लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तानसेन महोत्सवमा ८ करोडको कारोबार

IMG

तिलोत्तमा सिटी २०८० चैत २ गते । प्रथम तानसेन महोत्सवमा ८ करोड रुपैयाँको कारोबार भएको छ । १३ दिनसम्म चलेको महोत्सवमा तीन लाखभन्दा धेरै दर्शकले अवलोकन गरेका छन् । तानसेन नगरपालिकाले गरेको महोत्सवमा तीन सय स्टल राखिएको थियो । तर उद्देश्यअनुरुपको कारोबार नभएको व्यवसायीले बताएका छन् । नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले महोत्सवमा कमैमात्र दर्शक आएपनि ८ करोडरुपैयाँ बराबरको कारोबार भएको बताइन् ।


महोत्सवमा राखिएका तीन सय स्टलमा ५० स्टल कृषि, पशुपंक्षी, लघु तथा घरेलु उत्पादनका लागि छुट्याइएको थियो । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले महोत्सवमा कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापारलाई प्राथमिकता दिने उद्देश्य रहेको बताएका थिए । तर महोत्सवको ठेक्का निजी कम्पनी राजधानी राइड्स नेपाल कम्पनीलाई दिइएको थियो । निजी कम्पनीले नाफामुखी काम गरेको गुनासो दर्शकको छ ।‘मेला महोत्सव संचालन गर्न ठेक्का लगाइएको हो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘जसले बढी राजश्व दिन्छ उसैलाई गर्न दिने भएकाले राजधानी राइड्सले ६१ लाख नगरपालिकालाई बुझायो ।’ ४५ लाखदेखि ६१ लाखसम्म बुझाउने गरी ठेक्का बोलकबोल गरेका थिए ।


महोत्सवमा पशुपंक्षी तथा कृषि प्रदर्शनी हुने नगरप्रमुख श्रेष्ठले पत्रकार सम्मेलनमा बताएका थिए । तर दुई वटा बोयर बाख्रा बाहेक केही देख्न नपाएको दर्शक तानसेन–४, की कमला छहरी मगरले गुनासो गरिन् । उनका अनुसार विद्यालयका विज्ञान तथा सामाजिक प्रदर्शनी हेर्ने लायक थियो । नगरपालिकाले ५ वर्षयता कृषि तथा पशुपालनका क्षेत्रमा १० करोड बढी लगानी गरेको छ । कृषि तथा पशु विकासको क्षेत्रमा गैरसरकारी संस्था, सहकारीमार्फत् लगानी गरे पनि त्यसको प्रतिफल शुन्य जस्तै थियो ।


पहिचान गुम्दै गएको पाल्पाली ढाकाको एउटा तान राखिएको थियो । एउटा मात्र ढाका कपडाको स्टल थियो । तानसेनमा दुई दर्जन बढी ढाकाका पसल छन् । १५ बढी उद्योग छन् । वडाध्यक्ष सागरमान महर्जनले मुस्किलले आफ्नै उद्योग भएकाले महोत्सवमा लैजान सकेको बताए । पुरानो तानलाई ब्युताउन नगरपालिका, सीप परियोजना, प्रदेश सरकारकै लगानी पनि रहेको छ । तर समन्वय अभावले गर्दा ढाकाका सामान राख्ने स्टलसमेत भएन । दैनिक ज्याला तिरेर परम्परागत माटोको भाडा बनाउने स्टल बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराको घोरबन्दादेखि ल्याइएको थियो ।


उनीहरुलाई दैनिक भत्ता दिएको छ । गुल्मीको हुँगादेखि काठको भाडा बनाउने चुँदारा ल्याइएको थियो । महोत्सव २९ गतेसम्म चल्ने भनिएको थियो । पानी परेको र उद्घाटनका दिनमा निःशुल्क प्रवेश दिएकाले दुई दिन थप भएको नगरप्रमुख श्रेष्ठले बताए । म्याद थप गर्ने कार्यपालिकाको निर्णय भएको उनले बताए । कलाकारका विषय पनि विवादिन बन्यो । पाल्पाका लेजेन्ड कलाकारहरुलाई नल्याएको आरोप दर्शकको थियो । ब्यानर र फोटोमा नाम राखियो तर कलाकार नबोलाएको आरोप लागेको छ ।

कमेन्ट गर्नुहोस्