
मणिग्राम। तिलोत्तमा नगरपालिकाले ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरेको छ । ६० बर्ष उमेर पूरा भएका स्वयंसेविकालाई बिदाई गर्ने नीतिअनुसार बुधबार नगरपालिकामा आयोजित कार्यक्रममा यो वर्ष ९ जनालाई सम्मानसहित बिदाइ गरिएको हो ।
बिदाई हुने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिकाले जनही ३० हजार नगद समेत उपलब्ध गराएको छ । बिदाइ कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले नेपालीहरुको सरदर आयु बढ्नुमा महिला स्वास्थ्य स्वयंमसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । आमा तथा नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरेर नेपालमा दिगो स्वास्थ्य बिकासमा टेवा पुग्ने गरि महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा ल्याइएको चर्चा गर्दै उहाँले स्वास्थ्य सचेतना अभिवृद्धिमा समेत स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।नगर उपप्रमुख जागेश्वरी चौधरीले महिला स्वयंसेविकाले स्वास्थ्य प्रवद्र्धनका लागि पुर्याउनु भएको योगदान प्रशंसनीय रहेको बताउँदै उहाँलाई दिइने सेवासुविधालाई निरन्तर वृद्धि गर्न पालिका प्रतिबद्ध रहेको बताउनुभयो । परिवर्तित समयअनुसार आफूले जानेको ज्ञान, सीपलाई समाजमा प्रभावकारी रुपमा हस्तान्तरण गर्न उपप्रमुख चौधरीले महिला स्वयंसेविधाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवालीले महिला स्वास्थ्य स्वंयसेविकाका लाई राज्यले पुर्याउनु पर्ने भूमिका कम रहेकाले त्यसलाई आगामी दिनमा बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेल, बिदाइ हुने स्वयंसेविकाको तर्फबाट चन्द्रकला कंडेललगायतले बोल्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्