लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्री शमसेर स्मृति आधारभूत विद्यालयको २० औं वार्षिकोत्सव सम्पन्न

सरु राना - 2026 Apr 05 01:32 PM
IMG

नरैनापुर। ओमसतिया गाउँपालिका वडा नं ६ नरैनापुरमा रहेको श्री शमसेर स्मृति आधारभूत विद्यालयले आफ्नो २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । विद्यालयले शनिबार एक समारोहको आयोजना गरेर विद्यालयको स्थापना दिवस मनाएको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (शोनु)ले उद्घाटन गर्दै विद्यालयले सुसंस्कृत, योग्य र सक्षम विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । श्रोत र साधनबाट सामुदायिक विद्यालयहरुलाई सम्पन्न बनाउन आवश्यक रहेको बताउँदै उहाँले ओमसतिया गाउँपालिकामा विद्यालयहरुलाई भौतिक पूर्वाधार र शिक्षाको गुणस्तरमा स्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको बताउनु भयो । सो अवसरमा बोल्दै ओमसतिया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवं विद्यालयका संस्थापक अध्यक्ष शिब कुमार धवलले बोल्दै श्री शमसेर स्मृति आधारभूत विद्यालय स्थापना र सञ्चालन गर्ने कार्य निकै चुनौतीपूर्ण ढंगबाट बिस वर्षको यात्रा पुरा गरेको बताउनु भयो ।


खरको झुपडीबाट सामुदायिक विद्यालय स्थापना गरेर नरैनापुर क्षेत्रका बालबालिकाको भविष्य कोर्न सकिएकोमा खुसी व्यक्त गर्दै उहाँले विद्यालय स्थापनाले स्थानीय बालबालिका शिक्षाबाट विमुख हुुनु नपरेको सुनाउनुभयो । वि.स.२०६३ सालमा घरआँगनमै शिक्षा दिने उदेश्य राखेर विद्यालय स्थापना गर्दा साना बालबालिकालाई सजिलो भएकोे र शिक्षाको पहँुच पनि सबै परिवारमा पुगेको उहाँको भनाई थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलिराम यादवले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ओमसतिया गाउँपालिका शिक्षा अधिकृत माधवराज पौडेल, समाजसेवी देवेन्द्र पाण्डे, पत्रकार पशुपती यादव, मातृका प्रसाद चमार, श्याम बहादुर चौधरी, अम्वरसिंह चौधरी, सन्तराम पासी, शिबपुजन वरुण, अमरदीप कहार लगायतले बोल्नुभएको थियो ।


कार्यक्रममा विद्यालयका उत्कृष्ट अंक ल्याउने छात्र तथा छात्राहरुलाई पुरस्कार तथा सम्मान समेत गरिएको थियो । कार्यक्रम सरिता यादवको स्वागत तथा विजय हरिजनको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विद्यालयले प्रकाशन गरेको मूखपत्र दिव्यज्योती पनि विमोचन गरिएको थियो ।


कमेन्ट गर्नुहोस्