लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी फ्रेन्डस सर्कलको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,२०८१ असोज ६ गते।बढ्दो दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाबारे जानकारी दिने उद्देश्यले लुम्बिनी फ्रेन्डस सर्कल रुपन्देहीले ट्राफिक सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा ५ शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि शुक्रबार सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै मुख्य बक्ता एवं ट्राफिक प्रहरी कार्यालय मंगलापुरका प्रमुख तथा वरिष्ठ सई मिलन सिंहले रोक, हेर र जाउँको निति मात्रै अवलम्बन गर्न सके पनि दिनहुँ भैरहने धेरजसो दुर्घटनालाई टार्न सकिने बताउनुभयो ।


सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यक्रम आजको आवश्यकता भएको बताउदै सिंहले कार्यक्रम आयोजना गरेकोमा लुम्बिनी फ्रेन्डस सर्कललाई धन्यबाद दिनुभयो । साथै वहाँले सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा वा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा विद्यार्थीमाझ गरिएको कार्यक्रम फलदायी सावित भएको बताउनुभयो । सिंहले सडक छिचोल्दा आकाशे पुलको प्रयोग गर्न, जेब्राक्रशबाटै बाटो काट्न र लेन नियमको पालना गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवँ शान्ति नमुना माविका प्रअ कुलप्रसाद लामिछानेले स्कुलमा ट्राफिक क्लव गठनको आवश्यकता महसुस गरिएको बताउनुभयो ।


प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले विद्यार्थीहरुलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिड्नुपर्ने, नियमको पालना गनुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपनै जस्ता चेतनामुलक विषयमा प्रशिक्षण दिइएको र विद्यालयमा सिकेका कुराहरु परिवार र समुदायमा पनि गई सचेतना जगाउन अनुरोध गरिएको बताउनुभयो । लुम्बिनी फ्रेन्डस सर्कलका रुपन्देही अध्यक्ष पदम न्यौपानेले समाजसेवामा सक्रिय हुने मनसाय बोकेका जाँगरिला युवाहरुलाई समेटेर ९ महिनाअघि सर्कल गठन गरिएको बताउनुभयो । साथै वहाँले विद्यार्थीहरुलाई सचेत र जागरुक बनाउन यस्ता कार्यक्रम फलदायी सावित होस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको पनि बताउनुभयो ।


लुम्बिनी फ्रेन्डस सर्कल रुपन्देहीका अध्यक्ष पदम न्यौपानेको अध्यक्षता, शान्ति नमुना माविका प्रअ कुलप्रसाद लामिछानेको प्रमुख आतिथ्यता एवँ मुख्य बक्ता एवं ट्राफिक प्रहरी कार्यालय मंगलापुरका प्रमुख तथा वरिष्ठ सई मिलन सिंहको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी फ्रेन्डस सर्कलका कार्यक्रम संयोजक रामप्रसाद भण्डारी, विद्यालयका शिक्षक प्रतिनिधी, ट्राफिक प्रतिनिधी, लुम्बिनी फ्रेन्डस सर्कलक प्रतिनिधी तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन सर्कलका सचिव अर्जुन खनालले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्