
तिलोत्तमा। वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर शुक्रबारबाट फिल्म ‘परिवर्तन’ हलमा लागेको छ । देशव्यापी करिब १५० शोसहित प्रदर्शनमा आएको यो फिल्मका टिजर र ट्रेलरले दर्शकमा उत्साह बढाएकाले व्यापारिक नतिजा सुखद आउने अपेक्षा गरिएको छ । तर, यस फिल्मलाई बक्स अफिसमा भारतीय फिल्म ‘बोर्डर २’ ठूलो चुनौती बन्न सक्ने देखिन्छ ।एक्सन-लभस्टोरी कथामा निर्माण भएको ‘परिवर्तन’ अभिनेता सुशील श्रेष्ठको करिअरकै लागि महत्त्वपूर्ण मानिएको छ । किनकि, विगत ८ वर्षयता उनले एउटा पनि हिट फिल्म दिन सकेका छैनन् । यसैले यो फिल्म व्यावसायिक रुपमा सफल हुनैपर्ने दबाब उनीमाथि छ । तसर्थ ‘परिवर्तन’ उनको स्टारडमको परीक्षा पनि हो । यसमा उनी एक्सन अवतारमा प्रस्तुत भएका छन् ।
विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशीलसहित करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, सिरु विष्ट, आशा पौडेल लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ भने शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका हुन् ।दक्षिण भारतीय फिल्ममा साउन्ड डिपार्टमेन्टमा काम गर्दै आएकी एम. गीता गुरप्पा साउन्ड डिजाइनर रहेको यस फिल्ममा शिव ढकालको डिओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एसडी योगीको संगीत छ । फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई कथाको केन्द्रमा राखेको छ ।
कमेन्ट गर्नुहोस्