो चरणको खेलमा भारतका १९३९ रेटेड खेलाडी कार्तिक मण्डललाई हराउनुभयो । पाँचौ चरणमा भारतकै १८८० रेटेड खेलाडी पल्किन कौरलाई र छैटौँ चरणको खेलमा स्कटल्याण्डका २१९७ रेटेड खेलाडी किर्टन बोगारापुलाई हराउनुभयो ।
पुरुषोत्तमले सातौँ चरणमा स्लोभाकायाका २३०१ रेटेड जिएम मनिष मिकालुसँग बराबरी खेल्दै अङ्क बाँड्नुभयो । नेपाली खेलाडीले एउटै प्रतियोगितामा दुई जिएमसँग एक जित र एक बराबरी गरेको पहिलो पटक हो । १६२औँ स्थानमा रहेर खेल सुरुवात गर्नुभएका पुरुषोत्तमले आठौँ चरणमा भारतका २२१८ रेटेड प्राथामेस सेरलासँ बराबरी र नवौँ चरणमा भारतका २२३८ रेटेड खेलाडी अर्णव अग्रवालसँग बराबरी खेल्नुभयो । उहाँले १०औँ चरणमा भारतकै अंकित रायसँग पनि बराबरी खेल्नुभयो ।
यससँगै उहाँले ६८औँ स्थानमा आफुलाई उभ्याउनुभएको छ । उहाँले १२४ रेटिङ सुधार गर्दै ब्यक्तिगत २२३८ पुर्याउनुभयो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका, रसिया, इजरायल, स्लोभाकिय , फिलिपिन्स, आर्मेनिया लगायत २३ देशका ३०६ जना खेलाडीको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्