
तिलोत्तमा । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रुपन्देहीले विभिन्न शैक्षिक व्यक्ति, उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । ३५ औं स्थापना दिवस तथा दोस्रो जिल्ला परिषदको अवसरमा तिलोत्तमाको ड्राइभरटोलमा बिहिबार आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । रुपन्देहीको शैक्षिक विकासमा योगदान पुर्याउने विभिन्न शैक्षिक व्यक्तित्व, विषयगत शिक्षक, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्याहरुलाई सम्मान गरिनुका साथैं प्याब्सन दीर्घसेवा पदक र युवा प्रतिभा सम्मान समेत प्रदान गरिएको प्याब्सन रुपन्देहीले जनाएको छ । यसैगरि प्याब्सन शिक्षा पुरस्कारबाट पत्रकारद्धय प्रकाश पाण्डे र झविन्द्र देवकोटा नगद सहित सम्मानित हुनुभएको छ ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले मुलुकको शैक्षिक गुणस्तर अभिवृद्धिमा निजी विद्यालयको महत्वपूर्ण भए पनि राज्यले सधैं विभेद गरेको गुनासो गर्नुभयो ।प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपानले विद्यार्थीलाई स्वदेशमा अडाउने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको जनाउँदै यसप्रति सरोकारवालाहरु सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै प्याब्सनका जिल्ला अध्यक्ष दीपक खनालले रुपन्देहीमा हाल २६० निजी विद्यालयहरु रहेकोमा प्याब्सनमा १८४ विद्यालय आवद्ध रहेको जानकारी दिनुभयो ।
रुपन्देहीका निजी विद्यालयमा ११ हजार शिक्षक—कर्मचारी र १ लाख ६२ हजार विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै अध्यक्ष खनालले प्याब्सन निजी विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गराउने अभियानमा समेत रहेको बताउनुभयो । विभिन्न शैक्षिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, निजी विद्यालयका सञ्चालक तथा प्राचार्यहरुको सहभागिता रहेको कार्यक्रममा प्याब्सनका पूर्वअध्यक्ष लेखनाथ पौडेल, यज्ञमूर्ति पाण्डे, प्याब्सन प्रदेश अध्यक्ष लालहरी पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, अभिभावक संघका लोकनाथ ज्ञवाली लगायतले मन्तव्य राख्नुभएको थियो । प्याब्सनका जिल्ला उपाध्यक्ष भोजराज पौडेलको स्वागत तथा सचिव बोधराज गौडेलको सञ्चालनमा कार्यक्रम भएको हो ।
कमेन्ट गर्नुहोस्