
तिलोत्तमा । यस क्षेत्रकै पुरानो मध्येको तिलोत्तमा–५ मणिग्रामस्थित गीर्वाण सरस्वती संस्कृत तथा साधारण माविले बिभिन्न कार्यक्रम गरी हीरक महोत्सव तथा ६० औँ वार्षिकोत्सव मनाएको छ । सोमबार आयोजना गरिएको मुल समारोहको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खेलकुद र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
सामुदायिक विद्यालयको हालको सिकाइ उपलब्धिमा उल्लेख्य वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शिक्षामा गुणस्तर सुनिश्चत गर्नका लागि आबश्यक भौतिक संरचना निर्माणसँगै प्रविधिमैत्री कक्षाकोठा, शिक्षकलाई तालिम र आवश्यक शैक्षिक सामाग्रीमा प्रदेश सरकारले लगानी गरेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै किताबी ज्ञानसँगै विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमदत्त सुवेदीको अध्यक्षता, कृष्ण कृष्ण पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका संस्थापक, पूर्वअध्यक्ष, पूर्व प्रअ, विद्यार्थीहरुलाई सम्मान गर्नुको साथै विभिन्न अक्षयकोषबाट छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।
पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत गीर्वाण माविमा नेपाली, अंग्रेजी र संस्कृत गरी तीन भाषामा अध्ययन अध्यापन हुँदै आएको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा शाखा अधिकृत धनिप्रसाद शर्मा, नेपाल शिक्षक महासंघ नगर अध्यक्ष मृगेन्द्र रिजाल, महासंघका जिल्ला सचिव चण्डीप्रसाद पाण्डे, तिलप्रसाद शर्मा, डिल्लीराज भण्डारी, सुवास काफ्ले, कृष्ण कंडेल, दयानिधि आचार्य लगायतले बोल्दै बिद्यालयले किताबी ज्ञानसँगै नैतिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो । सोही अबसरमा विद्यालयले प्रकाशन गरेको हीरक महोत्सव स्मारिका ‘वीणा’ विमोचन तथा हीरक स्तम्भ अनावरणसमेत गरिएको थियो ।
कमेन्ट गर्नुहोस्