
तिलोत्तमा । तिलोत्तमा नगरपालिका–१५ बभनीस्थित बभनी भू–पु सैनिक आधारभूत विद्यालयको आयोजनामा शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुलाई लक्षित गर्दै व्यवहारिक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सांगीतिक पिटिका राष्ट्रिय अभियन्ता तथा ‘सिक्दै सिकाउँदै’ शैक्षिक राष्ट्रिय अभियन्ता हरिश वलीले सहजीकरण गरेका थिए। उनले व्यवहारिक शिक्षा, पारिवारिक वातावरण र सम्मानजनक सम्बन्धले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक मनोज केसी, विभिन्न विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्थाका प्रतिनिधि, युवा क्लब, आमा समूह तथा बाल समूहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा अभिभावकहरुलाई आफ्ना छोराछोरीसँग सम्मानजनक व्यवहार गर्न प्रेरित गरिँदा सहभागीहरु भावुक बनेका थिए। एकअर्कालाई अँगालो मार्दै आँसु झारेको दृश्यले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।अभिभावकको जिम्मेबारी र विद्यार्थीको संघर्ष अनि सफलता संग जोडिएको सो कार्यक्रमले विद्यार्थीलाई मात्रै नभएर शिक्षक, अभिभावक, सरोकारवाला सबैलाई उत्प्रेरणा दिने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक मनोज केसीले बताए।
सहभागीहरुले घरबाटै पढ्ने, सिक्ने र सिकाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए। साथै, विद्यालयमा शिक्षक तथा कर्मचारीबीच पारस्परिक सम्मानको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीबीच सकारात्मक सम्बन्ध सुदृढ गर्दै शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास गरिएको छ।
कमेन्ट गर्नुहोस्