लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सम्झना परिवार क्लबद्वारा निःशुल्क आँखा परीक्षण तथा परामर्श शिविर सम्पन्न

IMG

तिलोतमा, मंगलापुर / सम्झना परिवार क्लब द्वारा आयोजित एक दिने निःशुल्क आँखा परीक्षण तथा परामर्श शिविर तिलोतमा नगरपालिका–९, मंगलापुरमा सम्पन्न गरिएको छ। लुम्बिनी नेत्रालय भैरहवाको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ तिलोतमा युथ र रोटरी क्लब अफ रुद्रमती काठमाडौँको सहकार्यमा आयोजित उक्त शिविरमा स्थानीय सर्वसाधारणदेखि जेष्ठ नागरिक र ६ वर्षसम्मका विद्यालयस्तरका बालबालिकाले समेत सेवा लिएका थिए।


समुदायका लागि गुणस्तरीय स्वास्थ्य सेवा सहज पहुँचमा पुर्‍याउने उद्देश्यसाथ सञ्चालन गरिएको शिविरमा जम्मा ३९२ जनाको आँखा परीक्षण गरिएको क्लबका सचिव अमृत गुरुङले जानकारी दिएका छन्। नियमित दृष्टि समस्या, आँखा सुन्निने, टार्च टेस्ट, दृष्टि मापन लगायतका आधारभूत जाँचका साथै विशेषज्ञद्वारा परामर्श सेवा प्रदान गरिएको गुरुङको भनाइ थियो।परीक्षण गरिएका सेवाग्राहीमध्ये धेरैजसोमा सामान्य दृष्टि समस्या भेटिए पनि केहीमा विशेष उपचार आवश्यक देखिएको थियो। शिविरमा ५ जनामा मासु पलाउने (Pterygium) समस्या भेटिएको र उनीहरूलाई थप उपचार तथा शल्यक्रियाको सुझाव प्रदान गरिएको थियो। त्यस्तै २८ जनामा मोतिबिन्दुको समस्या देखा परेपछि तिनीहरूलाई ५० प्रतिशत छुटमा फेको प्रविधिद्वारा अप्रेसन गरिने लुम्बिनी नेत्रालयका प्रबन्धक हिरा शाहले बताए।


दृष्टिदोषका कारण पढाइ तथा दैनिक कामकाजमा समस्या भोगिरहेका व्यक्तिहरूको सहयोगार्थ लायन्स क्लब अफ तिलोतमा युथ र रोटरी क्लब अफ रुद्रमती काठमाडौँको सहयोगमा ९४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो। चिकित्सकको प्रत्यक्ष सिफारिस अनुसार गुणस्तरीय फ्रेम र लेन्ससहितको चस्मा उपलब्ध गराइएपछि सेवाग्राही अत्यन्तै खुसी देखिन्थे।शिविरको सफलतामा सम्झना परिवार क्लबका अध्यक्ष धीरज पुन, सचिव अमृत गुरुङ तथा लुम्बिनी नेत्रालयका प्रबन्धक हिरा शाहको उल्लेखनीय भूमिका रहेको थियो। स्थानीय स्वयंसेवक, समाजसेवी तथा क्लबका सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रम झनै प्रभावकारी बनेको आयोजकले जनाएको छ।


समुदायमा आँखासम्बन्धी रोग तथा समस्याबारे जनचेतना फैलाउने उद्देश्यले गरिएको यस कार्यक्रमले विशेषगरी जेष्ठ नागरिक र बालबालिकामा दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गर्न ठूलो मद्दत पुर्‍याएको छ। स्थानीय बासिन्दाले यस्ता स्वास्थ्य शिविर नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित संघ–संस्था तथा स्वास्थ्य संस्था समक्ष आग्रह गरेका छन्। सरल र गुणस्तरीय स्वास्थ्य सेवालाई समुदायमै पुर्‍याउने प्रयासका रूपमा यस्तो शिविर आदर्श बन्न सक्ने उनीहरूको भनाइ छ।सम्झना परिवारका प्रतिनिधिहरूका अनुसार आगामी दिनमा पनि आँखाजाँच, दन्तजाँच, रक्तदान तथा महिला स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने योजना रहेको छ। समुदायको स्वास्थ्य सुरक्षामा निरन्तर योगदान पुर्‍याउँदै आएको सम्झना परिवारले यसपटकको आँखा परीक्षण शिविरलाई निकै सफल मान्दै सबै सहयोगी संस्था, प्राविधिक टोली र सेवाग्राहीप्रति आभार प्रकट गरेको छ।


कमेन्ट गर्नुहोस्