
तिलोत्तमा,फागुन ३।उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए । लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
‘हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ,’ कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए। पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको उनले जानकारी दिएका छन् । उनका अनुसार अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको हो । अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको छ ।अनुहारमा चोट लागेकाले केही दिन अस्पतालमा बस्नु पर्ने भएको छ । घाइते भएका उनीहरुलाई आजै कीर्तिपुरस्थित बर्न अस्पताल ल्याएर उपचार जारी रहेको छ ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक मूल्यांकनअनुसार दुर्घटनामा परेर दुबैजनाको पुरा शरिरमा ५(६ प्रतिशत जलेको, तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना भएकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ । उनीहरुको अहिले अस्पतालमा सघन उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले बताए ।
कमेन्ट गर्नुहोस्